एनएमसी सहकारी पसलः सञ्चालनको अन्तरकथा


नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चौथो व्यवसायकोरुपमा २०७६ साल वैशाख ९ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एनएमसीको आफ्नै भवनबाट सहकारी पसल शुरु गरियो । एनएमसीको भवन बजारमै नभएर थोरै तल पर्छ । मानिसले धाएर आउनुपर्छ । सहकारीको आफ्नै भवन भएकाले माथि कार्यालय र तल सहकारी पसल चलाउन उपयुक्त ठान्यौं । अन्यत्र बजारमा एक त घर पाउन मुस्किल, अर्को त भाडा धेरै तिर्नुपर्ने । त्यसैले धेरै अध्ययन नगरी अलि जोखिम मोलेर नै यो पसल शुरु गरियो ।

शुरुका दिनमा २०–२५ हजार रुपैयाँ दैनिक बिक्री हुने गरेको थियो । स्थानीय एनएमसीका जिम्मेवार साथीहरुले बिक्री बढाउन निकै मेहनत गर्नुभयो । संस्थाका कतिपय कार्यक्रम त्यही भवनमा राखियो । यसोगर्दा मानिसले पसल देख्ने र आवश्यकताका वस्तु खरिद गर्ने गर्थे । म आफैं पनि त्यहाँ गएको बेलामा सामान खरिद गर्थें । बिक्री बिस्तारै बढ्दै गयो । दैनिक ३०-४०-५० हुदै लाखसम्म बिक्री पुगेको छ ।

शुरुभएको सालको मंसिरसम्ममा नै ५०–६० हजारको दैनिक बिक्री हुन थालेपछि हामीलाई लाग्न थाल्यो अरु पनि सहकारी पसल खोलेर चलाउन र टिकाउन सकिन्छ । त्यसपछि अरु नयाँनयाँ स्थानमा पसल शुरु गर्न थालेका हौं । पहिलो पसल शुरु गर्न र शुरु गरेपछिका दिनमा निकै कठिन भएको थियो । शुरुमा सेटअप गर्न पसलमा चाहिने कर्मचारी, र्याक, फर्निचर, काउण्टर, सफ्टवेयर, वायरिङ, सजावट आदि कसरी गर्ने भन्नेमा एकदमै अनविज्ञ थियौं । समान कोसँग किन्ने, के के किन्ने, कसरी सजाउने, कुन समान कुन ठाउँमा राख्ने, बिलिङ कसरी गर्ने आदि विषय नै जानेको थिएन । प्याकेजिङ गर्ने, सिल गर्ने, मूल्यको ट्याग टाँस्ने जस्ता सामान्य कामका लागि पनि कसरी र कहाँबाट शुरुगर्ने भन्ने बारेमा अन्योल थियो ।

सहकारी पसल शुरु गर्ने शिलशिलामा बजारमा समान किन्न जाँदा ठूलै फसाद पर्यो । सप्लायर्सले समानको बिल नदिने, दिए पनि स्टमेट बिल दिने, भ्याट बिल नदिने, भ्याट बिल माग्दा पूरा मूल्यको नदिने, कतिपय सप्लायर्स भ्याटमा दर्ता नै नभएकाले पान नम्बरको बिल दिने, कतिको त पान बिल पनि नहुने समस्या थियो र छ ।

कुन समानको कति मूल्य हो, शुरुमा थाहा हुने कुरा भएन । कुन समान बिक्छ र कुन कम बिक्छ पनि थाहा नहुने । सप्लायर्सले जुन समान कम बिक्छ त्यही समान मीठो बोलेर भिडाउन खोज्ने गर्दा रहेछन् । पसलमा चाहिने र्याक खोज्न म नै पहिलो पटक काठमाडौं पुगेको थिएँ । पहिलो पटक स्थानीयको सपोर्ट पाउन सजिलो हुन्छ भनेर बिर्तामोडतिरकै कुनै सफ्टवेयर भेण्डरको सफ्टवेयर चलाउन खोज्दा निकै समस्या भयो । दुई महिना नपुग्दै यो सफ्टवेयरले काम गर्दैन भन्ने निश्कर्षमा त पुग्यौं तर कुन लिने भन्नेमा अन्योल भयो । कतिपय अनुभवीलाई सोध्दा पहिले यो चलायौं, त्यसले नभएपछि अहिले यो ट्रायल गर्दैछौं भन्ने भेटिए । यो प्रकृतिका पसल मार्टहरु धेरै नभएकाले सिक्न पाउने अवस्था धेरै थिएन । नयाँ सफ्टवेयर खोज्न पनि म आफैं काठमाडौ गएको थिएँ ।

