बिर्तामोड । नवस्थापित पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाको स्तनमा हुने क्यान्सरको परीक्षण गर्ने अत्याधुनिक मेसिन जडान गरी आजबाट सेवा दिन थालिएको छ ।
हरेक महिलाले ब्रेष्ट क्यान्सरबाट जोगिन प्रत्येक वर्ष मेमोग्राम गराई स्वस्थ्य जीवन बाँच्न पाउन् भन्ने आह्वानसहित करिव पाँच करोड रुपैयाँको लागतमा मेमोग्राफी मेसिन भित्राइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । नेपालका कुनैपनि अस्पतालमा हालसम्म जडान नगरिएको अत्याधुनिक प्रविधिको मेमोग्राफी मेसिन पूर्वाञ्चल क्यान्सर अस्पतालमा ल्याएर सेवा प्रवाह गर्न थालिएको कार्यकारी निर्देशक प्रसाईको भनाई छ ।
महिलाको स्तनमा घाउ नबनाई क्यान्सरको लक्षण भए नभएको परीक्षण गर्ने तथा शंका लागेमा वायोस्पीका लागि सेम्पल संकलन गर्न सो मेमोग्राफी मेसिन अत्याधुनिक रहेको फिनल्याण्डबाट आएका मेमोग्राम स्पेसलिष्ट डा. तापियोले जानकारी दिए । मेमोग्राफी मेसिनका प्राविधिक पक्षहरुबारे सविस्तार चर्चा गर्दै डा. तापियोले सो मेसिनबाट परीक्षण गर्दा समय धेरै नलाग्ने, एकै पटक दुईवटै परीक्षण गर्न सकिने, स्तनमा घाउचोट लगाउन नपर्ने एवम् डिजिटल रिपोर्ट सही निस्कने सुनाए ।
लामो र झण्झटिलो विधिबाट मेमोग्राफ गरिँदै आएकोमा सो मेसिनबाट टु डी, थ्री डी डिजिटल डिस्प्लेबाट स्तनमा भएको सानोभन्दा सानो समस्या पनि पहिचान गर्न सकिने डा. तापियोले जानकारी दिए । रेडियोलोजिष्टले मेमोग्राफ हेर्ने बित्तिकै रोग लागे नलागेको पहिचान गर्ने अत्याधुनिक मेसिन पूर्वाञ्चल क्यान्सर अस्पतालले भित्राएको उनको भनाई छ ।
महिलाको स्तनमा हुने क्यान्सर विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्या रहेको औंल्याउँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले अबको १० वर्षपछि यो संख्या डब्बलमात्रामा बढेर जाने सुनाए । ‘महिलाको स्तनमा गाँठो थाहा पाउनु भनेको क्यान्सरले पहिलो स्टेज पार गरिसकेको अवस्था हो’ डा. यादवले भनेका छन्, ‘यस्तो अवस्थामा पुगेपछि उपचार खर्चिलो हुँदैजान्छ । यसैले हरेक महिलाले वर्षको एकपटक ब्रेष्ट स्क्रिनिङ गराउने र सुरक्षित रहनु राम्रो हुन्छ ।’
आफ्नो अस्पतालमा जडान गरिएको अत्याधुनिक मेमोग्राफी मेसिनबाट एकपटक ब्रेष्ट स्क्रिनिङ गराउँदा २५ सय हाराहारीमात्र खर्च आउने जानकारी दिँदै मेडिकल डाइरेक्टर डा. यादवले शंकास्पद अवस्था देखिएमा एफएनएसी र वायोप्सीसमेत गरेर निश्कर्ष निकालिने बताए । एउटा स्तनमा क्यान्सर देखिएको भए अर्कोमा पनि हुने २० प्रतिशत सम्भावना रहने भएकाले फलोअपमा पनि मेमोग्राफ महत्वपूर्ण हुने उनले सुझाव दिए ।
गत जनवरी १ तारिकबाट क्यान्सरको उपचार सेवा प्रवाह गरिरहेको अस्पतालबाट हालसम्म ४० जनाले रेडिएसन गराएको डा. यादवले बताएका छन् । दैनिक १३ वटासम्म केमोथेरापी गर्ने गरिएको बताउँदै डा. यादवले ओपिडीमा दैनिक २५–३० जनाका दरले बिरामीहरु आउने गरेका छन् र अहिले १८ जना बिरामी शैय्यामा रहेर उपचार सेवा लिइरहेका छन् ।