विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

May 20, 2022 3:57 pm

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा पवित्रा महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी भएका हुन् ।

मतगणना परिणाम अनुसार प्रसाईं १६५२० मत सहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२७६२ मत पाए। संग्रौला १५५८६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी चन्द्रप्रसाद कडरियाले ८४५१ मत पाए । प्रमुखमा विजेता प्रसाईं यसअघि उपप्रमुख थिइन् । संग्रौला बिर्तामोड–२ का वडाध्यक्ष थिए ।

प्रसाईंले झापामा पहिलो महिला प्रमुख बन्ने रेकर्ड समेत बनाएकी छन् । एमालेको तर्फबाट बिर्तामोड–१ मा अग्नि पाण्डे,२ मा किशोर पौडेल,३ मा मदन बुढाथोकी,४ राहुल शर्मा,७ मा अविरलकृष्ण खरेल,९ हरि प्रसाद चौलागाईं वडाध्यक्ष निर्वाचित भएका छन् ।

काङ्ग्रेसका तर्फबाट बिर्तामोड–५ मा रोहित प्रसाईं,६ मा सूर्यप्रसाद कन्दङ्वा र १० मा दुर्योधन गुरुङ वडाध्यक्ष निर्वाचित भएका छन् । बिर्तामोड–८ मा राप्रपाका उम्मेदवार अजय कार्की वडाध्यक्ष निर्वाचित भएका छन् ।

कन्दङ्वा, गुरुङ र कार्की दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । बिर्तामोडमा काङ्ग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । सत्ता गठबन्धन दलका उम्मेदवारलाई पाखा लगाउँदै एमालेले प्रमुख, उपप्रमुख सहित बहुमत स्थानमा विजय हासिल गरेको हो ।

          May 20, 2022 3:57 pm | मुख्य समाचार,राजनीति,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: