मानव सेवामा राजनीतिक रङ देखिनु नहुने कांग्रेस नेता विश्वप्रकाशको भनाई

June 10, 2021 7:53 pm

भद्रपुर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मानव सेवामा रहने स्वयम सेवकहरूबाट राजनीतिक रङ नदेखाउन आग्रह गरेका छन् ।

मेची अभियानका परिकल्पनाकार समेत रहेका शर्माले अभियानमा संलग्न भद्रपुर ९ र १० मा संकृय स्वयम सेवकहरूसित अन्र्तक्रिया गर्दै एउटा मान्छेले अर्को मान्छेको जीवन बचाउन लाग्दा राजनीतिको रङ नदेखाउन आग्रह गरेका हुन् ।

२०७२ सालको महा भूकम्पपछि पीडितलाई सहयोग गर्न झापाको मेची नगरबाट सुरू भएको मेची अभियान आपत र विपतमा परेका मानिसलाई सहयोग गर्न स्वयम सेवक माध्यम अपनाएर मान सेवामा निरन्तर लागिरहेको बताउँदै शर्माले पछिल्लो पटक कोभिड, ननकोभिडका बिरामीलाई टेलिमेडिसिन उपचार सेवा प्रवाह गरिरहेको बताए । उनले आर्थिक अभावका कारण अस्पताल पुग्न नसकेका बिरामीलाई अस्पताल पुर्याएर बचाउनु पहिलो प्राथमिकता भएको जनाउँदै कोरोनाका कारण दीर्घ रोगीले अस्पतालमा पुग्न नसकी उपचार सेवा नपाएर घरमै रहेकाहरूसित टेलिमेडिसिन मार्फत उपचारमा जोड्न स्वयम सेवकहरूलाई आग्रह समेत गरेका छन् ।

अभियानका संयोजक विजय डालमियाका अनुसार झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, गौरीगन्ज गाउँपालिका, झापा गाउँपालिका र साविक खुदुनाबारी गाविसमा जारी छ । बिरामीहरूको आवश्यकताअनुसार यो सेवा बिस्तार हुँदै जाने संयोजक डालमियाले जानकारी दिए ।

कोरोना संक्रमितसँगै मुटु, मिर्गौला, सुगर, प्रेसरका बिरामी, गर्भवती, सुत्केरी महिला तथा डायलासिस सेवा लिनुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर यो सेवा सुरु गरिएको संयोजक डालमिया बताउँछन् । अभियानले कोरोनाको दोस्रो लहरको संक्रमणसँगै जनचेतना अभिवृद्धि गर्ने र संक्रमितहरूलाई नियमित परामर्श उपलब्ध गराउँदै आएको छ ।

विशेषज्ञ चिकित्सकसहितको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितहरूसँग भर्चुअल प्रविधिबाट प्रत्यक्ष कुराकानी गर्ने र परामर्श दिने गरिरहेका छन् । त्यसको नेतृत्व डा. सञ्जीव शर्मासहितको टोलीले गरिरहेको छ ।

          June 10, 2021 7:53 pm | राजनीति,समाज

प्रतिकृयाहरू :

समाचारहरु: