२०८२ असार २२, आइतवार , ०४:००:४५ बजे

Sajhamanch
'

कोरोना नियन्त्रणका लागि भन्दै भारतले बन्द गर्यो पशुपतिनगर नाका

शनिवार, चैत १, २०७६

इलाम । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ।

पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो। नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

‘अनिश्चितकालका लागि नाका बन्द गरेको सीमामा रहेको भारतीय प्रहरीले जानकारी दिएको छ,’ इन्स्पेक्टर रमेश राईले भने, ‘अहिले नाकाबाट गाडी चल्न बन्द छ, टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ।’ स्थानीय भने आवश्यक कामका लागि सीमा आउ–जाउ गरिरहेको उनले बताए।

कोरोना नियन्त्रणकै लागि सूर्योदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका दुई स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिरहेका छन्। २ वटा ‘थर्मल गन’ प्रयोग गरी यहाँ दिनहुँ करिब ६ सय जनाको तापक्रम जाँच भइरहेको थियो। ‘अहिले नाका भएर छिटफुट आउ–जाउ गर्ने स्थानीयको चाहिँ तापक्रम जाँच भइरहेको छ,’ इस्पेक्टर राईले भने, ‘भारतले नाका कहिले खोल्ने भन्ने निश्चित छैन।’

हेल्प डेस्कका लागि यहाँ ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सूर्योदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्ससमेत तयार रहेको बताए।

‘एम्बुलेन्स चाहिँ हेल्प डेस्कमा राखिएको छैन तर नजिकै रहेको सबै एम्बुलेन्स आवश्यक परेका बेला प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘अहिलेसम्म साढे ६ हजार हाराहारीको तापक्रम जाँच गर्दा कसैको पनि शंकास्पद भेटिएन।’

नागरिक न्यूज

सम्बन्धित खबर