२०८१ कार्तिक २, शुक्रवार , ०५:०६:४४ बजे

Sajhamanch
'

कोरोनासँग पराजित विश्व चर्चित व्यक्तित्वहरु

शनिवार, चैत २२, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए । उनको यो सन्देश अफवाह फैलाउने भनिएको थियो । वेनलियाङको सूचित गराएको एक महिनापछि वुहान सहरमा कोरोना भाइरसले महामारीको रूप लियो । त्यसपछि मात्र कोरोना भाइरसप्रति सचेतना अपनाइएको हो ।

३४ वर्षीय डा. वेनलियाङले सामाजिक सञ्जालबाट कोरोना भाइरससम्बन्धी जानकारी गराएका हुन् । त्यसवेला उनलाई समाजमा भ्रम फैलाउने काम गरेको भनी प्रहरीले पक्राउ गर्‍यो। कोरोनाको उद्गमस्थल वुहान सहर सामान्य जीवनमै आइसकेको छ । विश्वमा यसले आतंक मच्चाएको छ । इटाली र स्पेनमा प्रतिघन्टा ४० व्यक्तिको निधन भइरहेको छ । इटाली र स्पेनले कोरोना भाइरसमाथि नियन्त्रण लिन सकिरहेका छैनन् ।

अहिले संसारभरि १० लाख ६२ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । २ लाख २० हजार जना भन्दा बढीले स्वास्थ्यलाभ गरेका छन् । वल्डोमिटरअनुसार शुक्रबारसम्म ५४ हजार २९३ जना व्यक्तिले ज्यान गुमाइसकेका छन् । कोरोनाले लिएका चर्चित व्यक्तिहरूको यस्ता छन् ।

प्रा.डा. जेम्स टी गुडरिच (चर्चित अमेरिकन न्युरोसर्जन)

अमेरिकाका प्रख्यात न्युरोसर्जन प्रा.डा. जेम्स टी गुडरिचको पनि कोरोना भाइरस संक्रमणबाट गत सोमबार निधन भयो । मार्चको तेस्रो सातामा ७३ वर्षीय डाक्टर गुडरिचलाई सामान्य ज्वरो आएको थियो । उनी अस्पतालमा भर्ना हुन पुगे । अस्पतालमा गरिएका परीक्षणमा उनको शरीरमा कोरोना भाइरस संक्रमण फैलिसकेको चिकित्सकहरूले जानकारी दिए । उपचारकै क्रममा विश्वले एक चर्चित न्युरोसर्जनलाई गुमायो । सन् २००४ मा उनी र उनको टोली मिलेर टाउको जोडिएको जुम्ल्याह बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो । यही ऐतिहासिक शल्यक्रियापछि उनी संसारभरि प्रसिद्ध भए ।

डा. गुडरिचले फिलिपिन्सको टाउको जोडिएको जुम्ल्याह कार्ल र क्लारेन्स अगुएरीको शल्यक्रिया गर्दा विशेष प्रविधि अपनाएका थिए । यो शल्यक्रिया गर्दा उनलाई १६ जना चिकित्सकहरूको साथ थियो । यसैगरी, २०१६ मा ज्याडन र म्याकडनल्डको जोडिएको टाउको शल्यक्रिया पनि उनले नै गरेका थिए । ज्याडन जुल्याहाको शल्यक्रियामा डा. गुडरिचको टोलीमा ४० डाक्टर संलग्न थिए । चिकित्सक विज्ञानमा डा. गुडरिच एक अद्भूत क्षमतावानका रूपमा चिनिन्छ ।

ली वेनलियाङ कोरोनाको जानकारी दिने पहिलो डाक्टर

चीनको वुहानबाट कोरोना भाइरस उत्पत्ति भएको थियो । यो भाइरससम्बन्धी जानकारी गराउने पहिलो व्यक्ति नै डाक्टर ली वेनलियाङ हुन् । कोरोनाबाट संक्रमित हुँदा उनको उपचार आपत्कालीन अवस्थामा गरिएको थियो । संक्रमण भएको एक सातापछि अर्थात् २४ माघमा उपाचारका क्रममै उनको निधन भयो । उपचारार्थ समयमै उनले बेडबाट कोरोना भाइरससम्बन्धी संसारलाई जानकारी दिएका थिए ।

३४ वर्षीय वेनलियाङले सामाजिक सञ्जालबाट कोरोना भाइरससम्बन्धी जानकारी गराएका हुन् । त्यसवेला उनलाई समाजमा भ्रम फैलाउने काम गरेको भनी प्रहरीले पक्राउ गर्यो । डाक्टर वेनलियाङले चेतावनी दिएको एक महिनापछि वुहानमा कोरोना एक महामारीका रूपमा फैलियो । कोरोना भाइरस हल्ला फैलाएको आरोप लागेका डाक्टर वेनलियाङ पछि नायक नै बने ।

