२०८१ पौष ६, शनिवार , ०६:२१:५० बजे

Sajhamanch
'

वहुआयामिक व्यक्तित्वका धनी उपेन्द्र पागल

बिहिवार, चैत २०, २०७६

माता नरमाया बस्नेत र पिता श्रीध्वज बस्नेतका सुपुत्रका रुपमा उपेन्द्र पागलको जन्म २००३ साल वैशाख २३ गते सुनसरी जिल्लाको मधेसा गाविस वडा नं १ मा भएको हो । २०२० सालमा सम्पूर्ण मध्यमा, २०३२–३३ सालमा शास्त्रीको परीक्षा प्राइभेट परीक्षार्थीका रुपमा सहभागी भई उच्च शिक्षालाई अघि बढाएका हुन् उपेन्द्र पागलले । २०४७ सालमा नेपालीमा स्नातकोत्तर र २०५४ सालमा एक वर्षे वि. एड. गरेका उपेन्द्र पागललेको जीवनको उर्वर समय निजामती प्रशासन सेवामा समर्पित भएको देखिन्छ ।

२०२५ साल श्रावण महिनामा नायव सुव्वाबाट निजामती सेवामा प्रवेश गरेका पागल २०६१ साल चैत्र महिनासम्म निजामती सेवामा कृयाशील रहेका थिए । त्यसो त यसभन्दा अघि उनले अस्थायी रुपमा सुनसरी जिल्ला अन्तर्गत मधेशा गाउँ पञ्चायतमा २०२० सालमा गाउँ पञ्चायत सचिवको रुपमा काम गरेको र एकवर्षको अवधिमा मधेशा गाउँ पञ्चायतलाई नमूना गाउँ पञ्चायत बनाउन सफल भए वापत जिल्ला पञ्चायत बाट ३ ग्रेड थप गरी आफू पुरस्कृत भएको र तत्कालीन सो गाउँ पञ्चायतको प्रधानपञ्चलाई पनि पुरस्कारसहित सम्मान गरिएको घटना पागलको स्मृतिपटमा ताजै रहेको छ।

त्यसपछि पागलको सरुवा जिल्ला पञ्चायत सुनसरीमा प्रचार अफिसर पदमा हुन्छ। त्यहाँ पनि इमान्दार भएर राम्रो कार्य गरे वापत ३ ग्रेड थपिएको कुराकानीको क्रममा पागलले बताएका थिए । जिल्ला पञ्चायत सुनसरीमै कार्यरत रहेको अवस्थामा नायव सुव्वा पदमा लोकसेवा परीक्षा उत्तीर्ण गरी सुनसरी कै धरानस्थित धरान केन्टेन्मेन्ट हुलाक कार्यालयमा हुलाक हाकिम पदमा पोष्टिङ हुन्छ उपेन्द्र पागलको । त्यसपछि क्रमशः हवाई कार्यालय र सूचना केन्द्र हुँदै २०५२ सालमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा सरुवा भएपछि पागलले सुकुना वहुमुखी क्याम्पस मोरङ्गमा अध्यापन गर्न पनि भ्याएका छन् ।

                              देवीचरण भण्डारी ‘सरोज’

२०६१ सालमा जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट सेवा निवृत्त भएका पागल २०६६ सालमा सुकुना बहुमुखी क्याम्पसबाट पनि सेवा निवृत्त हुन पुग्छन् । निजामती सेवामा रहँदै पागलले एउटा असल चित्रकारको परिचय बनाइसकेको देखिन्छ। त्यसो त पागल विद्यार्थीकाल देखि नै अर्थात् २०१४–१५ सालदेखि चित्रकारिताको अभ्यासतर्फ आकर्षित भै आफ्नो क्षमता प्रदर्शन गर्न थालिसकेका थिए। विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा २०१८ सालमा पुरस्कृत भएपछि भने उनको चित्रकारिता अभ्यास निरन्तर अघि बढ्दै गयो । जसले उनलाई एउटा स्थापित चित्रकारको रुपमा चिनायो । सामुहिक चित्रकला प्रदर्शनी तथा एकल चित्रकला प्रदर्शनीसमेत दर्जनौं पटक गरिसकेका पागलका कलाकृतिहरु अझै पनि झापा, मोरङ, सुनसरी, धनकुटा, धनुषा, सप्तरी र काठमाडौं लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा सुरक्षित रहेको देख्न सकिन्छ । खोजी गर्दै जाँदा पागलले निम्नानुसारका साहित्यिक पुस्तकहरु तथा पत्रपत्रिकाहरुका निम्ति आवरण चित्र समेत बनाएको पाउँछौं ।

