म टक्क उभिएको छु

September 26, 2020 11:16 am

म टक्क उभिएको छु । मान्छेहरू भन्छन्– “उभिनु नै पनि ठूलो कुरा हो ।” मान्छेहरू नै भन्छन्– ”उभिनु नै त केही होइन ।” मलाइ लाग्छ, दुवैका कुरा हुन् पनि, हैनन् पनि । जे होस्, म उभिएर हेर्दै छु । म वरपरका कुरा हेर्दै छु । नजिकका कुरा पनि हेर्दैछु । अतीतका कुरा सम्झँदैछु । भविष्यका कुरा अनुमान गर्दैछु । म उभिएको छु ।

धेरैलाई भद्दा लाग्न सक्छ । टक्क उभिएको दृश्य मन नपर्न सक्छ । अरूको दृश्य हेरेर आनन्द लिनलाई यो दृश्य सकस लाग्न सक्छ । मलाई उभिन मन परेको छ । म उभिएको छु । रमाइलै पनि छ । म उभिन पाएको छु । म उभिन सकेको छु । संसारमा मान्छेलाई आफू राम्रो लाग्छ । आफ्नै कर्म राम्रो लाग्छ । सत्कर्म त राम्रो लाग्ने नै भयो । मान्छेलाई आफ्नो कुकर्म पनि राम्रै लाग्छ । अनि त संसारमा कुकर्म पनि फस्टाएको छ त !

त्यसो त उभिने मात्रै कार्यसँग म पनि सन्तुष्ट छैन । उभिए पछिको कार्य हिड्नू हो । दौडनु हो । दौडनु र हिँड्नु अगाडिको कार्य उभिनु भएर नै उभिनुको महत्व रहेको होला । तर म हिँड्न सकेको छैन । दौडन सकेको छैन । दौडन, हिँड्न रहर नै नभएको त कहाँ हो र ॽ तर दौडने र हिडने क्रियाले पुर्याउने स्थानको अनिश्चयले उभिन उचित लागेको छ । हिँडिरहेका र दौडिइरहेकालाई मेरो क्रिया दिगमिग लाग्दो हो । मलाई भने यसैमा आनन्द छ ।

रहर त सबैका हुन्छन् । रहर टिप्न टाकुरामा पुग्नु पर्छ । हिड्नै पर्छ । दौडनै पर्छ । अनिमात्र टाकुरामा पुग्न सकिन्छ । टाकुरो झन् पहेली युक्त हुन्छ । टाकुरामा पुगेपछि फेदीमा खस्न पनि सकिन्छ । जसलाई फेदीसँग डर छ उनले टाकुरासम्म नदौडे हुन्छ । नहिडे हुन्छ । अनि सधैँ दौडन रहर गर्नेहरु एक दिन टाकुरामा पुग्दा हुन् । त्यहाँ पनि उनलाई दौडन रहर लाग्दो हो । टाकुराबाट ती कता दौडदा हुन् ॽ मेरा मनभरि कौतूहल जागेको छ ।

हिड्नु यात्रा हो । यात्रा रमाइलो हुन्छ । यात्राले नयाँ अनुभव र अनुभूति दिन्छ । त्यसैले त यात्रा रोचक हुन्छ । दृश्यमा रोचक, भोग्नमा रोचक, खानपान लगायत हरेक क्षेत्रमा रोचक हुन्छ । मानिसहरू त्यो रोचकतामा रङ्ग पनि लाउँछन् । रङ्ग भरिएको रोचकता झनै उत्साहको हुन्छ । अनि त मान्छेहरू कलाकार बन्छन् । कूची लिएर चित्र सजाउँछन् । आफूलाई भन्दा चित्रलाई माया गर्छन् । सिर्जनशीलहरुको चरित्र र प्रवृत्ति नै यस्तै हुन्छ र नै सिर्जना मौलाउँछ । सर्जकहरू सिर्जनासँग कुरा गर्छन् । उनलाई लाग्छ, उनले सिर्जनाको कुरा बुझ्छन् । सिर्जनाले उनको कुरा बुझ्छ । वास्तवमा बुझाबुझ नै त कुरा हो । यसरी सर्जक र सिर्जनाका बीचमा माया र प्रेम मौलाएको हुन्छ ।

