२०८१ पौष १२, शुक्रवार , ०७:२८:४८ बजे

Sajhamanch
'

मेची अस्पतालको आइसोलेसनमा उपचाररत युवामा कोरोना संक्रमण भेटिएन

आइतवार, चैत १६, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. पिताम्बर ठाकुरले जानकारी दिए । उनको शारीरिक स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समेत डा. ठाकुरले बताए ।

झापाको गौरदाह नगरपालिका बस्ने ३५ वर्षीय युवक कतारबाट वैदेशिक रोजगारीबाट गत चैत ४ गते घर फर्किएका थिए । फ्रान्सबाट आएकी कोरोना संक्रमित नेपाली युवतीसँग एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर चैत ११ गते स्वास्थ्यकर्मीको सम्पर्क आएका थिए ।

ती युवक कोरोना संक्रमित युवतीसँग एउटै विमान नआएको पुष्टि भए पनि आइसोलेसन वार्डमै रहेर उपचार गरिरहेका थिए । मेचीमा अहिलेसम्म आइसोलेसेन वार्डमा भर्ना भएका योसँगै दुईजनाको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशसनको भनाइ अनुसार झापामा अहिलेसम्म कोरोना भाइरस संक्रमित कोही पनि फेला परेका छैनन् । लकडाउनको पूर्ण पालना गर्ने तथा भारतीय सीमाबाट कोही पनि भित्रन नपाउने हो भने कोरोना संक्रमण नियन्त्रित हुने विश्वास स्वास्थ्यकर्मीहरूमा छ ।

सम्बन्धित खबर