  • अच्युत घिमिरेको लघुकथा सङ्ग्रह शिखर चढिरहेको मान्छेको निम्ति ५१ वटा वस्तुगत चित्रहरु तयार गरी २०६१ सालमा प्रकाशित भएका छन्।
  • शारदा प्रसाद कोइरालाको नवीकृत लोककथा सङ्ग्रहका निम्ति २७ वटा चित्र सज्जा गरी २०६३ सालमा प्रकाशित भएको देखिन्छ।
  • देवीचरण भण्डारी “सरोज” को सानी बैनी बाल कविता सङ्ग्रह २०६५ मा ५३ वटा चित्र तयार गरी प्रकाशित भएको देखिन्छ।
  • सोमराज अभयको बिद्रोही काले महाकाव्यको निम्ति आवरण सहित २५ वटा चित्र सज्जा गरी प्रकाशित भएको छ।

मान्छे भएर जन्म लिएपछि मान्छेले समाज र राष्ट्रको निम्ति सके जति केही न केही गर्नैपर्छ भन्ने मान्यता राख्ने सादा जीवन उच्च विचारका धनी पागलको व्यक्तित्व वहुआयामिक व्यक्तित्वको रुपमा लिन सकिन्छ । उनको व्यक्तित्वलाई यसरी चित्रण गर्ने प्रयास गरिएको छ ।

१. चित्रकार व्यक्तित्वः जसका वारेमा माथि नै उल्लेख भैसकेकाले यहाँ एउटा राम्रो चित्रकारको रुपमा उनले पाएका मान सम्मान तथा पुरस्कारका वारेमा मात्र संक्षेपमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
— चित्रकला लेखन तथा अभ्यासको माध्यमबाट पागल २०१८ सालमा विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा पुरस्कृत,
— २०२० सालमा सालमा सुनसरी जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा पुरस्कृत,
— २०३३ सालमा श्री ५ वीरेन्द्र शुभजन्मोत्सव समारोहमा तृतीय स्थान प्राप्त गरी पुरस्कृत,
— २०३३ सालमै नेपाल जेसीजद्वारा कोशी अञ्चल स्तरीय चित्रकला प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरी पुरस्कृत,
— २०३४ सालमा कोशी अञ्चल स्तीय चित्रकला प्रतियोगितामा पुरस्कृत,
— २०५२ सालमा कमर्सियल आर्टिष्ट सङ्घ सुनसरीद्वारा सम्मानित,
— २०५८ सालमा सालमा कला कार्यशाला विराटनगरबाट प्रशंसित
— २०६९ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंद्वारा सम्मानित ।

२. साहित्यिक व्यक्तित्वः पागलको चित्रकारी व्यक्तित्व र साहित्यिक व्यक्तित्व लगभग समानरुपले अघिबढेको पाइन्छ। यद्यपि साहित्यिक व्यक्तित्व कै पल्ला भारी हो कि जस्तो लाग्छ । यसो भनेर उनको कलाकारिताको व्यक्तित्वलाई कमजोर देखाउन भने किमार्थ खोजेको होइन । पागलको साहित्यिक यात्राको प्रारम्भिक विन्दू २०१६ लाई मानिएको छ । यसरी हेर्दा पागलको कलाकार व्यक्तित्व साहित्यिक व्यक्तित्वभन्दा जेठो देखिन्छ ।