यात्रा रमाइलो यसै छँदैछ । यात्रामा दृश्यहरू प्राकृतिक पनि र कृत्रिम पनि हुन्छन् । प्राकृतिक सबल र सजीव हुन्छन् नै । कृत्रिम भने हेर्न र देख्न सक्नुपर्छ । दुवै रमाइला हुन्छन् । दुवैको आ–आफ्नै पन र प्रकृति हुन्छ । दुवैले आफ्नै प्रकारको आकर्षण र स्वाद सिर्जना गरेका हुन्छन् । यात्राका अनगिन्ती स्वाद, सन्तुष्टि र आनन्द नभए किन यात्रा गरिन्थ्यो ॽ किन मानिसहरू घुमी रहन्थे ॽ यस युगमा यात्रा सहज बन्दै गएको छ र यात्रा जीवनको अभिन्न अङ्ग बनेको छ । विश्वको कुनै पनि कुना अब मानिसलाई नयाँ र पहुँच बाहिरको रहेन । अनि त यात्रा सहज र जीवनको अभिन्न अङ्ग बन्यो ।

प्रश्न त टक्क अडिएर गर्ने यात्राको पनि हो । त्यो पनि एक प्रकारको रमाइलो हुन्छ । अझ त्यहाँ श्वैर कल्पनाको प्रयोगले यस्तो यात्रालाई हराभरा बनाउन सकिन्छ । अनुभव र अनुभूति जुटाउन सके यस्तो यात्रा अझै रोमाञ्चक बन्छ । यस्तो यात्रामा राहदानी र प्रवेशाज्ञाको ‌औपचारिकता जरुरी पर्दैन । कुनै प्रकारको बन्धन रहँदैन र त यस्तो यात्रा औधी रमाइलो बन्छ । यस्तो यात्रामा बन्द महलको भित्री भाग हेर्न सकिन्छ । मान्छेका कर्म हेर्न सकिन्छ । सत्कर्म, दुष्कर्म सबै हेर्न सकिन्छ ।

रहर लाग्दा र घिन लाग्दा कर्महरू हेर्न र बुझ्न सकिन्छ । मान्छेको मन हेर्न, रहर हेर्न सकिन्छ । एउटै मान्छेलाई अनेक कोणबाट गन्न सकिन्छ । मान्छेलाई क्लिष्ट र शिष्ट पनि बनाउन सकिन्छ । मान्छेलाई सरल र जटिल जताबाट नाप्न सकिन्छ । त्यसैले यस्ता यात्रा अनुभूत गर्नसके रमाइला हुन्छन् तर फगत अनुभूत गर्न सकिन्छ । अनुभव गर्न भने सकिँदैन ।

त्यसो त यात्राका अनेक उद्देश्य हुन्छन् । दिशा र गन्तव्य अनेक हुन्छन् । आफ्नो उद्देश्य र गन्तव्यका आधारमा प्राप्तिले सन्तुष्टि निर्धारण गर्दछ । सन्तुष्टि पनि भोग र अनुभूतिमा भर पर्दछ । त्यसैले यात्रा जसरी पनि हुन्छ र सन्तुष्टि जसरी पनि प्राप्त हुन्छ , फगत उपभोगको तरिकामा मात्र भर पर्दछ ।

मैले हेरेको छु । दौडनेहरु हेरेको छु । दौडिइरहेका पनि हेरेको छु । टाकुरामा चढेका हेरेको छु । टाकुराबाट खसेका पनि देखेको छु । नोक्सानको जोखिम छलेको टक्क उभिनुलाई मैले ठीक पाएको छु । हो म टक्क उभिएको छु । हेर्दै छु ।

यात्रामा मैले घोडाहरूको दौड हेरेको छु । धूलो उडेको देखेको छु । टापको टक–टक आवाज सुनेको छु । धूलो ब्यहोर्न अभ्यस्त भएको छु । टापलाई त संगीत नै ठानिदिएको छु । हो, घोडाहरू दौडिइरहेछन् । म हेर्दैछु । टापहरू बजिरहेछन्, म सुन्दै छु । यात्रामा घोडाहरू बग्रेल्ती देख्दा टापहरूको संगीत बेजोडको सुनिँदो रहेछ । म हेर्दैछु र सुन्दैछु । यो यात्रा हो । म टक्क उभिएको छु ।

(उदासीको वालबाट साभार)

          September 26, 2020 11:16 am | मुख्य समाचार,साहित्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...