२०८१ पौष ७, आइतवार , ०४:०३:४४ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार

आइतवार, चैत ३०, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ ।

प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोस सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपाल कै अग्रणी तथा सामाजिक क्रियाशीलताका लागि विश्वकै नमूना सहकारी संस्था मानिन्छ । कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि स्वास्थ्य कवचसहित आइसोलेसन र क्वारेन्टाइनमा बस्ने कोरोना आशंकितका लागि संस्थाले यसअघि नै ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको छ ।

बिर्तामोड वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकाले कोरोना रोकथामका लागि बनाएको कोषमा आज आइतबार रकम जम्मा गरेको हो । संस्थाका सहसचिव ज्ञानुनाथ मैनाली, सञ्चालक सदस्य शंकर रिजाल, बिर्तामोड कार्यालयका समिति संयोजक राम रोका, बिर्तामोड कार्यालय प्रमुख घनश्याम रायासहितको टोलीले नगरपालिकामा आएर नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै सहाराका सञ्चालक सदस्य शंकर रिजालले नगर क्षेत्रमा बसोबास गर्ने कोही मानिस भोकभोकै बस्न नपरोस् । नगरबासी एवम् स्वास्थ्य र सुरक्षाकर्मी कसैलाई कोभिड–१९ संक्रमण देखिएमा तत्काल उपचार गर्ने ब्यवस्था मिलाउन नगरपालिकाको साथमा सहारा नेपाल रहने प्रतिवद्धता जनाए ।

आजै बिर्तामाड ६ बुद्धनगरटोलमा रहेको बुद्धनगर बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष युवराज प्रसाईले १६ हजार रुपैयाँ उक्त कोषमा जम्मा गरेका छन् । यस्तै धनलाभ बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट व्यवस्थापक पवित्रा मगरले पनि ११ हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

सहारा नेपालको चेक ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले समाजका हरेक क्षेत्रमा अनेकन कार्यक्रमहरु गरी सामाजिक योगदान गरिरहेको सहाराले नगरबासी विपन्न परिवारको राहतका लागि ठूलो रकम सहयोग गरेकोमा आभार प्रकट गरेका छन् । नगरक्षेत्रमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरुले सामाजिक उत्तरदायित्वको ख्याल नगरेको भन्दै उनले तिनलाई उडुसको संज्ञा दिन पनि भ्याए ।

बैंकहरु उडुस हुन्, यिनले ग्राहकाको शरीरमा पसेर निरन्तर रगत चुसिरहेका छन् । तर सहकारी संस्थाहरुले आपत विपदमा समाजको हेरचाह गरिरहेका छन् । अहिले हजारौं विपन्नको घरमा बिहान बेलुका चुल्हो नबलिरहेको यथार्थलाई बुझेर सहाराले प्रदान गरेको उक्त रहकले कम्तीमा एक सय ७१ परिवार लाभान्वित हुने पनि नगरप्रमुख शिवाकोटीले बताए ।

नगरपालिका अन्तरगत १३४ वटा सहकारी संस्थाहरु रहेकोमा आज चैत ३० गते मध्यान्ह १२ बजेसम्ममा ४७ वटा संस्थाले नगरपालिकाको कोषमा नगद तथा जिन्सी जम्मा गरेका छन् । नगरपालिकाका शाखा अधिकृत डिल्ली दाहालका अनुसार १७ लाख ४७ हजार ६१७ रुपैयाँ नगद, २ लाख रुपैयाँको चामल र एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहकारीका तर्फबाट सहयोग जुटेको हो । उक्त कोषमा अब सहकारीको योगदान साढे २० लाख नाघेको छ ।

यसैबीच, सहाराको लक्ष्मीपुर र सुरुङ्गा सेवा केन्द्रको संयुक्त आयोजनामा आजै एक लाख ११ हजार रुपैयाँको चेक कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पनि हस्तान्तरण गरिएको छ । साकोसका सञ्चालक समिति सदस्य पदम भट्टराईले नगरप्रमुख तथा उपप्रमुख मञ्जु प्रसाईलाई चेक प्रदान गरेका हुन् ।

सहारा साकोसले अर्जुनधारा, शिवसताक्षी, मेचीनगर नगरपालिकालाई १ लाख ११ हजारका दरले र बिर्तामोड नगरपालिकालाई १ लाख ७१ हजार रुपैयाँ, र बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपैयाँ राहत वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताएका छन् ।

सम्बन्धित खबर