२०८१ कार्तिक १, बिहिवार , ०८:४०:५५ बजे

Sajhamanch
'

लकडाउनको अवधि बढाउने सरकारको तयारी

शुक्रवार, चैत १४, २०७६

काठमाडौँ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगी व्यवसायीहरुलाई भनिसकेको बताए ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ। भारतले पनि नेपालले लगाएको भोलिपल्टै देशव्यापी लकडाउन गरेको हो ।

भारतीय लकडाउनपछि दुवै देशका सीमाबाट आवतजावत हुन नदिन सुरक्षाकर्मीले पैदल गस्ती गरिरहेका छन् । ‘भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे सोच्न सकिन्छ’ कार्यदलका ती सदस्यले भने, ‘कोरोनाको सम्भावित महामारीलाई भित्रिन नदिन सरकार हरसम्भव लागेको छ, यसमा आम नागरिकबाट सरकारलाई सहयोगको खाँचो निरन्तर आवश्यक छ।’

भारतबाट मात्रै सरकारले सीमा नाकामा निगरानी बढाएपछि ५ लाखभन्दा बढी मानिस नेपाल भित्रिएका थिए। उनीहरुबाट कोरोना भाइरस सर्नसक्ने आशंका गर्दै देशभरका प्रशासन कार्यालयलाई बाहिरबाट आएकाको निगरानी गर्न तथा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ।

लकडाउन भए पनि दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारले सुक्ष्मरुपमा काम गरिरहेको र यसमा उद्योगी व्यवसायीलाई विशेष आग्रह गरिएको कार्यदलका ती सदस्यको भनाई छ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म लगाइएको लकडाउन सबैभन्दा बढी उल्लं‍घन नेपाल–भारत सीमा नाका र सहरी क्षेत्रमा हुने गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पनि भरपर्दो र विश्वसनीय आधार बनेपछि लकडाउनबारे सोचिने बताएका छन्।

‘लकडाउन कार्यान्वयन र नागरिकको दैनिक जीवनयापनसँग सम्वन्धित उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि यसअघि नै सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेका छौं’ प्रवक्ता शर्माले भने, ‘लकडाउन नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै लगाइएको हो, सरकारले उचित समयमा हटाउँछ, त्यसबेला सम्म यसको पालना सबैले मिलेर गर्नुको विकल्प छैन।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन पालना र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न आफ्ना संयन्त्रलाई देशभर परिचालन गरिएको बताएका छन् ।

कान्तिपुरबाट

सम्बन्धित खबर