जीवन हो, दुःख नगरी सुख कहाँ मिल्छ र ? दुःख र अभावले नै मान्छेलाई अगाडि बढाउँछ, सफलतातर्फ उन्मुख गराउँछ । जिन्दगी जिउने क्रममा धेरै बाधा र अड्चनहरु आउँछन । बिस्तारै जान्छन् पनि । आज ठूलो लागेको पीडा समय बित्तै जाँदा सामान्य लाग्दै जान्छन् । इच्छाशक्ति र मनैदेखि चाहना भए जीवनमा असम्भव भन्ने कुरा पनि त रहनेछ । म थाकेँ भनेर बस्नु चाहिँ पटक्कै हुँदैन रहेछ ।
१५–१६ वर्षको एउटा केटो, जसलाई जीवन के हो नै थाहा छैन । पढ्न मन छ तर पढ्नको लागि रकमको अभाव छ । एसएलसीसम्म आफन्तको संरक्षणमा बसेर पढ्ने अवसर पाउँछन् । सो पछि कामको खोजीमा भौतारिँदै एउटा स्कूलको ढोका ढक्ढक्याउन पुग्छन् । स्कूलको रिक्सा भेन ठेल्ने सहयोगीको काम गर्दै अध्ययनलाई निरन्तरता दिएका उनी आज एउटा निजी माद्यमिक विद्यालयको प्रिन्सिपल भएका छन् । रिक्सा भेनको सहचालकबाट जागिरे जीवन सुरु गरेका उनले माद्यमिक विद्यालयको प्रधानाध्यापक सम्मको यात्रा कसरी गरिरहेका छन् होला त !
आज यो आलेख तयार गरिरहँदा यी भावनात्मक वाक्यहरु यसै फुरेका होइनन् । जीवनका अनेकन कालखण्डमा हण्डर र ठक्कर खाँदै तिखारिएको एउटा ब्यक्तिको वास्तविकतालाई यहाँ उठान गर्न खोजिएको छ ।
तेह्रथुम जिल्ला साविक सन्दु गाविस वडा नम्बर ५ मा २०३१ साल चैत्रमा ढुंगाना परिवारमा जन्मिएको एउटा बालकको जीवन भोगाइको यथार्थ हो यो । पहाडी भेग पहाडको भिरमा घर, पहिरो जाने डर । जग्गा जमिन प्रशस्त थिएन । साना साना भाइ बहिनी पनि थिए । आर्थिक अवस्था कमजोर नै थियो । यही पृष्ठभूमिको परिवार ससाना नानीहरु काखी च्यापेर तराई झरेको थियो ।
ब्राह्मण परिवार, बुवा जजमान गर्नुहुन्थो । बुबा पण्डित्याइँ गर्ने भएकाले छोराले पनि आफ्नै बिंडो थामोस् भन्ने बुवाको चाहाना हुन्थ्यो । केटाकेटी उमेर भएकाले पढ्नु पर्छ भन्ने ज्ञान कहाँ थियो र ? खेल्न र काम गर्नमै सुर हुन्थ्यो । मामाको छोरा स्कूल जाने गरेको कारण ती बालकलाई पनि पढाउने कुरा चल्यो । मामाकै करकापले ९ वर्षको उमेरमा मात्रै कक्षा १ मा उनलाई स्कूल भर्ना भएर पढ्ने अवसर मिल्यो । केही वर्ष त्यहाँ पढेपछि उनी झापाको