२०८१ माघ १, मङ्गलवार , ०४:०७:३२ बजे

Sajhamanch
'

तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमा आयोजकको जीत, पहिलो खेलबाटै बाहिरियो मनाङ

आइतवार, फागुन ४, २०७६

शिवसताक्षी । शिवसताक्षीको गौरवको रुपमा लिएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जीत हासिल गरेको छ ।

आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले पाहुना टोली मनाङ मस्र्याङ्दीलाई १–० को गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको ५० औँ मिनेटमा आयोजक टिमका मनिष थापाले गरेको गोलले नै लिगमा तेस्रो स्थान हासिल गरेको मनाङ मस्र्याङ्दी बाहिरिन पुग्यो । आशिष राईको क्रसपासलाई सदुपयोग गर्दै थापाले बललाई गोलमा परिणत गरेका थिए ।

खेलको २२ औँ मिनेटमा आयोजकका गोलकिप्पर मनोज प्रधानले विपक्षीको हेडर उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मनाङको प्रहार विपक्षी गोल किप्परबाट फुस्किए पनि मनिष थापाले हेडरमार्फत सुन्दर बचाउ गरे ।

खेलको ३८ औँ मनाङका सुशील लामाको प्रहार आकाशिएपछि गोलमा परिणत हुन सकेन । ४० औँ मिनेटमा मनाङका क्याप्टन कमल श्रेष्ठको फ्रिकिक प्रहार ब्लक भएर बाहिएिको थियो । त्यस्तै, मनाङका अञ्जन विष्टको क्रस प्रहार आयोजकका क्याप्टेन सजित राईले क्लियर गरिदिएका थिए । खेलको ७० औँ मिनेटमा विष्टले डि एरिया नजिकबाट गरेको फ्रिकिक प्रहार पनि पोस्टनजिकबाट बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच गोलकर्ता मनिष थापा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

उद्घाटन खेल शिवसताक्षीका नगरपालिकाका मेयर चन्द्र शेर्माले उद्घाटन गरेका थिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाई स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जि्लिङको एमएफसीले सहभागिता जनाउन छन् ।

सम्बन्धित खबर