२०८० फागुन १९, शनिवार , ०४:३३:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीद्धारा सुकेपोखरी–ढुंगेसाँघु सडक कालोपत्रेको शिलान्यास

सोमवार, फागुन १२, २०७६

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गरेका छन् । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार शिलान्यास गरिएको हो ।

शिलान्यसपछि स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताए । ‘यो ६५ किलोमिटर सडक बनेपछि शहरमात्र होइन, गाउँको पनि विकास हुन्छ । त्यसैले समृद्धि ल्याउँछ’ प्रधानमन्त्री ओलीको भनाई थियो । उनले विकास र समृद्धिको युग शुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार नै आफ्नो ६९औँ जन्मोत्सव जन्मघर इवा पुगेर मनाएका छन् । जन्मोत्सव मनाउन उनीसंगै पिता मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधर राई लगायत ठूलो संख्यामा सर्वसाधारण ओली जन्मस्थल पुगेका थिए ।

आइतबार शिलान्यास गरिएको मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने सो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ । पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले जानकारी दिएका छन् ।

क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको पनि मन्त्री नेम्वाङले बताए ।

सम्बन्धित खबर