दमकमा बसोबास रहेका काकाको घरमा आएर बस्न थाले । काकाको परिवारमा आर्थिक स्थिति उनको भन्दा अलिकति राम्रो थियो । त्यहीँ बसेर एसएलसी सम्मको पढाई सकियो । त्यो बेला एसएलसी पास हुनु भनेको सानोतिनो कुरा थिएन । पास भएका विद्यार्थीहरुलाई स्कूलमा फूलमालाले स्वागत र सम्मान गरेको त्यो मिठो पल आहा, कति प्रिय ! स्मरण अझै छ ।
एलएलसी पास गरेपछि त्यो युवक कलेज पढ्न भद्रपुरको मेची क्याम्पसमा भर्ना भयो । उसलाई विज्ञान विषय लिएर पढ्ने ठूलो रहर थियो । तर साइन्स पढ्न जति खर्च लाग्थ्यो, त्यति रकम नजुट्ने भएका कारण उनी साइन्स पढ्नबाट बञ्चित हुनुपर्यो । त्यो समयमा बुवा घर छोडेर पश्चिमतिर जानु भएको थियो । घरको हालत उही, घरमा भाइबहिनी अनि आमा । अभावै अभाव, त्यस्तो अभावलाई चिर्नु छ । जसरी हुन्छ अनि पढ्नु छ र अगाडि बढ्नु छ । उनको मनमा छट्पटी, औडाहा, के गरौं र कसो गरौं भइरहन्थ्यो ।
तेह्रथुम जिल्लाको सन्दु ५ मा जन्मिएर मामा र काकाको सहयोगमा औपचारिक शिक्षा ग्रहण गर्ने त्यो बालक अरु कोही नभएर झापाको बिर्तामोड १ मा अवस्थित मनकामना माविका प्रिन्सिपल केशब ढुङ्गाना हुन् । उनको बाल्यकाल, साइन्स पढ्ने सपना अनि मेची क्याम्पसमा भर्ना भएर मानविकी संकायमा पढ्दा गरेको दुःख र संघर्षका शिलशिला अझै मर्मस्पर्शी रहेको पाइन्छ ।
एकदिन मेची क्याम्पसबाट घर फर्किने क्रममा भद्रपुरको भानुचोकमा अवस्थित मेची इङलिस स्कूलतर्फ उनका पाइला अगाडि बढ्छन् । उनको मनमा यस्तो विचार पलाएको थियो कि स्कूलमा त केही न केही काम पक्कै पाइन्छ । जे छ, जे पाइन्छ त्यही म गर्छु र गर्न सक्छु भन्ने आत्मविश्वास थियो उनमा । तर मनको अर्को कुनामा अलिअलि डर पनि थियो । गाली पो खाइन्छ कि ! जे होस् सोध्दैमा के नै बिग्रन्छ र भन्ने साहस अनि आँटका साथ उनी मेची इङलिस स्कूलको कार्यालयमा जान्छन् ।
मेजर कर्ण गुरुङ सो विद्यालयका संस्थापक रहेछन् । केशवले उनै गुरुङसँग भेट गर्ने अवसर पाएछन् । केशव सम्झन्छन्, दुईजना बीचको सम्वाद यस्तो थियो ।
केशवः मलाई कुनै काम चाहिएकाले तपाइँसँग काम माग्न आएको हुँ सर ।
गुरुङः तिमी के गर्न सक्छौ र ?
