हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति

July 30, 2022 5:35 pm

झापा । प्रदेश १ सरकारका कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर दर्लामी मगरले सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनु पर्ने सुझाव दिएका छन् ।

झापाको बिर्तामोड–४ मा अवस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका कृषिमन्त्री दर्लामीले उक्त सुझाव दिएका हुन् ।

राज्यले आयात प्रतिास्थापनको पहल गरिरहेको सन्दर्भमा सहकारीहरुले पनि कृषि उत्पादनमा जोड दिन जरूरी रहेको औंल्याउँदै मन्त्री दर्लामीले निर्वाहमुखी कृषिका कारण उत्पादन बढ्न नसकेर ठूलो धनराशी मुलुक बाहिर गइरहेको प्रष्ट्याए । ‘अब सहकारिताको माध्यमबाट कृषिलाई प्रवद्र्धन गर्न आवश्यक छ, मन्त्रालयको तर्फबाट यसको लागि ठोस काम गर्ने योजना बनाएका छौं’ कृषिमन्त्री दर्लामीको भनाई छ ।

हाम्रो नेपाल साकोसका बारेमा धारणा राख्दै उनले छोटो समयमा सहकारी संस्थाहरूले उपलब्धिपूर्ण काम गर्न सक्ने रहेछन् भन्ने उदाहरण अरू समकालीन सहकारी संस्थाहरूभन्दा हाम्रो नेपालको प्रगतिले देखाएकोमा गौरव गर्नुपर्ने औंल्याए ।

संस्थाले आजैबाट सुरु गरेको मोवाइल बैंकिङ सेवाका बारेमा उनको भनाई छ, शेयर सदस्यहरूलाई प्रविधिमैत्री बनाउनु हाम्रो नेपाल साकोसको अर्को महत्वपूर्ण उपलब्धि हो । अब सदस्यले आफ्नो खातामा रहेको रकम मोवाइलबाटै थाहा पाउन सक्ने सुविधा थपिएको छ, यसले पारदर्शितालाई मद्धत गर्नेछ ।

कार्यक्रममा नेफ्स्कोनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीहरु ‘मोर देन बैंक’ बन्नुपर्नेमा जोड दिए । सहकारी संस्था अरू कुनै वित्तीय संस्थाभन्दा कमजोर होइन, अब्बल बन्नुपर्छ भन्ने धारणा राख्दै नेफ्स्कोनका वरिष्ठ उपाध्यक्ष ढकालले कमर्सियल बैंकमा शून्य व्याज दरमा तपाईंको रकम राख्दा मन पोल्छ कि सहकारीमा केही प्रतिशत ब्याज पाउँदा भनी प्रश्न गरे ।

सहकारीमा सन्दर्भ ब्याजदर संघीय सहकारीमन्त्री र रजिष्ट्रारको इच्छामा भइरहेको आरोप लगाउँदै यसका लागि सहकारी अभियन्ताले फरक ढंगले लडाइँ गर्नु आवश्यक भएको बताए ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा आयोजित १०औं वार्षिकोत्सव समाराहका बीच संस्थाले मोवाइल बैकिङ सेवा सुरु गरेको छ । यस्तै नयाँ लोगो सार्वजनिक, आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरिएको छ ।

संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालकहरु शिव डाँगी, गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वार्षिकोत्सवका अवसरमा बुद्धिप्रसाद पाण्डे, कल्पना थापा, प्रमोदकुमार गामी, ग्रहणकुमार राजवंशी, पुनम पराजुली, ओमप्रकाश पौडेल, तारा कार्की र मिना मेचेलाई सम्मान गरिएको थियो ।

२०६९ साउन १४ गते स्थापना भएको संस्थाले झापा, मोरङ र इलाम गरी ३० वटा सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

          July 30, 2022 5:35 pm | अर्थतन्त्र,प्रदेश तह,मुख्य समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित