२०८१ पौष २२, सोमवार , ०९:५७:२६ बजे

Sajhamanch
'

कोरोनासँग लड्न झापामा जुट्यो दलीय एकता

आइतवार, चैत ९, २०७६

बिर्तामोड । झापाका राजनीतिक दलहरुले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन सबै जुटेरसँगै लडौं भन्ने आह्वान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले आम नागरिकमा अपील गर्दै सरकारको पनि ध्यानाकर्षण गराएका हुन् ।

आज आइतबार संवाद समूहको सचिवालय विर्तामोडमा बसेको झापाका राजनीतिक दलको संयुक्त बैठकबाट कोरोना विरुद्ध सजगता अपनाउँदै अघि बढ्ने निर्णय भएको जनाइएको छ । कोरोनाको असर नेपालमा समेत पर्नसक्ने प्रवल सम्भावना देखिएकोले अनावश्यक हल्लाको पछि नलाग्न र आतंकित नहुँन झापालीजनमा राजनीतिक दलको तर्फबाट अपील गरिएको छ ।

कसैलाई कोरोना भाइरसको शंका लागेमा चिकित्सकको सल्लाह लिने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने, भिडमा नजाने तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन र आफ्नै निवासमा क्वारेन्टाइनमा रहँदा सबैको भलो हुनेमा दलहरुले मतैक्यता छ ।

बैठक पछि दलहरुले संयुक्त विज्ञप्ती जारीगरी उपभोक्ताहरुलाई अनावश्यक खाद्यान्न संचित नर्गन र उद्योगी व्यवसायीले समेत यस विषम अवस्थामा कृत्रिम अभाव र कृत्रिम मूल्य श्रृजित हुुन नदिने व्यवस्था मिलाउन आग्रह गरेका छन् । दलहरुले अत्यावश्यक सेवाका प्रतिष्ठान पसल बाहेक जिल्लाका सबै हाटबजार केही दिनका लागि बन्द गरिदिएर सहयोग पुर्याउन अपील गरेका छन् ।

आमसंचार माध्यम र संचारकर्मीलाई कोरोनाबारे सर्वसाधारणका लागि चेतना जगाउने सामग्रीलाई प्राथमिकता दिन दलहरुको आग्रह छ । दोस्रो संयुक्त जनआन्दोलनको कोषमा रहेको सम्पूर्ण रकम यो आपतकालीन घडीमा आवश्यक तयारीका लागि खर्च गर्ने गरी मेची अंचल अस्पताल विकास कोसलाई प्रदान गर्ने पनि दलहरुले निर्णय गरेका छन् ।

विज्ञप्तिमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, तत्कालीन संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका सभापति उद्वव थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष अनुत राजवंशी, सचिव देवेन्द्रकिशोर ढुंगाना, समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनवाला राई, उपाध्यक्ष संगीता रौनियार, नेकपा मालेका केन्द्रीय सदस्य नवराज खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव केशव ओझा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व अध्यक्ष पर्शुराम मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष भरत श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम घिसिङ, नेकपाका कार्यालय सचिव शिव ढुंगेल, आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई, कांग्रेस कमल गाउँपालिका सभापति खगेन भण्डारीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्बन्धित खबर