आइएमएस, त्रिपुरेश्वरमा गएर केही डकुमेण्ट ल्याएँ । दरभाउ सोधें । यसले कस्तो काम गर्छ म हेर्न र सोध्न पनि नजान्ने भएकाले यसबारेमा बुझ्न एनएमसीकै मनिष कोइराला र राजु कुवँरलाई जिम्मा दिएँ । पहिला स्थानीय ट्राई गर्न खोजेकाले केही समय यो बारेमा अन्त बुझिएन तर पछि आइएमएस कै सफ्टवेयर चलाउने निर्णय गरियो । यो बेलासम्म निकै ढिलो भएको थियो । पसलमा सफ्टवेयरले काम गरेको थिएन । खरिद बिक्रीको रेकर्ड व्यवस्थित हुन सकेको थिएन । यसले चिन्ता थप्ने नै भयो । निकै मेहनत गरेर पसल शुरु भएको ४–५ महिनामा मात्रै अलि व्यवस्थित गर्न सकियो ।

शुरुमा पसलमा चारजना कर्मचारी नियुक्त गरियो । सीता चौलागाईं मैनाली पहिलो कर्मचारी र पसलको प्रमुख बनिन् । उनलाई बिर्तामोडमै भएको सतासी बहुमुखी सहकारीले चलाएको पसलमा १५ दिन तालिम गर्न पठाइयो । दोस्रो कर्मचारी लेखापाल धनबहादुर विश्वकर्मालाई पनि त्यहीँ तालिम गर्न पठाइयो । धनबहादुरले आफ्नै व्यवसाय गर्ने भनेर एक महिना जतिमा नै राजीनामा दिए ।

होलसेलमा समान बेच्ने सप्लायर्सले एनएमसी सहकारी पसललाई शुरुमा खासै महत्व नदिएको पाइन्थ्यो । उनीहरुलाई यो पसल कति दिन चल्छ होला र भन्ने लागेको थियो होला ! त्यसैले अलि अभाव भएका समान दिन नखोज्ने, दिए पनि बढी मूल्य भन्ने, बिल दिन नमान्ने, बिल दिए पनि पुरा मूल्यको नदिने, समान उठाउनुभन्दा पहिला नै पैसा भुक्तानी गरिदनु पर्ने आदि आदि ।

हाम्रो पहिलो पसल शनिश्चरे बजारमा शुरु भएको थियो । यहाँ शनिबार हाट बजार लाग्ने गर्छ । भारतको नक्सलका व्यपारीले बाहुनडाँगी हुँदै यो बजारमा पनि समान ल्याएर बेच्ने चलन थियो । यिनीहरुको समान अलि सस्तो हुने नै भयो । एनएमसीले पूरा भ्याट बिल गरेर ल्याएको समान केही महङ्गो पर्ने भयो । बिना भ्याट बिलको समान किनेर बेच्दा पहिला १३ प्रतिशत भ्याट तिर्नुपर्ने भयो । पसलले पाउने नाफा त भ्याट तिर्न नै नपुग्ने हुन्थ्यो । दोहोरो लेखा राखेर व्यापार गर्न सकिँदैन थियो । अरु लगभग सबैले यो खालको व्यवसायमा गर्ने नै दोहोरो लेखा राखेर समान किन्ने र बेच्ने हो । जङ्गलमा बाटो हराएका यात्री जस्ता भएका थियौं हामी ।

स्थानीय समितिका साथीहरु धर्मानन्द गुरगाई, हरिभक्त बराल, कमल गुरागाई के गर्ने होला भनेर निकै चिन्तित हुनुहुन्थ्यो । पसल प्रमुख सीता चौलागाईले त एकपटक मसँगै म पसलको प्रमुख भएर काम गर्न नसक्ने रहेछु, काम छाड्नु पर्यो नै भनिन् । हामीले पसलबाट पछि हट्न सक्ने कुरै थिएन । जसरी भएपनि सफल पार्नेैपर्ने चुनौति थियो, छ । अभ्यासले सिकाउँदै लग्यो । समस्याहरु समाधान गर्दै, समाधान खोज्दै र समस्या कम गर्दै अगाडि बढ्यौं । पसलले नाफा गर्छ कि गर्दैन भनेर कहिल्यै सोचेनौं । मैले सधै भन्ने गर्थें अहिले नाफा हेर्ने होइन, पहिला पसललाई चलाउन सिकौं । नभन्दै हामी अलिअलि चलाउन जान्ने हुँदै गएका छौं ।

