२०८१ पौष २३, मङ्गलवार , ०१:४७:४७ बजे

Sajhamanch
'

लखनपुर खानेपानीका उपभोक्तालाई चैत–वैशाखको पानी महशुल आधामात्र

बिहिवार, चैत २७, २०७६

कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम जारी छ ।

हिजो बुधबारमात्र लखनपुर खानेपानी उपभोक्ता संस्था, एनएमसी झापा, र कर्मणी साकोसले नगद तथा जिन्सी सामान प्रदान गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन् ।

गाउँपालिकाको राहत कोषमा लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट दुई लाख ५५ हजार रुपैयाँको चेक जम्मा भएको छ । उपभोक्ता समितिका अध्यक्ष उषा भण्डारीले गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई सो चेक हस्तान्तरण गरेकी हुन् ।

चेक हस्तान्तरण पछि अध्यक्ष भण्डारीले खानेपानीका उपभोक्तालाई दुई महिनाको खानेपानी महशुलमा आधा रकम छुट दिइने निर्णय भएको जानकारी पनि दिएकी छन् । लकडाउनका कारण उपभोक्तालाई आर्थिक समस्या भएको महसुस गरी २०७६ साल चैत र २०७७ वैशाख महिनाको पानीको न्यूनतम महशुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको भण्डारीले बताएकी हुन् ।

त्यसैगरी गाउँपालिकाको राहत कोषमा झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २००० केजी चामल हस्तान्तरण गरेको छ । लकडाउनका कारण अतिविपन्न र ज्याला मजदूरी गरेर छाकटार्ने परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राहत कोषमा चामल जम्मा गराएको संस्थाको केर्खा शाखा कार्यालयगत समितिका संयोजक अग्निप्रसाद कोइरालाले जानकारी दिए ।

यस्तै कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाले रहात कोषमा ७ हजार १०५ रुपैयाँ जम्मा गरेको छ । संस्थाका अध्यक्ष त्रिलोचन गौतमले उक्त रकम गाउँपालिकाको कोषलाई प्रदान गरेका हुन् ।

योसँगै कमल गाउँपलिकाले स्थापना गरेको कोभिड–१९ रात कोषमा ४० लाख ८१ हजार १७ रुपैयाँ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । सोमध्ये १० लाख रुपैयाँ गाउँपालिकाले कोषमा राखेको हो ।

सम्बन्धित खबर