झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

June 24, 2022 9:00 pm

झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

पालिकाका प्रमुख र अध्यक्षहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उपप्रमुख र उपाध्यक्षहरुले बजेट प्रस्तुत गरेका छन् । झापाको भद्रपुरमा हिजो ९ गते नै नगरसभा आयोजना गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

आज कमल गाउँपालिका, कचनकवल गाउँपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिकामा बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक भएको समाचार प्राप्त भएको छ ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४९० को बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज नगरपालिकाको हलमा आयोजित दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त बजेट प्रस्ताव गरेका हुन् ।

बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४९० प्राप्त हुने जनाइएको छ ।

यस्तै नगरको आन्तरिक आयबाट १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी ६५ करोड ५४ लाख ८१ हजार ४९० प्राप्त हुनेछ । संघीय सरकारबाट सशर्त अनुदान चालूतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान १ करोड ३० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ । प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपुरक अनुदान १ करोड रुपैयाँ प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण नगरसभामा प्रस्ताव गरिएको हो ।

नगरसभामा नगरप्रुमख प्रसाईले आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरण तथा विपद् व्यवस्थापन, कृषि, पशुपालन, पशुपन्छी, उद्योग, व्यापार, व्यवसायमा अब्बल नगरपालिका बनाउने जनाएकी छन् ।

श्रम तथा रोजगार, सहकारी, यातायात तथा पूर्वाधार निर्माण, युवा तथा खेलकुद, कला, साहित्य, भाषा, धर्म, संगीत, संस्कृति, सभ्यता, सामाजिक सुरक्षा, लक्षित समूह, विज्ञान प्रविधि, सूचना सञ्चार, सुशासन, राजश्व तथा वित्तिय स्रोत परिचालन लगायत शीर्षकमा नगरपालिकाको नीति तथा लोकप्रिय कार्यक्रमहरु समावेश गरिएको छ ।

यस्तै, मेचीनगर नगरपालिकामा प्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९/८० को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । धुलाबारीस्थित टाउन हलमा आयोजित दोस्रो नगरसभा तथा प्रथम बैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख बुढाथोकीले प्रस्तुत गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, सामाजिक संघ–संस्था, स्वास्थ्य, शिक्षा, वातावरण तथा विपद व्यवस्थापन, सहकारी एवम् लघुउद्यम, नदीजन्य पदार्थ, हात्ती नियन्त्रण, सडक निर्माण तथा स्तरोन्नति, फोहोर व्यवस्थापन लगायत विविध शीर्षकमा आकर्षक योजनाहरु समेटिएका छन् ।

यस्तै आगामी आर्थिक वर्षका लागि मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको प्रस्तुत गरिएको छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्चतर्फ ७० करोड ४० लाख ४० हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा नगर स्तरीय, वडा स्तरीय, संघबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान, प्रदेश वित्तीय हस्तान्तरण मार्फत विषयगत सशर्त अनुदान, ऋणको सावाँ व्याज भुक्तानी र समपुरक कोषको शीर्षकमा रकम छुट्याइएको छ ।

मेचीनगरले वडास्तरीय आयोजनाका लागि हरेकलाई १–१ करोड र मसलन्द खर्च वापत ७७ लाख, नगरस्तरीय आयोजनाका लागि प्रशासनिक खर्च वापत २१ करोड विनियोजन गरिएको उपप्रमुख उप्रेतीले घोषणा गरेकी छन् ।

मेचीनगरले संघबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ४० करोड ४६ लाख, प्रदेश सरकारबाट पुँजीगत खर्चबाट ११ करोड १२ लाख ३ हजार रुपैयाँ, ऋण सावाँ व्याज भुक्तानीतर्फ ६ लाख र समपुरक कोषमा ५ करोड छुट्याइएको छ ।

आज सुरु भएको मेचीनगरको नगरसभा असार १७ गते समापन हुने जनाएको छ ।

यस्तै कनकाई नगरपालिकामा कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिकता दिँदै ७३ करोड ८५ लाख ६१ हजार ४२० रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले कनकाईको ११औं नगरसभा बैठकमा आ. व. २०७९/८० का लागि वार्षिक बजेट सार्वजनिक गरेकी हुन् । बजेट सार्वजनिक गर्दै उपप्रमुख शिवाकोटीले नौ वटै वडाबाट छनौट हुने वडास्तरीय योजना तथा कार्यक्रमका लागि भौगोलिक तथा जनसंख्याको आधारमा बाँडफाँड हुनेगरी ९ करोड ६ लाख १३ हजार बजेट विनियोजन गरेको बताएकी छन् ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैयाँ अनुदान रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड ९८ लाख ५५ हजार, आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रुपैयाँ विभिन्न शीर्षकमा विनियोजन गरिएको उपप्रमुख शिवाकोटीको भनाई छ ।

कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिकतामा राखेको कनकाईले २ करोड २५ लाख रुपैयाँ कृषि तथा पशुपक्षी कार्यक्रमका लागि विनियोजन गरेको छ । यसैगरी शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातवरण, संस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला बालबालिका तथा लक्षित वर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख विनियोजन गरिएको छ ।

अर्कोतर्फ देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । ‘दिगो सुशासन, पारदर्शी प्रशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले सातवटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

गाउँसभामा वार्षिक नीत तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलबासीको आवश्यकता र चाहना बमोजिम प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिए । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, वन संरक्षण, खेलकुद, पर्यापर्यटनलाई प्राथमिकता दिएको उनले जनाए ।

प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीले गाउँसभाको उद्घाटन गर्दै कृषिको विकासले समृद्धि हासिल गर्न सकिने भन्दै कचनकवलले कृषिलाई प्राथमिकतामा राखेकोमा प्रशंसा गरेका थिए ।

          June 24, 2022 9:00 pm | अर्थतन्त्र,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित