२०८१ भदौ १५, शनिवार , ०१:४९:१० बजे

Sajhamanch
'

दाहाल र राजवंशीलाई पत्रकारिता पुरस्कार प्रदान

बिहिवार, वैशाख ७, २०८०

झापा । सम्भवतः पत्रकारहरुले नै स्थापना गरेको कोषबाट नेपालमा सबैभन्दा ठूलो नगद राशिको पत्रकारिता पुरस्कार झापामा नारी सञ्चार गृहले वितरण सुरु गरेको छ ।

बुधबार नारी सञ्चार गृहले बिर्तामोडमा एक विशेष कार्यक्रमको आयोजना गरी जिल्लाका दुईजना पत्रकार महिलालाई पुरस्कृत गरेको हो ।

नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कारबाट साबित्रा दाहाललाई एक लाख एक हजार १०० रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ । यो अंकको पुरस्कार राशि सम्भवतः नेपालमा पत्रकारहरुकै संस्थाबाट पहिलो पटक वितरण गरिएको हो ।

नेपालका पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलोपटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित नारी सञ्चार गृहको संस्थापक अध्यक्ष हुन् । उनी प्रेस चौतारी नेपालको निर्वाचन आयोगका सदस्य पनि हुन् ।

त्यस्तै युवा पत्रकारिता पुरस्कार सुस्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको हो ।

युवा पत्रकारिता पुरस्कार महिलाको विषयमा कलम चलाउने एकजना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन् । महिला वा पुरुष पत्रकारलाई प्रोत्साहनका लागि प्रत्येक दुई वर्षमा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने सिवाकोटीले बताइन् ।

उनका अनुसार नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गर्ने संस्थाको नीति छ ।

नारी सञ्चार गृहले ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन् । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्यमा पद हस्तान्तरण एवम् पुरस्कार हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

सम्बन्धित खबर