
काठमाडौं । उपत्यकामा फोहोर व्यवस्थापन गर्दै आएका निजी क्षेत्रले छुट्टै मापदण्ड बनाएका छन् । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) ले उपत्यकाको फोहोर व्यवस्थापनमा स्वनियमनका लागि ‘कार्य सञ्चालन अनुगमन तथा मूल्यांकन निर्देशिका’जारी गरेको हो ।
निर्देशिका आगामी १ चैतबाट लागू हुने स्वमानका अध्यक्ष धनप्रसाद आचार्यले बताए । ६ परिच्छेद् र एक अनुसूची रहेको निर्देशिकाले सातामा दुई पटक फोहोर उठाउनु पर्नेदेखि फोहोर उठाएबापत लाग्ने शुल्कको दररेट, कामदारको पोसाक, सुरक्षा सामग्री, फोहोरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था छन् । स्वनियममा राख्न खोज्नु सह्रानीय कार्य भएको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने बताउँछन् ।
निजी क्षेत्रको सहयोगबाट मात्रै उपत्यकाको फोहोर व्यवस्थापन सहज भइरहेको उनले बताए । निर्देशिकाले फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीका लागि मापदण्ड तोकेको छ । कर्मचारीले निश्चित पोसाक र सुरक्षासम्बन्धी ध्यान दिनुपर्छ । साथै, अस्वाभाविक लाग्ने गरी कपाल पाल्ने, अस्वाभाविक तरिकाले कपालमा रङ लगाउने जस्ता गतिविधि गर्न पाइँदैन ।
कर्मचारीले सार्वजनिकस्थलमा धुमपान वा मद्यपान गर्न पाउँदैनन् । त्यसो गरेको पाइएमा एक सय रुपैयाँ जरिवाना गरिने निर्देशिकामा उल्लेख छ । कर्मचारीले सेवाग्राहीसँग कुनै पनि किसिमको अभद्र व्यवहार गर्न पाउँदैनन् । कम्पनीहरूले कर्मचारीका लागि पोसाक, बिमालगायत उचित पारिश्रमिक दिनुपर्नेछ ।
फोहोर संकलन गर्ने निजी कम्पनीमा २५ सयलाई रोजगारी
फोहोर संकलन गर्ने उपत्यकाका ७१ निजी कम्पनीमा २५ सय कामदार छन् । दैनिक दुई सय सानाठूला गाडीले संकलित फोहोर सिसडोल पुर्याउँछन् । थप तीन सय वटा सवारीसाधन फोहोर संकलनका लागि खटिन्छन् ।
सिसडोलको फोहोर व्यवस्थापन केन्द्र काठमाडौं महानगरपालिकाले सञ्चालन गरेकाले निजी कम्पनीले महानगरपालिकालाई प्रतिटिप साना गाडीको दुई सय ५० रुपैयाँ र ठूला गाडीको तीन सय ५० रुपैयाँ शुल्क बुझाउँछन् ।
स्वमानका अध्यक्ष धनप्रसाद आचार्य निर्दे्शिकाले निजी क्षेत्रलाई फोहोर उठाउन र सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्न प्रेरित गरेको दाबी गर्छन् । उपभोक्ताबाट पैसा लिएपछि जैविक फोहोर सातामा दुईपटक र अजैविक फोहोर सातामा एकपटक उठाउनै पर्ने मात्रै भनेको छैन, सर्वसाधारणमा जनचेतना फैलाउनेदेखि हरियाली प्रवद्र्धन र सार्वजनिकस्थल सफाइमा पनि जिम्मेवारी थपेको छ ।
निजी कम्पनीले फोहोरमैला संकलन केन्द्र, प्रशोधन केन्द्र तथा सोको वरिपरि बिरुवा रोप्ने, कम्पोस्ट मल निर्माणलाई प्रोत्साहन गर्ने, ‘सफा सहर, सबैको रहर’ भन्ने नारासहित अभियान सञ्चालन गर्नुपर्ने, सरसफाइ नमुना क्षेत्र, फोहोरमुक्त क्षेत्र घोषणामा स्थानीयलाई प्रोत्साहन गर्नेजस्ता सिर्जनात्मक कार्यमा लगानीसमेत गर्नुपर्नेछ । नयाँ पत्रिका दैनिकबाट