लोरेन्जो सान्ज रियल म्याड्रिड, पूर्वअध्यक्ष

स्पेनिस महारथी क्लब रियल म्याड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्ज कोरोना भाइरसबाटै संसारबाट बिदा भए । कोरोना संक्रमण देखिएको चार दिनपछि नै ७५ वर्षीय लोरेन्जोले अस्पतालमै अन्तिम सास फेरे । विश्व खेलकुदमा कोरोनाबाट निधन भएका व्यक्तिमध्ये लोरेन्जो चर्चित व्यक्तित्वमा पर्छन् ।

सन् १९९५ देखि २००० सम्म लोरेन्जो म्याड्रिडका अध्यक्ष बनेका थिए । उनको कार्यकालमा रियलले युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग जितेको थियो । उनकै कार्यकालमा रियल २८ वर्षपछि च्याम्पियन्स लिगको च्याम्पियन्स बन्यो । लोरेन्जोको पाँचवर्षे कार्यकालमा रियलले प्रमुख ६ फुटबल उपाधि जितेको थियो । जसमा दुईपटक त च्याम्पियन्स लिग नै थिए । क्लबको स्टान्डर्ड कायम राख्न राम्रा खेलाडी भित्र्याउनु पर्ने अवधारणा उनले आफ्नो कार्यकालमा प्रतिपादन गरे । उनले तत्काल बाज्रिलका डिफेन्डर रोबर्टो कार्लोसलाई अनुबन्ध गर्न सफल भए ।

फ्लोरयड कार्डोज विश्व चर्चित सेफ (स्वादिष्ट परिकार बनाउने)

कोरोना भाइरसबाटै विश्व चर्चित सेफ (स्वादिष्ट खाना बनाउने) प्mलोयड कार्डोजको निधन मार्चको तेस्रो साता भयो । कार्डोजको निधनसँगै स्वादिष्ट खाना बनाउने क्षेत्रमा ठूलो क्षति भएको बताइन्छ । अमेरिकाको न्यू जर्सीको माउन्टेन साइट मेडिकल सेन्टरमा उनी आपmैं उपचारका लागि पुगेका थिए । १८ मार्चमा अस्पताल पुगेका कार्डोजको परीक्षणमा कोरोना भाइरस लागेको पत्ता लाग्यो । कोरोनाविरुद्ध लगातार आठ दिन लडेका ५७ वर्षीय कार्डोजले आफ्नो प्राण त्यागे ।

विश्वमै थोरै सेफले उत्कृष्ट सेफ मास्टर्स उपाधि पाएका छन् । त्यसमध्ये उनी पनि एक थिए । उनी कार्यरत हंगर इन्क हस्पिटालिटीले विश्वमै एक उत्कृष्ट परिकार बनाउने व्यक्ति गुमाएको बताएको छ । भारतको मुम्बईमा हुर्किएका कार्डोज स्विट्जरल्यान्डको लेस रोचेस कुलिनरी स्कु्लमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी अमेरिकामै बसे । सेफका रूपमा उनले पहिलोपटक भारतकै तबला रेस्टुरेन्टमा काम गरेका थिए ।

मारिया टेरेसा स्पेनिस राजकुमारी

कोरेना भाइरसका कारण हाइप्रोफाइनल व्यक्ति गुमाउनेमध्ये स्पेनकी राजकुमारी मारिया टेरेसा पर्छिन् । ८६ वर्षको उमेरमा राजकुमारी टेरेसाको कोरोना भाइरस संक्रमणबाट निधन भयो । स्पेनको पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी टेरेसा आफ्ना भान्जा तथा भान्जीसँगै पेरिसमा बस्दै आइरहेकी थिइन् । राजपरिवारमा कोरोना भाइरसले ज्यान गुमाउने विश्वकै उनी पहिलो व्यक्तित्व भएको एजेन्सीहरूको भनार्इ छ । सन् १९३३ मा म्याड्रिडमा जन्मेकी टेरेसा म्याड्रिडकै एक विश्व विद्यालयमा प्रोफेसरका रूपमा काम गरेकी थिइन् ।

योसुनोरी सिमुरा चर्चित जापाजिन हास्य कलाकार

योसुनोरी सिमुरा जापानकै चर्चित हास्य कलाकार हुन् । जापानमा उनी सिमुराभन्दा पनि केन सिमुरा नामले प्रख्यात थिए । मार्चको तेस्रो साता कोरोना भाइरसबाट संक्रमित भएपछि सिमुरा टोकियो अस्पतालमा भर्ना भएका थिए । सुरुवातमा उनको अवस्था सामान्य नै थियो । उपचारका क्रममै उनलाई निमोनियाले समात्यो । ७० वर्षका सिमुराले भाइरसविरुद्ध लड्न सकेनन् । उपाचारका क्रममै उनको निधन भयो । संक्रमित हुनुअघि उनी गड अफ किनिमा चलचित्रको सुटिङमा व्यस्त थिए । सिमुरा संक्रमित भएपछि सुटिङसमेत रोकियो । सिमुराले जापानको फुजी टेलिभिजनमा सिमुरा द नाइट कार्यक्रम चलाउँदै आइरहेका थिए ।

(एजेन्सीहरूको सहयोगमा नयाँपत्रिकाले तयार पारेको समाचार यहाँ साभार गरिएको छ ।)

सम्बन्धित खबर