दमक । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको विषयमा यहाँ वृशत छलफल गरिएको छ । कार्यक्रममा तेस्रो लिङ्गी को हो ? तेस्रो लिङ्गी किन र कसरी ? समलिङ्ग भनेको के हो ? तेस्रो लिङ्गी कसरी बन्छ जस्ता विषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
लिड नेपाल दमक र ब्लु डायमण्ड सोसाइटीले मंगलबार आयोजना गरेको कार्यक्रममा दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले तेस्रो लिङ्गी अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको निम्ति नगर कार्यापालिकाको तर्फबाट सकारात्मक सहयोग रहने आश्वासन दिएका छन् ।
वडाध्यक्ष गुरुङले दमकमा तेस्रो लिङ्गीको संख्या र उनीहरुको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाका बारेमा स्पष्ट तथ्याङ्क नभएको र तेस्रो लिङ्गीहरुको मानव अधिकारको निम्ति कार्यगर्ने संघ–संस्थाले तथ्याङ्क सङ्कलनमा सहयोग गर्नसमेत आग्रह गरे ।
कार्यक्रममा तेस्रो लिङ्गीहरुको अधिकारका निम्ति आन्दोलनरत लिड नेपाल दमकका चञ्चला लिम्बूले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार आन्दोलनका विषयमा सहजीकरण गरिन् । उनले नेपालमा लिङ्गका आधारमा महिला र पुरुष मात्रै उल्लेख गरिएकोमा चिन्ता प्रकट गरिन । उनले महिला र पुरुष बाहेक समाजमा तेस्रो लिङ्गीसमेत छन् भन्ने जनाउँदै हामीहरुमाझ तीनवटा सामाजिक लिङ्ग अस्तित्वमा रहेको जनाइन् ।
कार्यक्रममा चञ्चला लिम्बूले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकार सम्बन्धी भएका विषयमा जानकारी गराएकी थिइन् । उनले सन् २००१ देखि समुदायमा यौन स्वास्थ्य र मानव अधिकारका निम्ति काम गरिरहेको ब्लु डायमण्ड सोसाइटीले नेपालको कानून तथा नीति निर्माणसँगै संविधानले गरेको व्यवस्थामा अधिकार स्थापित गर्न गरेका योगदानको चर्चा गरेकी थिइन् ।
उनले तेस्रो लिङ्गीहरु जैविक लिङ्गीको हिसाबले महिला वा पुरुष भएता पनि आफूलाई महिला वा पुरुषको रुपमा प्रस्तुत नगर्ने व्यक्तिलाई तेस्रो लिङ्गी भनिएको बताइन् । चञ्चलाले भनिन्, जन्मँदा बाल वा बालिका भएपनि हुर्कंदा ती व्यक्तिको लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुति, व्यक्तित्व आदि समाजमा परमपरागत रुपमा महिला र पुरुषको अपेक्षा गरिएको भन्दा फरक भएमा तेस्रो लिङ्गी भनेर बुझ्न सकिने बताइन् ।
कार्यक्रममा दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले स्वास्थ्य शाखाको तर्फबाट गर्ने जस्तोसुकै खालका कार्यक्रमहरुमा साथ र सहयोग रहने बताए । दमक नगर अपाङ्ग सहयोग समितिका अध्यक्ष मदन बोहोराले संवैधानिक व्यवस्था अनुसार आफ्ना अधिकारका निम्ति तेस्रो लिङ्गीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायतले समाजमा अझै पनि तेस्रो लिङ्गीहरुको पहिचान खुलाउन र देखाउन समस्या रहेको बताए ।