दमक । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चको अन्त्य गरी आगलागी पीडितहरुलाई नगद सहयोग गरेका छन् ।
यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक रुपमा मनाउन रुची नराख्ने राईले यस पटक भने आफ्नै गाउँ लखनपुरको मंगलबारे बजारमा बुधबार साँझ भएको आगलागीका पीडित परिवारलाई नगद राहत प्रदान गरेर मनाएका हुन् । स्थानीयबासी र सञ्चारकर्मीहरुको उपस्थितीमा आगलागी पीडित चार परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले नगद राहत हस्तान्तरण गरेका हुन् ।
युवा नेता राईले केक काटेर जन्मदिन मनाउने संस्कार नेपालीको नभएकाले विशेष दिनमा पीडित परिवारलाई सहयोग गर्नु उचित हुने आफ्नो ठहर रहेकोले राहत दिइएको बताए । राहत रकम हस्तान्तरण गर्दै उनले पीडित परिवारको तत्काल पुर्नस्थापनाका लागि सरकारले जिम्मा लिनुपर्ने पनि सुझाव दिएका छन् ।
सो अवसरमा स्थानीय युवाहरुले यस किसिमको सहयोगले पीडित परिवारको पीडामा मल्हम पट्टी हुने भन्दै सहयोगको संस्कार विकासमा राईले चालेको कदमको प्रशंसा गरे । स्थानीय युवा दिवाकर राईका अनुसार सो ठाउँमा बुधबार साँझ भएको आगलागीका कारण स्थानीय कृष्णमाया लिम्बु, रुक्मनी ताजपुरिया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवारले लाखौं मूल्य बराबरको क्षति ब्यहोर्नु परेको छ ।
लिम्बुको घरमा ताजपुरीया, राजवंशी र मर्डी परिवारले व्यवसाय सञ्चालन गर्दै आएका थिए । आगलागीपछि ति परिवारको हातमुख जोर्नै समस्या रहेको स्थानीयहरुले बताएका छन् ।