२०८१ पौष ७, आइतवार , ०१:३१:२० बजे

Sajhamanch
'

कोरोना सतर्कताः बिर्तामोडका सबै अस्पतालमा भोलिदेखि हेल्थ डेक्स

शुक्रवार, फागुन २३, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ ।

नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी गराएका हुन् । ‘नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतता अपनाउन लागेका हौँ’, नगरप्रमुख शिवाकोटीले भनेका छन्, ‘यसका लागि सरोकारवाला सबै संघ–संस्था एकजुट हुन आवश्यक छ ।’

पूर्व क्षेत्रको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा मानिसहरुको उच्च आवागमन हुने भएकाले सतर्कता अपनाउन यस्तो नीति लिइएको नगरप्रमुख शिवकोटीको भनाई छ । छलफलपछि केही अस्पतालले आजैदेखि र केहीले भोलिदेखि हेल्थ डेक्स सञ्चालन गर्ने वचन दिएका छन् ।

त्यस्तै, आँखाको उपचारका लागि बिर्तामोडमा आउने भारतीय बिरामीको स्वास्थ्य परीक्षण गरेर मात्र उपचार अघि बढाइने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखिएकाले त्यस्तो गर्न लागिएको हो ।

बिर्तामोडका तीन मुख्य बस बिसौनी पूर्व बस स्टेण्ड, पश्चिम बस स्टेण्ड र इलाम स्टेण्डमा पनि हेल्थ डेक्स राखिने भएको छ । बिर्तामोडमा आइसोलेसन सेन्टर पनि स्थापना गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरिने भएको छ ।

बिर्तामोड नगरपालिकाले साना–ठूला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतता अपनाउन नगरबासीलाई आग्रहसमेत गरिएको छ । बिर्तामोडमा १० वटा निजी अस्पताल, ४ वटा आँखा अस्पताल र ३ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

सम्बन्धित खबर