यद्यपि साहित्यिक व्यक्तित्वले फड्को मारेको देखिन्छ । २०१६ सालमा ‘अत्याचार’ शीर्षकको कथा सर्वप्रथम प्रकाशित भएको र कवितातर्फ भने सुनसरी साहित्यिक एकाडेमीको सुनसरी नामक पत्रिकामा पहिलो कविता ‘मेरो यौवन र म’ प्रकाशित भएको उनी संस्मरण सुनाउँछन् । लामो समयसम्म विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा फुटकर रुपमा आफ्ना रचनाहरु प्रकाशित हुदै आएको कुरा पनि सम्झन पुग्छन् उनी । पुस्तकाकारको रुपमा भने उनको पहिलो कृति २०४५ सालमा सार्वजनिक भएको देखिन्छ ।

उनको साहित्यिक व्यक्तित्वलाई विश्लेषण गर्दा नेपाली साहित्यको विभिन्न विधागत व्यक्तित्वहरु देख्न सकिन्छ उपेन्द्र पागलमा । कथाकार व्यक्तित्व, कवि व्यक्तित्व, समालोचक व्यक्तित्व, निबन्धकार व्यक्तित्व आदि उनका साहित्यिक व्यक्तित्वहरु हुन् । पुस्तकाकार रुपमा भने उनको पहिलो कृति शीतका थोपा खण्ड काव्य २०४५ प्रकाशित भएको हो। जुन कृतिमा उनलाई २०४५ सालमै प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा २०४५ सालको षडानन्द प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि पागलका विभिन्न विधाका विभिन्न कृतिहरु प्रकाशित हुँदै गए ।

उनका प्रकाशित कृतिहरु यसप्रकार रहेको देखिन्छः जीवन भोगिरहेछ (समसामयिक कविता सङ्ग्रह २०४६), यात्रा अल्मलिरहेछ (समसायिक कविता सङ्ग्रह २०४७), गोरेटोको खोजी (समसामयिक कविता सङ्ग्रह २०५४) अलमलिएका पाइलाहर (कविता सङ्ग्रह २०६२), विश्व शाक्यका ७ हास्यव्यङ्ग्य कृतिहरुको अध्ययन र मूल्याङ्कन (संयुक्त समालोचना सङ्ग्रह २०६२) उपेन्द्र पागलका निबन्धहरु (निबन्ध सङ्ग्रह २०६२) क्युरियो पसलको बुद्ध मूर्ती (सामाजिक कथा सङ्ग्रह २०६३) मोफसल समालोचना (आख्यान÷निबन्ध २०७०) मोफसल समालोचना (कविता÷काव्य २०७०)

यी त भए प्रकाशित भैसकेका कृतिहरुको विवरण । पागलका थप पाँचवटा कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेको उनको वैयक्तिक विवरणबाट थाहा हुन्छ। चक्रपथको यात्रा (कविता सङ्ग्रह), आजको निर्धो मान्छे (कविता सङ्ग्रह), सुनसरीका झाँगड जातिको संस्कृति (खोजमूलक कृति), फुटकर समालोचना (सङ्ग्रह र संस्मरणात्मक निबन्ध संङ्ग्रह) प्रकाशोन्मुख कृतिहरु हुन् ।

