२०८१ पौष ७, आइतवार , ०३:०४:१९ बजे

Sajhamanch
'

आजदेखि एक नम्बर प्रदेशसभाको हिउँदे अविधेशन सुरु, प्रदेश नामकरणको बहस चर्कियो

बिहिवार, माघ २३, २०७६

विराटनगर । एक नम्बर प्रदेशसभाको हिउँदे अविधेशन सुरु भएसँगै प्रदेशको नामांकरणको विषयमा बहस सुरु भएको छ ।

बिहीबारबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनले नामको टुंगो लगाउने चर्चा चलेसँगै प्रदेशको नाम के हेला भन्ने विषयमा पुनः बहस सुरु भएको हो ।

एक वर्षअघि प्रदेश राजधानीको टुंगो लगाएको प्रदेश सरकारले आन्तरिक सहमति नजुटेका कारण नामांकनको विषय थाती राखेको थियो ।

मुख्यमन्त्री शेरधन राईले बिहीबारबाट सुरु हुने अधिवेशनबाट नामको टुंगो लाग्ने बताएपछि पहिचानका आधारमा नामांकन गर्न २१ संघ–संगठनहरूले आन्दोलनको तयारी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका निकट लिम्बूवान राष्ट्रिय मोर्चा, किराँत राष्ट्रिय मुक्ति मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टीसहितका २१ पहिचानवादी संगठनहरूले प्रदेशको नाम ‘लिम्बूवान–किराँत’ राख्न माग गर्दै आन्दोलनको तयारी सुरु गरेका हुन् ।

छुट्टै लिम्बूवान प्रदेशको माग गर्दै आएको संघीय लोकतान्त्रिक लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन बहुपहिचानका आधारमा प्रदेशको नाम तोक्नुपर्ने पक्षमा उभिएका छन् ।

बुधबार इटहरीमा संयुक्त पत्रकार सम्मेलन गर्दै पहिचानका आधारमा नाम तोक्न माग गरेका छन् । सरकारलाई दबाब दिन पहिचानवादीहरू एक स्थानमा उभिएको लिङ्देन बताउँछन् ।

सरकारले भूगोलका आधारमा नाम राखे दुर्घटना निम्तिने बताउँदै उनले भने ‘पहिचानका आधारमा माग सम्बोधन भएन भने सडकमा आगो बाल्छौं ।’

उनले पहिचानवादीहरू नमिल्ने गुनासो आइरहेका बेला २१ वटा घटकहरू एकै स्थानमा उभिएको बताए ।

प्रदेशको भौगोगिक अवस्था, सामाजिक, सांस्कृतिक, पहिचानका लागि उठेका आन्दोलनले मुद्दा स्थापित भएको बताउँदै उनले प्रदेश सरकारले पहिचान जोड्नुपर्ने बताए ।

पहिचानको सम्भावना कम

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सबै पहिचान र भूगोललाई समेट्ने गरी नाम टुंगो लगाउने बताउँदै आएका छन् । नामाकरण हुँदा जातीय पहिचानले स्थान पाउने सम्भावना कम छ ।

पहिचानका आधारमा नामाकरण गरे नाम र राजधानीको टुंगो लगाइसेकका चार प्रदेशमा असन्तुष्ट स्वरहरू उठ्ने भएकाले प्रदेशको नाम भूगोलका आधारमा तोकिने नेकपा र कांग्रेसका नेताहरू बताउँछन् ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाग्मती प्रदेशले नामको टुंगो लगाएका छन् । जसले प्रदेश १ मा पनि भूगोलका आधारमा नामाकरण गर्ने बाहिरी दवाव छ ।

एक नम्बर प्रदेशमा पहिचानको माग गर्दै नेकपा निकट लिम्बूवान र किराँत राष्ट्रिय मोर्चाले समाजवादी, कुमार लिङदेनले नेतृत्व गरेको संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चसहित २१ वटा पहिचानवादी समूहसँग मोर्चाबन्दी गरेको छ ।

‘हाम्रो माग प्रदेशको नामाकरण गर्दा लिम्बूवान र किराँतको पहिचानलाई जोड्नुपर्छ,’ नेकपा लिम्बूवान मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो भन्छन्, ‘अन्य प्रदेशले भूगोललाई आधार बनाए भनेर हाम्रो प्रदेशको आवाजलाई थुन्न पाइँदैन ।’

उनी प्रदेशहरू स्वायत्त रहेकाले केन्द्रको हस्तक्षेप मान्न नहुने उनको भनाइ छ । उनले प्रदेशको भौगोलिक बनावट र अवस्थाका आधारमा पहिचानलाई आधार मानेर नाम तोक्नुपर्ने बताए ।

बुधबार एक नम्बर प्रदेशसभाको दोस्रो वार्षिकोत्वसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय लोकतान्त्रिक मञ्च संसदीय दलकी नेता विष्णुमाया तुम्बाहाम्फेले पहिचानलाई छाडेर प्रदेशको नामाकरण गरिएमा जनविद्रोह सुरु हुने चेतावनी दिइन् ।

चार वटा प्रदेशले भूगोलका आधारमा नामाकरण गरेका कारण एक नम्बर प्रदेशलाई पहिचानसँग जोड्ने सम्भावना कम भएको नेकपा नेताहरू बताउँछन् ।

मुख्य प्रतिपक्षी दल कांग्रेस पनि पहिचानका आधारमा प्रदेशको नामाकरण होस भन्ने चाहँदैन । ‘जातिय पहिचान प्रदेशको नाममा अटाउँदैन,’ नेकपाका एक सांसद भन्छन्, ‘पहिचान जोडे अन्य प्रदेशमा आन्दोलन उठ्ने डर छ ।’

१७ माघ २०७४ मा गठन भएको एक नम्बर प्रदेशसभा र ३ फागुनमा गठन भएको सरकारले २२ बैसाख २०७६ मा प्रदेशको स्थायी राजधानी सहमतिमा बहुमतले टुंगो लगाउन सफल भएपनि नाम भने अझै टुंगो लगाउन सकेको छैन ।

एक नम्बर प्रदेशसभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१ संघीय समाजवादीको ३ राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् ।

संविधानमा व्यवस्था भएअनुसार प्रदेशसभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

एक नम्बर प्रदेशको नाम लिम्बूवान, किराँत, लिम्बूवान किराँत, किराँत लिम्बूवान र कोच, कोशी, सगरमाथा, कोशी सगरमाथा, मेची प्रदेश, बिराट, कञ्चनजंञ्घा, विजयपुर प्रदेशलगायत हुनुपर्ने माग दाबी छ ।

सम्बन्धित खबर