केशवः जे पनि गर्न सक्छु । तर मलाई पढ्नु छ । मैले पढ्ने समय मिलेसम्मका सबै काम गर्छु ।
जिन्दगी जिउने क्रममा कोही कोही मान्छेहरु यस्ता महान व्यक्तिसँग ठोकिन पुग्छन् कि उसलाई सानो लाग्न सक्छ त्यो सहयोग तर त्यो जसले पाउँछ उसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यही सानो सहयोगले नै उसको जीवन सहज बन्न सक्छ । जिन्दगीले अर्को मोड लिन सक्छ । अनि जीवनको अन्तिम क्षणसम्म त्यस्ता व्यक्तिलाई सम्झिरहिन्छ । यस्तै भयो केशवको हकमा पनि मेजर गुरुङको त्यो सहयोग ।
त्यो बेला सबै स्कूलमा बसहरु थिएनन् । साना नानीहरुलाई ल्याउन लैजान रिक्सा भ्यान चलाइन्न्थ्यो । बाटोहरु राम्रा थिएनन्, रिक्सा भ्यान चलाउन चालकलाई मात्र गाह्रो हुन्थ्यो । त्यसैले खाल्डाखुल्डीबाट निकाल्न रिक्सा भ्यान ठेल्नु पर्ने अवस्था थियो । ‘मेजर कर्ण गुरुङले त्यही रिक्सा भ्यानमा खलासी (सहचालक) बन्ने काम दिनुभयो’ केशव अवरुद्ध गला बनाउँदै विगत कोट्याउँछन् ।
काम सानो होस् या ठूलो केही फरक परेन । २०५० सालको कुरा हो । त्यो कामले त्यो बेला ठूलो राहत मिल्यो रे उनलाई । स्कूलमा नै केशवको खाना र बस्ने बन्दोबस्त मिलाइएको थियो । ‘४८० रुपैयाँ तलब पाउँथे । रिक्सा भ्यान ठेल्न नसक्दा नराम्रो लाग्थ्यो, धेरै रुन्थें पनि अनि मन हल्का बनाउँथे’ उनी स्मरण गर्छन् ।
रिक्सा भ्यान ठेल्ने काम गर्न थालेको केही समय पछि उनको प्रमोशन हुन्छ । उनले सहचालकबाट स्कूलको पिउनमा जागिर पाउँछन् । उनलाई गुरुङ सरको मन जित्नु थियो । प्रिय पात्र बन्नु थियो । स्कूल मै बस्ने भएकाले शिक्षक स्कूल नआएको बेला केशवलाई कक्षामा जान मन लाग्थ्यो, कक्षामा गएर केटाकेटीलाई भुलाउने पनि गर्थे । तर एकदिन उनको त्यो रहरलाई कर्ण सरले गाली गर्दै ‘तिमीलाई कस्ले अनुमति दियो ? किन अरुको कक्षामा जान्छौ ? कि भविष्यमा टिचर बन्ने मन छ ? भनेछन् ।
केशवले पनि मौका पाए त बन्थे नि सर भनेछन् । त्यसो भए म बनाउँछु तिमीलाई शिक्षक । ‘त्यही दिनदेखि कर्ण सरले मलाई शिक्षक बनाउनु भयो । जीवनमा धेरै खुसी भएको, आफूलाई भाग्यमानी ठानेको दिन थियो त्यो’ केशव स्मरण गर्छन् । शिक्षक बनेको दुई वर्षमा केशव स्कूल इन्चार्ज बनाइए । शिक्षक भएपछि पैसाको अभाव पनि अलि कम हुन थाल्यो । दैनिकीहरु यसरी नै बित्दै थिए । बिएडसम्मको अध्ययन त्यही स्कूलमा काम गर्दै पढ्ने मौका मिल्यो ।
डिग्री पढ्नको लागि कर्ण सरले नै कलेज खोज्न पठाउनु भयो । मलाई त्यो स्कूल छोड्न मन थिएन । किनभने त्यहाँ मेरो कमाई थियो । कमाई गुम्ने डर थियो । डर हुदाँहुदै पनि डिग्री पढ्नु थियो । पढ्न धरान जानुपर्ने । फेरि कर्ण सर मेरो लागि भगवान बन्नुभयो । धरानमा आफन्तकोमा बस्ने बन्दोबस्त गरिदिनु भयो । तर त्यहाँ पुगेर स्नातकोत्तर अध्ययन अवधिमा पुनः शून्यबाट संघर्ष सुरु गर्नुपरेको केशवको सम्झना छ ।
