“घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !


वि सं. २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङमा जन्मिएका नकुल काजी नेपाली साहित्य लेखनमा वि सं. २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखापरेका साहित्यिक सर्जक हुन् । पेसाले आजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका मात्र होइन नेपालकै एक सशक्त कलमजीवि हुन् ।

विज्ञान विषयमा स्नातक गरेको भए पनि काजीले नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तरार्ध चरणमा पनि उत्तिकै सक्रियताका साथ लागिरहेका छन् । २०१९ को यौवन तृष्णादेखि २०६९ सालको गणतन्त्र र गौंथलीको बाऊ (निबन्ध संग्रह) सम्म आइपुग्दा काजीले डेढ दर्जन पुस्तककार कृति नेपाली साहित्यलाई उपहार दिइसकेका छन् ।

हालसम्म प्रकाशित उनका कृतिहरुको सूचीलाई नियाल्दाः यौवन तृष्णा (कविता संग्रह २०१९) जीवन प्रश्न (कथा संग्रह), मुना (खण्काव्य २०२०) सागर (उपन्यास २०३५), समस्या (उपन्यास २०२५), शान्ति (उपन्यास २०३६), गौरी (उपन्यास २०२७), विद्रोह बोल्छ (खण्डकाव्य २०३७), मेरो देशको कविता (कविता संग्रह २०३६), सगरमाथाको शान्ति सन्देश (२०३१), युद्धको दुव्र्यसन (कविता संग्रह २०६६) क्रान्तिको पहिलो चरण (उपन्यास २०६८) र गणतन्त्र, गौंथलीको बाऊ ( निबन्ध संग्रह २०६९) र घरहरु भत्किरहेछन् (उपन्यास २०७१) छन् । उनले यस्ता गहकिला कृति नेपाली साहित्य जगतमा समर्पण गरेका छन् ।

नकुल काजीले वि.सं २०२७ सालदेखि झापा जिल्लालाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता शुरु गरेर यही माटोमा व्यवसायिक पत्रकारिताको महाविद्यालयका रूपमा झापाली पत्रकारितालाई स्थापित हुने वातावरण बनाउन पुगे । स्तरीय भाषा, चोटिलो व्यङ्ग्य, समसामयिक विकृति विसंगतिप्रति प्रहार गर्न खप्पिस काजी राष्ट्रवादी स्वर उराल्ने सशक्त सर्जकका रूपमा आफूलाई दर्याउन सफल स्रष्टा हुन् ।

                द्रोण अधिकारी ‘गुयेली’

काजीको पछिल्लो कृतिका रूपमा आख्यानात्मक उपन्यास “घरहरू भत्किरहेछन”् नेपाली साहित्यको बजारमा आएको सामाजिक विषय केन्द्रित कृति हो । नेपालमा टड्कारो समस्याका रूपमा देखिएको वैदेशिक रोजगारी र त्यसबाट समाजमा परिरहेको नकारात्मक असरलाई आख्यान बनाइएको यो उपन्यास सशक्त विषय उठाएर पनि छायाँमा परेको पाइएको छ । समाजको वास्तविकता स्थलगत अनुगमन गरी लेखिएको यस कृतिले राष्ट्रिय मुलधारको साहित्यिक समाजको विभेदकारी नजर खपेको हो कि भन्ने चर्चाविहिन अवस्थाले दर्साउँछ ।

वैदेशिक रोजगारीलाई मूल विषयवस्तु बनाएको यस उपन्यासले तीन दशकयता नेपाली अर्थतन्त्रमा प्रमुख हिस्सा ओगटेको वास्तविकता बिर्सिएर नेपाली शासकहरू वैदेशिक रोजगारका बाध्यता रोकेर स्वदेशमै केही गर्ने मौका निर्माणमा चुकेको तीतो सत्य नै विकृत समाज निर्माणको आधार भएको रहस्य बोकेर आएको छ । सरकार मुलुक भित्रै जीवित उर्जाशील मस्तिष्क र क्षमतावान पाखुरा परिचालन गर्न नसक्ने तर कुर्सीमा आसिन रहन सुखी र समृद्धिका नारा बेचेर आफ्ना देशका नागरिकलाई विदेशमा दास बनाइ रहेको प्रति चोटिलो प्रहार बोकेर यो उपन्यासले आख्यान बुनेको छ ।

देशमा रोजगारी सिर्जना गर्ने वातावरण छैन । पेट पाल्न साहु महाजनको घरमा घरबारी बन्धकी राखेर युवा पुस्ता विदेश हानिनु पर्ने विडम्बना छ । राजनीतिले परिवर्तनका विभिन्न चरण पार गरे पनि शासकीय स्वरूप होइन व्यक्ति मात्र परिवर्तनको बाटो लाग्दा चंखे चतुरे कै राज बलियो भयो । भ्रष्टाचार, दुराचार, ठगी, तस्करी जस्ता माफियागिरिले समाज जगट्न सफल हुँदा गरिखाने मेहनती र इमान्दार युवा युवती देश छोड्न बाध्य बने ।

