धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ

September 20, 2022 6:06 pm

काठमाडौं । धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ ।

उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

पक्राउ परेका नकुल लागू औषध प्रयोगकर्ता रहेको र उनले धरानमा यसअघि पनि सानोतिनो चोरी गरेको प्रहरीको भनाइ छ । नकुलले एक हप्ताअघि मृतकको घरमा आई उनको बारेमा बुझेर गएको र गहना लुट्ने उद्देश्यले नै हत्या गरेको अनुसन्धाबाट देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

गत भदौ २९ गते दिउँसो ४ बजे धरान उपमहानगरपालिका–२० कि पूर्णसरी राई आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनले लगाएका गहना, दुवै कानमा लगाएको कुण्डल लुटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

          September 20, 2022 6:06 pm | मिडियाबाट साभार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: