काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मघर तेह्रथुमको आठराई आउने भएका छन् । प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि यहाँ तयारी गरिएको छ । आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री आउने र विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम रहेकोले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज छातेढुंगाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङको ढुंगेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आंगिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।