बिर्तामोड । झापाका मुख्य व्यापारी केन्द्रको रुपमा रहेको विर्तामोड यस वर्षको फागुमा सुनसान रहयो । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस त्रासले विर्तामोडका व्यापारीले पनि होली मनाउन सकेनन् ।
होलीमा विर्तामोडको मुक्ती चोकमा भिडभाड हुने गर्दछ । यस वर्ष भने मुक्ति चोक सुनान रहयो । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन ।
जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरीको अनुरोधले सर्वधासारणले गतवर्ष जस्तो होली पर्व मनाएका छैनन् ।
तराईको होली पहाडको भन्दा बृहत मनाइने गरिन्छ । होली आउनुभन्दा हप्तादिन अघि सेतो भेस्ट र कुर्ता जोहो गर्नेहरुले यो वर्ष रंग पनि खरिद गरेका छैनन् । बिर्तामोडमा रंग र टिसर्टको मारामार व्यापार गर्नेहरु समेत निरास बनेका छन् । भद्रपुर रोडमा रंग बेच्नेहरु भन्छन्, ९० प्रतिशत व्यापार घट्यो । यस्तै, हनुमान कम्प्लेक्स पूर्वमा जुस बेच्ने सनोज शाह कोरोना भाइरसका कारण होली राम्रो नमनाइएको बताउछन् । उनले भने, अरु वर्ष होलीको दिनको व्यापार दशै हुन्थ्यो, आज व्यापार छैन । यत्तिकै दिन बताउँदैछु ।
होलीको दिन बिर्तामोडमा हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो, एक व्यापारी भन्छन्, यसपालीको होली भाइरसले खत्तम पार्यो । यस्तै, भीडभाडलाई रोक्न इलाका प्रहरी कार्यालय अनारमनीले बाक्लै प्रहरी परिचालन गरेको छ ।