धरान घुम्दै गर्दा एउटा स्कूल देखेँ समिट । जसरी मेची स्कूलमा प्रवेश गरेको थिएँ, त्यसैगरी स्कुल प्रशासनसँग कुरा गर्दागर्दै मेरो अन्तरवार्ता पनि सकिएछ । मेचीमा जाँदा मसँग कुनै सीप, क्षमता थिएन तर समिटमा पुग्दा मसँग विद्यालयको वातावरणसँगै केही वर्षको शिक्षण अनुभव पनि थियो । ‘सायद त्यही विशेषताले होला, केही दिन पछि नै स्कूलको टिचरमा आफू सेलेक्ट भएको थाहा पाएँ । मास्टर डिग्री अध्ययनको २ वर्षे अवधिमा समिट स्कूलमा पनि पढाउँदै अनुभव संगाल्न पनि पाएँ’ आफूले बिताएका ती स्वर्णिम दिनहरुतर्फ फेरि केशव स्मरण गर्छन् ।
‘भागवतमा भगवान श्रीकृष्ण भन्छन्ः कर्म गर तर फलको आशा नगर । मैले पनि मनबाटै कर्म गर्न छाडिंन । समिटमा पढाउन थालेको एक वर्षमै उत्कृष्ट शिक्षक अवार्ड पाएँ । शिक्षण पेशामा प्रेरणा र थप उर्जा मिल्यो’ केशव सुनाउँछन् ।
२०६० सालतिर विवाहको कुरा चल्यो म सग सम्पति भनेको मेरो इमान्दारिता र शिक्षामात्र थियो । त्यही इमान्दारिता र शिक्षालाई रुचाएर धेरै केटीको घरबाट कुरा आउँथ्यो । मेरो विवाह रुका रिजालसँग भयो ।
यही बीचमा आमाको देहावसान भयो । आफ्नो गाउँठाउँमा ओल्ला घर र पल्ला घर घुमडुल गर्ने बानी भएकोले बुबा धरान गएर बस्न सक्नु भएन । त्यसैले २०६९ सालमा धरानबाट बिर्तामोडमा नै आएर बस्ने अठोट गरियो ।
‘मेरो घरपैंचोमा मैले केही प्रियजनहरुलाई आमन्त्रण गरेको थिएँ । उहाँहरुमध्ये मेची क्याम्पसमा मलाई पढाउनु हुने कुमार थपलिया सर पनि हुनुहुन्थ्यो’ केशव थप्छन्, ‘कुमार सरले नै मनकामना स्कूलमा पढाउन मलाई सल्लाह दिनुभयो, जहाँ आजसम्म म अध्यापन गरिरहेको छु ।’
दुई वर्षजति भाइस प्रिन्सिपलको जिम्मेवारी सम्हालेका ढुङ्गाना २०७२ सालबाट मनकामना माविको प्रिन्सिपल भएर काम गरिरहेका छन् । आज पनि उनको दिनचर्या फेरिएको छैन । बिहान कलेजमा प्राध्यापन गर्ने उनी दिउँसोभर विद्यालयको प्रशासन प्रमुख (प्रिन्सिपल) भएर नेतृत्व गरिरहेका छन् ।
सम्पन्न परिवारमा जन्मेको भए जीवनका यी अमूल्य अनुभवहरु कहाँ संगाल्न पाउँथे र !’ केशव भन्छन्, ‘दुख, अभाव र पीडा के हो ? यी सबलाई नजिकबाट नियाल्न कहाँ पाउथे र ? आजसम्मको जीवनयात्रालाई पर्गेल्दा अरुलाई कस्तो लाग्छ तर म आफैं गर्वको महसुश गरिरहेको हुन्छु ।’
भद्रपुरका कर्ण गुरुङले दिएको त्यो अवसरले आफ्नो जिन्दगी यहाँसम्म आइपुगेको विश्वास गर्ने ढुङ्गाना भन्छन्, ‘त्यो बेला कर्ण सरले स्कूल भ्यानको सहायकको काम नदिनु भएको भए अहिले म कहाँ हुन्थे !? आज उहाँ यो संसारमा हुनुहुन्न । तर मेरो जीवन रहेसम्म यो मनले उहाँलाई बावुआमा जत्तिकै दर्जा दिएर अनन्त कालसम्म सम्झिरहने छ ।’