२०८१ पौष १३, शनिवार , १०:५९:०२ बजे

Sajhamanch
'

“घरै बसेर कोरोना विरुद्ध लड्नुहोस्, भोकै मर्न दिदैनौं” : सांसद कार्की

बुधवार, चैत १९, २०७६

झापा क्षेत्र नं. १ का तीन सांसद एक ठाम

झापा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण आजसम्म ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब ७ लाख मानिसमा संक्रमण देखिएको छ । यो संख्या अप्रत्यासित रुपमा बढ्दो छ । नेपालमा हालसम्म ५ जनामा संक्रमण देखिएको छ भने त्यसमध्ये एक जना उपचार पछि निको भएका छन् । यस्तो विषम परिस्थितिलाई धैर्य र सचेततापूर्वक सामना गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चार मन्त्री राम कार्की पार्थले आग्रह गरेका छन् ।

झापा मेचीनगर ९ स्थित आफ्नै निवासमा रहेका कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सांसदहरुसँगको छलफलमा यस्तो बताएका हुन् । कार्कीले आम जनतालाई रोग विरुद्धको सरकारी अभियानलाई साथ दिन आग्रह गरेका छन् । उनले लकडाउनका कारण खाद्यन्न अभाव हुने र कतिपय अवस्थामा भोकै मर्नु पर्ने अवस्था आउन सक्ने कुराप्रति लक्षित गर्दै भने “तपाईहरु घरै बसेर कोरोना विरुद्ध लड्नुहोस्, भोकै मर्न हामी दिदैनौं ।”

संघीय सांसद कार्कीको मेचीनगर ९ स्थित निजी निवासमा बुधबार दिउँसो सम्पन्न बैठकबाट तीन तहकै सरकारलाई जनतालाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन विशेष पहल गर्ने निर्णय गरेको प्रदेश सांसद गोपाल बुढाथोकीले जानकारी दिए । सांसद बुढाथोकीका अनुसार लकडाउन प्रभावित जनतालाई राहत वितरण गर्दा एकद्वार नीति अवलम्बन गरिनेछ ।

बैठकबाट सरकारले निर्धारण गरेको विधिबाहेक जतासुकैबाट राहत वितरण गर्दा अराजकता उत्पन्न हुने भएकाले व्यक्तिगत या संस्थागत रुपमा संकलन भएका राहत सामग्रीहरुको वितरण भने वैध र एकद्वार प्रणाली अन्तरगत गर्न गराउन सम्बन्धित पक्षलाई आग्रहसमेत गरिएको छ ।

तीन तहको सरकारले विभिन्न प्याकेजमा राहतका कार्यक्रम सार्वजनिक गरिरहेका बेला सरकारी राहतका कार्यक्रमहरुलाई जनता समक्ष सहज र प्रभावकारी रुपमा पुर्याउन सम्बन्धित क्षेत्रका सांसदको ठूलो भूमिका हुने भएकाले र त्यसका लागि आवश्यक तयारी भइरहेको बैठकमा सहभागी अर्का प्रदेश सांसद श्रीप्रसाद मैनालीले बताए । विशेषगरी गरीब, विपन्न र श्रमिकहरुको अवस्था नाजुक हुनसक्ने तर्फ लक्षित गर्दै सांसद मैनालीले आआफ्ना उद्योग, व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदूरहरुको खाद्यान्नको व्यवस्थापन सोही उद्योगी र व्यापारीहरुले गर्नुपर्ने सुझाव दिए ।

यस्तो बेलामा तल्लो तहका सामुदायिक संस्था, टोल विकास संस्था, सहकारी संस्था, लायन्स क्लबहरु, लगायतका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै संघीय सांसद कार्कीले जनस्तरबाट भएका प्रयासमा जनप्रतिनिधि (सांसद) हरुको तर्फबाट योगदान रहने पनि आश्वस्त पारेका छन् । संकटको बेलामा नगरभित्रको भरपर्दो, विश्वसनीय, वैधानिक र संगठित साझा संस्थाको रुपमा रहेको मेची उद्योग वाणिज्य संघले राहत संकलन कार्यमा अगुवाई गर्दा राम्रो हुने धारणा राख्दै सांसद कार्कीले यस्ता अभियानमा साथ र सहयोग रहने पनि दोहोर्याए ।

स्थानीय सरकार अधिकार सम्पन्न भएको र आफ्नो क्षेत्रभित्र रही आफ्ना नागरिकलाई सेवा प्रवाह गर्न सासंद कार्कीको सुझाव छ । सबै सांसदहरुको एक महिनाको सेवा सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको र सो रकमसमेत स्थानीय सरकार मार्फत आउने उनको भनाई छ ।

कोरोना प्रभावितलाई दिइने राहत सामग्री प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुग्ने व्यवस्था मिलाउन सबैलाई सहयोग गर्न बैठकले निर्णय गरेको सांसद कार्कीले जानकारी दिएका छन् । कोरोना भाइरसको सन्त्रास भएका बेला सांसदहरुको स्थानीय स्तरमा भएको यो पहिलो बैठक हो । जनताप्रति उत्तरदायी बन्दै सबै स्थानीय स्तरमा सांसद तथा जनप्रतिनिधिहरुले तदारुकता देखाउन आवश्यक देखिएकैले आफूहरुले आन्तरिक पहल थालेको उनको भनाई छ ।

सम्बन्धित खबर