२०८१ भदौ ३१, सोमवार , १२:४३:१५ बजे

Sajhamanch
'

सामुदायिक कार्यमा सञ्जिवनीको अग्रसरता

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट विभिन्न पाँचवटा संघ–संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सामुदायिक कोषमा जम्मा भएको रकममध्ये एक लाख चार हजार रूपयाँ सामाजिक कार्यमा प्रदान गर्ने सञ्चालक समितिको निर्णय सुनाएको हो ।

सोअनुसार हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको राष्ट्रिय एकता प्राविमा अध्ययनरत विद्यार्थीलाई जुत्ता मोजा खरिदका लागि ३३ हजार रूपैयाँ, बिर्तामोड ४ कञ्चनजंघा मार्गमा फूलका बिरुवा रोप्न २५ हजार रूपैयाँ प्रदान गर्न लागिएको अध्यक्ष यामकुमार चुडालले जानकारी दिए । यसरी नै नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा जम्मा हुने गरी २० हजार रूपैयाँ, श्रीकृष्ण प्रणामी सत्सङ सेवा परिषद बिर्तामोड १० लाई १५ हजार रुपैयाँ र विराट ज्योतिर्लिङ्ग मन्दिर बिराटपोखरलाई ११ हजार प्रदान गर्ने निर्णय भएको अध्यक्ष चुडालले जानकारी दिए ।

उक्त निर्णयानुसार शुक्रबार अपरान्ह नै नेपाल पत्रकार महासंघलाई २० हजार रूपैयाँ प्रदान गरिएको सचिव मेघराज बाँस्तोलाले जानकारी दिए । महासंघका उपाध्यक्ष एकराज गिरीलाई संस्थाका अध्यक्ष चुडाल, सचिव बाँस्तोला तथा ब्यवस्थापक कृष्णप्रसाद खरेलले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।

२०६४ सालमा स्थापित सञ्जिवनी साकोस वित्तीयरुपमा सक्षम हुँदै गएकाले सामाजिक कार्यमा पनि अग्रसर हुन थालेका अध्यक्ष चुडालको भनाई छ । गत माघ मसान्तको तथ्याङ्क अनुसार संस्थामा दुई करोड ४४ लाख २९ हजार रुपैयाँ शेयर पूँजी छ भने एक करोड १५ लाख ८७ हजारको कोष रहेको जनाइएको छ । यसरी नै संस्थामा १८ करोड ४७ लाख १५ हजार रुपैयाँ निक्षेप जम्मा गरिएको छ भने सदस्यहरुमाझ २७ करोड ३६ लाख २९ हजार रुपैयाँ कर्जा लगानीमा रहेको सचिव बाँस्तोलाले बताए । संस्थासँग भवन निर्माणका लागि ४ वर्ष अघि ९८ लाखमा खरिद गरेको जमिनसहित एक करोड ७ लाखको सम्पत्ती सामान रहेको जनाइएको छ ।

झापा जिल्लाको माइपूर्व कार्यक्षेत्र रहेको सञ्जिवनी साकोसमा हाल दुई हजार तीनजना शेयर सदस्यहरु रहेका छन् । अन्य साकोसमा जस्तै बचत तथा ऋणको कारोबार गर्ने सञ्जिवनीमा पेन्सन बचत कार्यक्रमतर्फ सदस्यहरुको विशेष आकर्षण रहेको व्यवस्थापक कृष्णप्रसाद खरेलले बताए । उनका अनुसार कुनै सदस्यले १० वर्षसम्म मासिक हिसाबले जम्मा गरेको रकमको १ दशमलव ५ गुनाका दरले जीवनभर पेन्सनका रुपमा पाउने कार्यक्रमप्रति सदस्यहरुको आकर्षण बढेको हो । हाल सो कार्यक्रममामात्र ३०० जनाले खाता सञ्चालन गरेको जनाइएको छ ।

सम्बन्धित खबर