माथि भनिएका र हामीले भोगेका बाहेकको अलि छुट्टै खालको समस्या पनि यस खालको पसलमा थियो र छ । त्यो भनेको यस्तो गार्ड राखेको, सिसि टिभी भएको, कर्मचारी मात्रै राखेर चलाएको स्ट्याण्डर पसलमा त समान महङ्गो पर्छ भन्ने बुझाई आम मानिसमा थियो र छ । ग्राहक ढोकाबाट प्रवेश गर्नै हिच्किचाउने गर्छन् । बनियानीमा पसल शुरु गरेपछि त्यहाँ मानिस भित्र पस्नै डराए भन्नुहुन्थ्यो एनएमसी समिति संयोजक तोमप्रसाद भट्टराई ।

मानिसलाई बानी पार्न ढोका अगाडि आफैं बसेर बाटो हिंड्ने मानिसलाई बोलाएर भित्र पसाउने गरेको कथा सुनाउनु हुन्थ्यो । भित्र गएर पनि समान छानेर, हेरेर किन्ने चलन छैन । आफूलाई चाहिएको समान माग्ने र त्यसको दाम कति पर्छ भनेर सोध्ने चलन छ । तर यस्ता पसलमा त समानमा मूल्य लेखेको हुन्छ । आफैंले घुमेर, छानेर, मूल्य हेरेर काउण्टरमा समान ल्याएर बिल बनाउन लाउने र पैसा तिर्ने चलन हुन्छ । यसका लागि साधारण मानिसलाई बानी पार्नुपर्ने थियो ।

पसलमा समानको मूल्य बजार भाउभन्दा कम राखिएको थियो र छ । जब मानिस पसलमा आउन थाले उनीहरुले मूल्यमा सन्तुष्टि जनाउन थाले, एकै थलोमा धेरै समान पाउने सुविधा पाए । समानको मूल्य सोध्नु नपर्ने, समानमा नै टाँसिदिएको हुने, समानको मोलमोलाई (बार्गेनिङ) गर्नु नपर्ने भएकाले पनि सदस्य र उपभोक्तालाई सजिलो हुँदै गयो । मानिसमा बानी पर्दै गयो, सहकारी पसलप्रति सदस्य र आम मानिसको विश्वास बढ्दै गयो ।

यो अनुभव र सिकाईले हामीलाई अरु पसल थप्न सकिने निश्कर्षमा पुर्यायो । दोस्रो पसल २०७६ फागुन १९ मा राजगढमा खोल्यौं । तेस्रो पसल फागुन कै २८ गते बनियानीमा शुरु गर्यौं । चारआलीमा एनएमसी कै भवनमा शुरु गर्ने तयारी हुँदैथियो, चन्द्रगढीमा पनि घर भाडामा लिएर तयारी गर्दैथियौं । कोभिडको सङ्कट आइलाग्यो । कोभिडको कहरका बीचमा नै २०७७ को असारमा चौथो पसल चारआली र पाँचौं पसल साउनमा चन्द्रगढीमा शुरु गर्यौं ।

पसललाई व्यवस्थित गर्न सञ्चालक समितिका उपाध्यक्ष भगवती घिमिरेको संयोजकत्वमा धर्मानन्द गुरागाईं, हरिभक्त बराल शनिश्चरेबाट, खगेन्द्र ओझा राजगढ र तोमप्रसाद भट्टराई बनियानीबाट प्रतिनिधित्व गराइयो । कामलाई व्यवस्थित गर्न र कर्मचारी परिचालन गर्न संस्थाका प्रबन्धक नबिन भण्डारीलाई व्यवसाय प्रमुखमा नियुक्त गरियो । सबै पसललाई एकै ठाउँबाट समान आपूर्ति गर्नेगरी बिर्तामोडमा केन्द्रीय बितरण केन्द्र बनायौं । बितरण केन्द्र शुरु हुनुभन्दा पहिला नै खोलिएका पसलमा केही समस्याहरु देखिए । कुन समान कुन पसलका लागि किनेको, कुन समान कुन पसलमा गयो, कुन समान कुन पसलमा छ भन्ने केही अन्योल थपियो । हरेक पसलमा समानमा मूल्यको ट्याग लगाउन, प्याकिङ गर्न समस्या हुने नै भयो । बितरण केन्द्र चालू भएपछि यो समस्या क्रमशः हल हुँदै गयो ।

