२०८१ चैत ३१, आइतवार , ०१:०९:०६ बजे

Sajhamanch
'

माघ २९ गते बिर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन

मङ्गलवार, माघ २८, २०७६

झापा । ज्योतिषीहरुका पेशागत समस्या र अप्ठ्याराहरु केलाउँदै अनुभव आदानप्रदान गर्ने उद्देश्यले माघ २९ गते बिर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन गरिने भएको छ । नेपाल ज्योतिष परिषद्, दक्षिण एशियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको संयुक्त आयोजनामा हुने एक दिने सम्मेलनमा नेपाल र भारतका २०० जना हाराहारी ज्योतिषीहरु भेला हुने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन आयोजक समितिका प्रचार संयोजक मधुसुदन रिजालको अध्यक्षता तथा कोषाध्यक्ष प्रेमराज घिमिरेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेलले ज्योतिषीय विषयमा प्रकाश पारेका थिए । उनले महासंघलगायत संघहरुको स्थापनाको पृष्ठभूमिदेखि बिर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन आयोजना गर्नुको औचित्य प्रष्ट्याएका थिए ।

नेपालभर तीन प्रकारका ज्योतिषहरु क्रियाशील रहेको जनाउँदै डा. पौडेलले कूल परम्परागत रुपमा सेवा गर्दै आएका, प्रशिक्षणमात्र लिएर सेवारत र विश्वविद्यालयबाट डिग्री लिएका बीच फलादेशमा पनि एकरुपता ल्याउन यस्ता सम्मलेन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सम्मेलनमा मुहुर्त, वास्तु तथा फलित ज्योतिषका बारेमा अवधारणा प्रस्तुत हुने भएकाले पूर्वी नेपालमा कार्यरत ज्योतिषहरुको सहभागितालाई उच्च प्राथमिकता दिएर बिर्तामोडमा कार्यक्रम गरिएको जनाइयो ।

पत्रकार सम्मलेनमा एशियन एस्ट्रोलोजी कंग्रेसका सत्य विश्वासले जीवनका हरेक पहेलुहरुमा ज्योतिषको आवश्यकता पर्ने भएता पनि राष्ट्रिय मान्यता नपाउँदा दुःख लागेको बताए । भारतबाट यही सम्मेलनका लागि आएका उनले पत्रकारहरुले आफूहरुका समस्यालाई उजागर गरिदिनु पर्ने अपेक्षा पनि सुनाए ।

सम्बन्धित खबर