२०८१ असोज ३, बिहिवार , १०:४८:०४ बजे

Sajhamanch
'

सहारा नेपाल २५औं वर्ष प्रवेशः करोडौं रुपैयाँको राहत र सहयता घोषणा

शुक्रवार, चैत २१, २०७६

झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ ।

प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र भएको तथा झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल आज चैत २१ गतेदेखि रजतवर्ष प्रवेश गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले हस्ताक्षर गरी जारी गरिएको घोषणा पत्रमा तीनवटा विशेष कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

कोभिड–१९ संक्रमण हुनबाट नेपाली जनतालाई बचाउन नेपाल सरकारले लकडाउनको घोषणा गरेकाले रजत वर्ष महोत्सवको सुरुवात औपचारिक गर्न नसके पनि सदस्य एवम् समुदाय लक्षित सहयोग घोषणा गरेको कार्यकारी प्रमुख गिरीले जनाएका छन् ।

विश्वव्यापी संक्रमण फैलिएको कोरोना भाइरसबाट जनतालाई बचाउन नेपाल सरकारले गरेको लकडाउनको घोषणालाई पालना गर्न सबै सदस्यहरुलाई अपील गर्दै वर्तमान जटिल परिस्थितिमा सदस्यहरु तथा समाजको सहारा बन्न राहत घोषणा गरिएको हो ।

घोषित राहत र सहयता

  • संस्थामा सदस्य रहेका अतिविपन्न परिवार तथा लघुवित्त तर्फका सदस्यहरुलाई दुई महिना अवधिका लागि पाँच हजार रुपैयाँ बिना ब्याज सापटी उपलब्ध गराउने ।
  • ऋणी सदस्यहरुले चैत महिनामा भुक्तानी गर्नुपर्ने कर्जाको सावाँ तथा ब्याज आगामी २०७७ वैशाख मसान्तसम्म बुझाउँदा हर्जाना नलाग्ने ।
  • कोभिड–१९ संक्रमणको आशंकामा प्रदेश १ भरका क्वारेन्टाइन र अस्पतालका आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरुका र विपन्न वर्गका लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने । तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा कवच (पिपिई) उपलब्ध गराउने ।

जारी घोषणापत्रमा आफ्नो संस्थामा सदस्य रहेका अति विपन्न परिवार तथा लघुवित्त तर्फका सदस्यहरुलाई दुई महिना अवधिका लागि पाँच हजार रुपैयाँ बिना ब्याज सापटी उपलब्ध गराउने उल्लेख छ । संस्थाले अधिकतम् सात करोड रुपैयाँसम्म सो प्रयोजनमा खर्च गर्ने जनाइएको छ ।

यसैगरी संस्थाका ऋणी सदस्यहरुलाई पनि किस्ता भुक्तानी तथा ब्याज एक महिना पछि तिर्न मिल्ने गरी सुविधा दिइएको छ । चैत महिनामा भुक्तानी गर्नुपर्ने कर्जाको सावाँ तथा ब्याज आगामी २०७७ वैशाख मसान्तसम्म बुझाउँदा हर्जाना नलाग्ने सुविधा घोषणा गरिएको हो ।

संस्थाले यसअघि नै सहारा कर्मचारी मानवीय सहायता कोषबाट २० लाख रुपैयाँ सहयोग घोषणा गरेर खाद्यान्न उपलब्ध गराउँदै आएको छ । तत्कालीन योजनाअनुसार कोभिड–१९ संक्रमणको आशंकामा प्रदेश १ भरका क्वारेन्टाइन र अस्पतालका आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरुका लागि आवश्यक खाद्यान्न प्रदान गरिँदै आएको हो ।

सोही कार्यक्रमलाई अझ बिस्तार गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न, सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा कवच (पिपिई) खरिद गरी प्रदान गर्न सहारा कर्मचारी मानवीय सहायता कोषमा संस्थाका तर्फबाट ३० लाख रुपैयाँ थप गरी जम्मा ५० लाख रुपैयाँको राहत सहयोग गर्ने घोषणा भएको छ ।

सम्बन्धित खबर