निरन्तर नेपाली वाङ्मयको श्रीबृद्धिमा लागिरहेका उपेन्द्र पागल विभिन्न साहित्यिक संघ–संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत पनि हुँदै आएका छन्। सबैभन्दा ठूलो पुरस्कार त नेपाल सरकारले उनलाई २०७१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य बनाएर गरेको छ । सम्मान तथा पुरस्कारको सबै विवरण परिचयको यो छोटो स्तम्भ र समयमा उल्लेख गर्न संभव छैन भन्ने ठान्छु म । समय भन्ने कुरा सबभन्दा महत्वपूर्ण र सबभन्दा गतिशील हुने हुँदा यसले एकमिनेट पनि कसैलाई पर्खेर बस्तैन भन्ने कुरा हामी सबैले बुझेकै विषय हो भन्ने लाग्छ मलाई । संक्षेपमा केही विवरण प्रस्तुत गर्ने जमर्को गरेको छु। कवि तथा साहित्यकार उपेन्द्र पागल २०४१ सालमा जिल्ला पंचायत सचिवालय झापाले आयोजना गरेको प्रतियोगितात्मक कवि गोष्ठीमा द्वितीय स्थान प्राप्त गरी पुरस्कृत भएपछि उनको साहित्य तर्फको झुकाव अझ बढेर गएको र साहित्य सिर्जनमा लाग्न प्रेरित भएको कुरा उनी सगौरव बताउँछन् ।

२०४५ सालदेखि विभिन्न साहित्यिक संघ–संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत हुँदै आएको श्रृङ्खला आजपर्यन्त जारी छ। २०४५ सालमा षडानन्द प्रतिभा पुरस्कार प्राप्त गरेपश्चात् उनले निम्नानुसारका सम्मान तथा पुरस्कार प्राप्त गरेको देखिन्छ । नवरत्न साहित्य सम्मान २०५१, (नवरङ्ग साहित्य प्रतिष्ठान धरमपुर झापा), जुही नवरत्न सम्मान २०५९ (जुही साहित्यिक पत्रिका भद्रपुर झापा), साहित्य चौतारी सम्मान २०५९ (साहित्य चौतारी बिर्तामोड), २०६१ सालमा नेपाल निजमती कर्मचारी संगठन सुनसरीबाट अभिनन्दित, २०६१ सालमै लेखनाथ पुस्तकालय चन्द्रगढी, झापाबाट सार्वजनिक अभिनन्दन गरिएको थियो । यसरी नै दोमुखा सम्मान २०६१ (दोमुखा साहित्य संगम सुरुङ्गा झापा), शान्तिका लागि राजदूत सम्मान २०६३ (युनिभर्सल पिस फेडरेसन नेपाल), जीवन स्मृति सम्मान २०६३ (जीवन स्मृति प्रतिष्ठान दमक, झापा) र २०६४ सालमा प्रतिभा उन्नयन प्रतिष्ठान विराटनगरद्वारा सम्मानित भएको इतिहास छ ।

यसरी नै महानन्द स्मृति साहित्य सम्मान २०६६ (महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवा) २०६६ सालमा अच्छा राई रसिक प्रतिष्ठान इटहरीद्वारा सम्मानित, २०६८ सालमा मकालु साहित्य समाज खाँदबारी संखुवासभाद्वारा सम्मानित, २०६८ सालमै पिण्डेश्वर विद्यापीठ धरानद्वारा साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान गरे वापत सम्मानित, २०७० सालमा प्रगतिशील लेखक संघ मोरङ्गद्वारा उपेन्द्र पागल सम्मानित भएका थिए ।

पागलको सम्मान र पुरस्कार विवरण यत्तिमा सिमित छैन । २०७१ सालमा जनसाहित्यिक मञ्च सुनसरीद्वारा सम्मानित, २०७१ सालमै जनकवि गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्र घैलाडुब्बा, झापाद्वारा सम्मानित, २०७१ सालमै सुकुना बहुमुखी क्याम्पस सुकुना मोरङ्गद्वारा सम्मान, २०७२ सालमा मधेशा सामुदायिक अध्ययन केन्द्र मधेशाद्वारा सम्मानित, २०७२ सालमै स्वर्णिम साहित्य समाज भरौल सुनसरीद्वारा सम्मानित, २०७२ सालमै प्रगतिशील लेखक संघ सुनसरीद्वारा सम्मानित, २०७२ सालमै मकालु साहित्य समाज खाँदबारी, संखुवासभाद्वारा सम्मानित, २०७३ सालमा सिद्धार्थ बोर्डिङ् मावि कोशी हरैंचाद्वारा सम्मान प्राप्त गरेको देखिन्छ ।

