२०८१ असोज २, बुधवार , ०८:४८:४५ बजे

Sajhamanch
'

जिल्ला सहकारी संघको वार्षिकोत्सव, अध्यक्ष ढकाल सम्मानित

शनिवार, माघ २५, २०७६

झापा । झापा जिल्ला सहकारी संघको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश नं.१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय सहकारी वैंकका लेखा संयोजक लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्यमा निर्वाचित घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा निर्वाचित मिनराज कँडेल र राष्ट्रिय सहकारी महासंघको प्रदेश १ को सञ्चालक सदस्यमा निर्वाचित झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०७६ असार मसान्तसम्ममा संंस्थामा ५ सय ४ संघ÷संस्था आवद्ध,संस्थाको शेयरपुँजी २ करोड ३० लाख १० हजार, निक्षेप १५ करोड १५ लाख ८३ हजार १ सय ५९ रुपैयाँ ५८ पैसा , कर्जा लगानी १३ करोड २९ लाख ५५ हजार ३ सय ९७ रुपैयाँ ४७ पैसा , संघको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा एक बिगाह ४ कठ्ठा १।७५ धुर गरी ६ करोड ५० लाख रुपैयाँ मूल्य वरावरको जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखासमितिका संयोजक भलकाजी कठेतले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संस्थाको विनीयम संसोधन गरेको थियो भने निर्वाचन निर्देशिका समेत पारित गरेको झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले बताए ।

संस्थाले संसोधित विनीयम सहकारी विभागको रजिष्टारले स्वीकृत गरेपछि संस्थाको नयाँ कार्यसमितिको निर्वाचन गरिने उनले बताए । संस्थाले कार्यसमितिको निर्वाचनका लागि अधिवक्ता देवेन्द्र भण्डारीको संयोजकत्वमा पत्रकार सन्तोष आचार्य , सहकारीकर्मी खोम वगाले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको उनले बताए ।

कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव ढकालले गरेका थिए ।

सम्बन्धित खबर