२०८१ कार्तिक २, शुक्रवार , ०४:४३:५१ बजे

Sajhamanch
'

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

शुक्रवार, मंसिर ९, २०७९

दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा पनि कार्यक्रम सुरु भएको हो ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका हिंसा न्यूनीकरणका लागि घरबाटै हिंसा रोकिनु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम थापाले हिंसा विरुद्धको यो अभियान सोह्र दिन मात्रै नभएर निरन्तर सञ्चालन हुनुपर्ने जिकिर गरे । यस्ता अभियानले सचेतनाको काम गर्ने भन्दै उनले हरेक व्यक्ति हिंसा विरुद्धको अभियानमा स्वस्फुर्त सामेल हुनुपर्ने बताए ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले महिला संगसंगै पुरुषहरु पनि हिंसामा पर्ने भएकोले कुनै पनि प्रकारका हिंसालाई समाजले निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए । नेपालजस्तो अल्प विकसित मुलुकमा महिला तथा बालबालिकाहरु धेरै हिंसामा पर्ने गरेको भन्दै डिएसपी गिरीले यसको न्यूनीकरणका लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाए ।

महिला नेतृ लता चापागाईं, आम्दा अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकका सकुन्तला चापागाईंले शिक्षित व्यक्तिबाटै पनि हिंसाका घटना हुने गरेकोले यो रोक्न ठूलै चुनौति भएको बताइन् । दाइजो, तिलकका नाउँमा शिक्षित भनिएका व्यक्तिबाटै महिलाहरु हिंसामा पर्ने गरेको उदाहरण दिँदै उनले यस्ता घटना न्यूनीकरणका लागि महिलामात्रै सचेत भएर नहुने बताइन् ।

कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख भट्टराईले अभियान अन्तर्गत १६ दिनसम्म सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराइन् । औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि विभिन्न संघ संस्थाका व्यक्तिसहितको र्यालीले दमक बजार परिक्रमा गरेको थियो । हिंसा विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर र्यालीले दमक बजार परिक्रमा गरेर पशुपति मन्दिरमा कोणसभा गरिएको थियो ।

यसैबीच, हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विभिन्न कार्यक्रम गरी चलाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कमल गाउँपालिकामा पनि कार्यक्रम सुरु गरिएको छ ।

गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ७ स्थित युवा समूहले लैङ्गिक हिंसा सम्बन्धी चेतनामुलक लघु नाटक प्रस्तुत गरिएको थियो । भावना भण्डारीले मञ्चन गरेको सो नाटकले समाजमा लैङ्गिकतामा आधारमा हुने भेदभावलाई चित्रण गरेको छ । त्यस्ता विकृतीलाई समाजबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा समय सान्दर्भिक सन्देश दिएको छ ।

सम्बन्धित खबर