२०७३ सालमा उर्लावारी साहित्य समाज उर्लाबारीद्वारा साहित्यश्री सम्मानबाट पुरस्कृत तथा सम्मानित भएका थिए भने १५१औं मोती जयन्ती तथा नवौं पुस्तकालय दिवसको अवसरमा २०७३ साल भाद्र १६ गते त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगरबाट नगद राशी ३० हजार रुपैयाँसहित मोतीराम भट्ट साहित्य पुरस्कारबाट सम्मानित भएका छन्। उपरोक्त नाम र सम्मानहरु केही उदाहरण मात्र हुन्।।

संख्यात्मक हिसाबले भन्नुपर्दा वहुआयामिक व्यक्तित्व उपेन्द्र पागलले कलाकारको रुपमा ८–९ वटा सम्मान तथा पुरस्कार प्राप्त गरेको देखिन्छ भने साहित्यिक व्यक्तित्वका रूपमा ६३ वटा संघ–संस्थाद्वारा मान सम्मान तथा पुरस्कार प्राप्त गरेको कुरा उनको वैयक्तिक विवरणबाट देखिन्छ । यस हिसाबले हेर्दा उपेन्द्र पागल अब्बल दर्जाका सर्जक हुन् भन्ने कुरामा कुनै शंका छैन। सिर्जनात्मक व्यक्तित्व र समालोचकीय व्यक्तित्वमा उनी खरो ढङ्गले उत्रिएका छन् भन्ने कुराको बलियो प्रमाण उनका कृतिहरुले आफैं बोलेका छन् ।

३. सम्पादक व्यक्तित्वः कला र साहित्य सर्जकको रुपमा मात्र सीमित छैन उनको व्यक्तित्व। विभिन्न साहित्यिक कृतिहरु र साहित्यिक पत्रपत्रिकाहरुको समेत सफलरुपमा सम्पादन पनि गरेका छन् उपेन्द्र पागलले । कतै प्रधान सम्पादक त कतै सहायक सम्पादक र कतै कार्यकारी सम्पादकको हैसियतमा आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेका छन् उपेन्द्र पागलले । उनले सम्पादन गरेका पुस्तक र पत्रपत्रिकाहरुको विवरण हेर्दा चार दर्जनभन्दा बढी विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको सम्पादन गरेको देखिन्छ । २०३५ सालदेखि सुरु भएको उनको सम्पादक व्यक्तित्व आज पर्यन्त जारी छ। यस मानेमा उनी कुशल सम्पादक पनि हुन् भन्ने बलियो आधार देखिन्छ ।

४. सामाजिक व्यक्तित्वः उपेन्द्र पागलको विभिन्न सामाजिक संघ संस्थाहरुसंग पनि आवद्धता रहेको देखिन्छ । प्रश्रित प्रतिष्ठान नेपाल, कोशी पूर्व शाखाको अध्यक्ष, ललित कलासंगम पूर्वाञ्चल विराटनगरको सल्लाहकार, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आजीवन सदस्य, नवरङ्ग साहित्य प्रतिष्ठान धरमपुर झापाको आजीवन सदस्य, जीवन स्मृति प्रतिष्ठान दमक झापाको आजीवन सदस्य, अच्छा राई रसिक प्रतिष्ठान इटहरीको आजीवन सदस्य, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान मोरङको आजीवन सदस्य, प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीको आजीव सदस्य, चेतना संरक्षण प्रतिष्ठान नेपाल, मोरङ्गको आजीवन सदस्य भएर यी संस्थाहरुमा निरन्तर कृयाशील रहँदै आएका छन् साहित्यकार पागल ।