स्वतन्त्र र अभिभाज्य मुलुक भनिएको नेपालमा शासकीय शक्ति कसले र कसरी चलाइरहेको छ ? नातावाद, कृपावाद, फरियावाद भित्र समेटिन नसक्ने युवा युवती खाडी मुलुकको तातो बालुवामा पसिना चुहाउन जानुपर्ने बाध्यता नै नेपाली समाजको यथार्थ हो ।

देशलाई भत्कोस लाग्ने प्रमुख कारण वैदेशिक रोजगार हो । जबदेखि विदेश पलायनका लागि युवा युवतीलाई बाध्य बनाइयो, तबबाट नेपाली समाजमा घरहरू भत्कन थालेको चित्र उपन्यासको कथानक बनिएको छ । जवानीले भरपुर युवतीलाई विवाह गरी यौनिक सुखमा रमाउन सिकाएर पुरुष विदेसिएपछि जैविक चाहनाले यौनको उन्माद बिस्तारै छाडापनतिर ढल्कदैँ गएको तथ्य उपन्यासले खोतल्न खोजेको छ । छाडापनमा अल्मलिएको यौनिक मेला—बजार जताततै बरालिने माध्यम बनिँदा सुन्दर घरहरू भत्कन थालेको तथ्य वैदेशिक रोजगारले पति वियोग वा पत्नी वियोग जन्माएर विकृत भएको हो ।

पैसाले मात्र जैविक चाहना पूरा हुँदैन । अतृप्त कामवासनाले दाम्पत्य जीवन विघटन हुन पुग्दा समाजका सग्ला घरहरू टुक्रा—टुक्रा भई बुढा आमाबाबु र कलिला छोराछोरी नराम्ररी प्रभावित भइरहेका छन् । यी सबै विकृतिको जग वैदेशिक रोजगार हो, उपन्यासको सार यही हो ।

यस उपन्यासमा विशेषगरी नेपाली समाजका नारी वर्गमा वैदेशिक रोजगारीमा गएको पति वियोगबाट जैविक आवश्यकता पूर्ति नभएपछि परपुरुष रोज्ने आदत लागेको प्रष्ट्याउन खोजिएको छ । विदेशिएको लोग्नेले रगत—पसिना गरी कमाएको पैसा पराई नाठाहरूको रजाइँ चलेकोप्रति यथार्थ चित्र उतारिएको छ । परदेशबाट आएको पैसा उत्पादनमुलक क्षेत्रमा खर्च हुन नपाउनुका पछाडि मोजमस्तीरूपि शहरीकृत सोच र एकल विलासी जीवनशैली भएको उपन्यासले देखाएको छ ।

नारी पात्रमात्र प्रमुख भूमिकामा उभिएका यस उपन्यासले नेपाली समाजको पछिल्लो समय खण्डको वास्तविकता चित्रण गरेको छ । पुनम प्रमुख भूमिकामा देखिएकी यस उपन्यासको कथानक अर्थात विकृत यौनकी प्रतिनिधि पात्र हो । जसले अत्याधुनिक शैलीलाई एकाएक नेपाली समाजमा ल्याएर मोजमस्तीका रूपमा परपुरुषसित यौन लीलामय जीवनमा दिनचर्या बिताएकी छ । योक्रम लगभग समाज नै भएर वैदेशिक रोजगारमा गएका श्रीमानका श्रीमतीहरू गाउँ छोडेर शहरी डेरामा नाठा, रखौटा, स्त्रीलम्पट दुराचारी पाल्ने परम्परा नै विकृति रहेको उपन्यासले चित्रण गरेको छ । वैदेशिक रोजगारीले गाउँ—शहरका भत्किरहेका घरहरू नदेख्ने सरकार विप्रेषणको फूर्ति देखाएर समाज विकृत पारिरहेकोप्रति व्यङ्ग्यसमेत गरेको छ ।

नेपाली समाजको यथार्थ चित्रण गरेको यस उपन्यासले समाज आर्थिक रूपमा जर्जर हुँदा सिमित समस्यामा थियो तर आर्थिक उन्नतिका लागि सात समुन्द्र पार गरेर उर्वर जवानी बोकेर पुरुष परदेश लागेपछि मस्त जवानीमा रहेकी नारी आर्थिक उन्नतिसित जैविक सुख खोजी गर्न विकृत यौनको खेलमा परेको चित्रणले टुक्रँदै गएको नेपाली परिवार तथा अलपत्र बालबच्चा र बुढाबुढीको पीडासमेत उपन्यासले समेटेको छ ।

नालायक सरकारका कारण एक करोड हाराहारीका नेपाली युवाको यथार्थ घटना र नाङ्गो शब्द चित्र बनेर आएको यस उपन्यासले उठाएको विषयबस्तु हरेक घर—परिवारसित कहीँ न कहीँ जोडिएको छ । गहिरो विषय र चोटिलो आख्यान बोकेको यस उपन्यासले चर्चा पाउन नसक्नु काठमाडौ बाहिरका साहित्यिक कृति रद्दीको टोकरीमा फालिन्छन् भन्ने भनाइको चरितार्थ जस्तै बनेको छ ।

          October 20, 2021 1:51 pm | विचार/ब्लग,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: