२०८१ असोज ३, बिहिवार , ०७:०६:०९ बजे

Sajhamanch
'

झापामा सहकारीहरु सदस्य सेवा प्रवाहमा सम्वेदनशील बन्दै : हप्ताको दुई–तीन दिन वित्तीय कारोबार गरिँदै

बुधवार, चैत २६, २०७६

ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll

बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती गर्न क्रमशः सेवा सुचारु गर्न थालेका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले हप्ताको तीन दिन वित्तीय सेवा प्रवाह गर्न थालेको एक साता पछि शिखर बचत तथा ऋण सहकारी संस्था र सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडले हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा प्रवाह गर्ने निर्णय गरेका छन् ।

एनएमसीले आफ्ना ३८ वटै कार्यालयमा हरेक हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो ११ बजेदेखि २ बजेसम्म बचत कारोबार सञ्चालन गरिरहेको छ । यस्तै शिखर साकोसले आइतबार र बुधबार ११ बजेदेखि १ बजेसम्म दुई दिन कार्यालयमार्फत् सेवा दिने आज निर्णय गरेको हो ।

बिर्तामोड कै सतासी बहुमुखी सहकारी संस्थाले मंगलबारको निर्णयानुसार मंगलबार र बिहीबार १० बजेदेखि २ बजेसम्म वित्तीय कारोबार सञ्चालन गर्नेछ । सो संस्थाको सहकारी पसल भने आइतबार, मंगलबार र बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म खोल्ने निर्णय भएको व्यवस्थापक सन्तोष श्रेष्ठले जनाएका छन् ।

शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखेर सामाजिक सञ्जाल मार्फत् सूचना दिने सदस्यहरुलाई घरघरमै सेवा दिँदै आएको शिखर साकोसले अब हप्ताको दुई दिन कार्यालयबाटै सेवा दिने निर्णय गरेको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । संस्थाको मुख्य कार्यालय बिर्तामोड तथा सेवा केन्द्रहरु गरामनी र राजगढमार्फत् सदस्यहरुले वित्तीय सेवा पाउने अध्यक्ष राउतले बताएका हुन् ।

यसैबीच शिखर साकोसले संस्थागत सामजिक उत्तरदायित्व अन्तरगत तीनवटा स्थानीय तहले स्थापना गरेको कोषमा दुई लाख ८९ हजार ७५० रुपैयाँ बराबरको खाद्यान्न जम्मा गर्ने निर्णय भएको अध्यक्ष राउतको भनाई छ । उनका अनुसार बिर्तामोड नगरपालिकालाई एक लाख ६१ हजार, अर्जुनधारा नगरपालिकालाई ५१ हजार र बाह्रदशी गाउँपालिकालाई ७७ हजार ७५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिनेछ ।

सहकारीको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सतासी बहुमुखी सहकारी संस्थाले बिर्तामोड, अर्जुनधारा, कनकाई र मेचीनगर नगरपालिका तथा हल्दिबारी गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण राहथ कोषमा ५० हजारका दरले सहयोग गर्ने निर्णय भएको जनाइएको छ ।

सम्बन्धित खबर