५. प्राध्यापन व्यक्तित्वः निजामती सेवामा कार्यरत रहँदैदेखि प्राध्यापन पेशामा समेत संलग्न रहेर शैक्षिक क्षेत्रमा पनि आफूले सेवा गरेको बताउँछन् उपेन्द्र पागल । पागलले सुकुना बहुमुखी क्याम्पस सुकुना मोरङमा २०५२ सालदेखि २०६६ साल सम्म १४ वर्ष प्राध्यापन पेशामा रहेर सेवा निवृत्त भएको तथ्य उनको वैयक्तिक विवरण अध्ययन गर्दा थाहा हुन्छ । यसर्थ पागलको वहुआयामिक व्यक्तित्वमा प्राध्यापन व्यक्तित्व पनि एक हो भन्न सकिन्छ।

६. गीतकार व्यक्तित्वः त्यसो त उनले एकदर्जन जति गीत पनि लेखेका छन् र दुईवटा गीत बेलवारीका संगीतकार जे वी थुलुङद्वारा संगीतवद्ध भएको र त्यहीका लोकप्रिय गायक संजीव धिमालले गाएको यो लेखकले पनि सुन्न भ्याएको छ । यसमानेमा पागलको व्यक्तित्वमा गीतकार व्यक्तित्व पनि जोडिन आइपुग्छ।

साहित्यकार पागलका कृतित्व र व्यक्तित्वको बारेमा स्नातकोत्तर र शास्त्री तहमा समेत विभिन्न शोधार्थीहरुबाट शोधकार्य गरिएको पाईन्छ। स्नातकोत्तर तहमा तीनजना शोधार्थीहरुले शोध कार्य गरेका छन् । जीवन भट्टराईद्वारा २०६१ सालमा ‘उपेन्द्र पागलको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन’ खेमराज ओझाद्वारा २०६७ सालमा ‘उपेन्द्र पागलका कविताहरुको अध्ययन’ र जोगमाया भट्टराईद्वारा २०७० सालमा ‘उपेन्द्र पागलका कथाकारिताको अध्ययन’ रहेका छन् । यसैगरी, संस्कृत शास्त्री तहमा भवानीप्रसाद खनालद्वारा उपेन्द्र पागलका कथाकारिताको अध्ययन २०७० सालमा शोधकार्य भएको देखिन्छ।

श्रीमती बृन्दा बस्नेत र छजना छोरीहरु क्रमशः गीता क्षेत्री, मीना अधिकारी, चेतनासिं ठकुरी, रुपा बस्नेत, रत्ना बस्नेत अनि जीना निरौलाका पिता हुन् उपेन्द्र पागल । समग्रमा भन्नुपर्दा उपेन्द्र पागल नेपाली भाषा साहित्य र कलाका पुजारी हुन्, अविश्रान्त यात्री हुन् । जीवनका धेरै आरोह अवरोहरुलाई पार गर्दै आएका पागल जीवनका मोडहरुमा मृत्युलाई समेत जित्न सफल भएको कुरा बताउँछन्।

२०६३ सालमा गोमन सर्पको टोकाईबाट आकस्मिक र अकल्पनीय ढङ्गले मृत्युको मुखबाट मुस्किलले बाँचेका पागल दायाँ आँखामा जलबिन्दुको अपरेशन गरेर पनि उक्त आँखाले राम्ररी काम गर्न नसकेका कारण निकै समस्यमा परेका छन् । पछिल्लो समय उनी श्वाश प्रश्वाशको समस्याले पनि पीडित छन्। तर पनि बाँचुञ्जेल नेपाली नेपाली भाषा साहित्य र कलाको सेवामा निरन्तर लागिरहने प्रण गरेका वरिष्ठ साहित्यकार पागलको साहित्य कला संगीत र प्रज्ञिक यात्राले निरन्तरता पाउने कुरामा विश्वस्त हुन सकिन्छ ।

(भद्रपुर, झापा)

(हिजो मिति २०७६।१२।१९ गते वहुप्रतिभाका धनी आदरणीय उपेन्द्र पागलको दुःखद् निधन भएको छ। उहाँको बारेमा केही समय पहिले नै लेखेको यो प्रतिभा चिनारी लेख उहाँको सम्मानमा अनलाइनमा पोष्ट गरिएको हो।– सम्पादक)

सम्बन्धित खबर