शुरुमा खोलिएका राजगढ, बनियानीका पसलमा शनिश्चरेले खरिद गरेर पठाएका समान त्यहाँका लागि नियुक्त भएका नयाँ कर्मचारीले चिन्ह, बिल अनुसार छुट्याउन, थान गन्ती गरेर मिलाउन, मूल्यको ट्याग लगाउन निकै गाह्रो भएको थियो । समान कसरी सजाउने, मिलाउने केही जानकारी नहुँदा समस्या हुने नै भयो । चारआली र चन्द्रगढीमा पनि यो समस्या देखियो तर समस्या केही कम हुँदै गएको थियो । त्यसपछि दूधे, गौरीगञ्ज र खुदुनाबारीमा पसल खोलियो । यो दशैंको केही अघि र केही पछि थियो । चाडबाडको कारण बिक्रीको चाप, नयाँनयाँ पसल थपिँदै जाने, अनुभवको कमी, नयाँनयाँ कर्मचारी आदि कारणले निकै नै समस्या थिए । तर सबैको मेहनत, लगन, सिकाई र जसरी पनि सफल हुनैपर्छ भन्ने सबैको अनुभूति भएकाले समस्यासँग भागेर, समस्या सारेर होइन समस्यालाई मसिनो गरी पहिचान गरेर समाधान गर्दै अगाडि बढ्नेक्रम जारी छ ।

सहकारी पसल सञ्चालनका लागि केही कार्यविधिहरु बनेका छन्, केही बन्ने क्रममा छन् । यसबीचमा केही अनुभवीहरुको सशुल्क सहयोग लिने काम गरियो । कर्मचारी नियुक्ति र तालिमलाई निरन्तरता दिइएको छ । सिकाई र अनुभवलाई संस्थागत गर्दै लगिएको छ । बुधबारे र गौरीगञ्जमा पसल थपिएर संख्या दश पुगेको छ । काँकरभिट्टा र बिर्तामोडमा पसल शुरु गर्ने गरी अन्तिम तयारी भइरहेको छ ।

सबै सहकारी पसललाई थप व्यवस्थित गर्ने प्रयास भइरहेको छ । बितरण केन्द्रको खरिद विभागमा संस्थाका पुराना कर्मचारी पारस भट्टराईलाई प्रमुख बनाइयो । यसअघि यो विभाग सीता चौलागाईले एक्लै सम्हाल्नु भएको थियो । अनुभवको निरन्तरता र पसलको संख्या थपिएसँगै खरिद विभागमा संख्या थपिँदै गएको छ । लेखा विभाग, स्टोर इञ्चार्ज आदिको व्यवस्था गरिएको छ । सप्लायर्सहरुले पत्याउन थालेका छन् ।

एनएमसीले सहकारी पसल सञ्चालन गर्नुको मुख्य उद्देश्य सदस्यले उत्पादन गरेका वस्तुको लागि बजार उपलव्ध गराउनु, संस्थाले उत्पादन गरेका वस्तुको बिक्री गर्नु, सदस्यलाई गुणस्तरीय समान उपलब्ध गराउनु र मूल्यमा न्याय गर्नु हो । सहकारी पसल सञ्चालन भएका स्थानमा बजार मूल्य नियन्त्रणमा सघाउ पुगेको हामीले महसुस गरेका छौं । एनएमसी नाफा हुने सबै बस्तु बेच्नुपर्छ भन्ने मान्यता राख्दैन । त्यसैले चुरोट, मदिरा, गुटखा वा यस्तै बस्तु बेच्ने गरेका छैनौं । एनएमसीको कोशिस हो कि स्थानीय समुदाय र सदस्यले पसलमा गएर समान किन्ने मात्रै होइन कि उनीहरु पसललाई के बेच्न सकिन्छ भनेर पनि सोच्न र स्वरोजगार बन्न कोशिस गरुन् । यो सोचले सदस्यमा व्यवसायी बन्ने अवसर प्रदान गर्नेछ । जय एनएमसी, जय सहकारी ।।

          August 19, 2021 10:02 pm | अर्थतन्त्र,मुख्य समाचार,विचार/ब्लग,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: