२०८१ कार्तिक २, शुक्रवार , ०१:४८:४३ बजे

Sajhamanch
'

टेकु अस्पतालको आइसोलेसन वार्ड भरियो, अब पाटन अस्पताल पठाइने

आइतवार, फागुन २५, २०७६

काठमाडौं । विश्‍वभर फैलिरहेको कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयाता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्ने गरिएको छ। टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएका छन्।

अब विमानस्थलमा भेटिने शंकास्पद बिरामीलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्स स्रोतले जनाएको छ। ‘टेकुमा भएको आइसोलेसन वार्ड पूरै भरिएको भन्‍ने हामीलाई खबर आएको छ’, स्रोतले भन्यो ,’अब आउने शंकास्पद बिरामीलाई हामीले पाटन अस्पताल पठाउने तयारी गरेका छौँ।‘

थप दुई शंकास्पद बिरामी भेटिए

बितेको १२ घण्टामा विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ। कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ। हाल चार नर्स, पाँचजना प्यारामेडिक्स र ११ जना डाक्टरले दुई सिफ्टमा २४ घण्टा विभिन्‍न मुलुकबाट आउने यात्रुको परीक्षण गरिरहेका छन्। त्यस्तै आइतवार विमानस्थ हेल्थ डेक्सको अनुगमनका लागि सरकारी टोली जाने भएको छ। दिउँसो प्रधानमन्त्री कार्यालय, अध्यागमन विभाग, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु अनुगमनमा जाने भएका हुन्।

सम्बन्धित खबर