२०८१ असोज ४, शुक्रवार , ०४:०४:३२ बजे

Sajhamanch
'

एभरेष्ट स्मार्ट एकेडमीको दोस्रो वार्षिकोत्सव भब्य

मङ्गलवार, माघ २१, २०७६

बिर्तामोड । यहाँस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडमीले सोमबार आफ्नो दोस्रो वार्षिकोत्सव विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरेर मनाएको छ ।

साना साना विद्यार्थीहरुको गीत, नृत्य एवम् प्रहसनले वार्षिकोत्सव समारोहका अतिथि एवम् अभिभावकहरु खुशी देखिएका थिए । अभिभावकको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले एभरेष्ट स्मार्टलाई राम्रो शैक्षिक वातावरण भएको विद्यालयको उपमा दिइन् ।

वडा नं. ६ मा रहेको एउटामात्र निजी विद्यालय त्यसमध्ये पनि स्मार्ट एजुकेशनमा रचनात्मक काम गरिरहेकोले नगरपालिकाले पनि प्राथमिकतामा राखेको उपप्रमुख प्रसाईंको भनाई थियो । नगरक्षेत्रमा धेरैवटा निजी विद्यालय भए पनि स्मार्ट एजुकेशन प्रणालीमा केहीले अग्रसरता देखाएकाले गुणस्तरीय शिक्षाका लागि यस्तो प्रणाली उपयुक्त हुने उनले विश्वास दोहोर्याइन् ।

सो कार्यक्रममा अभिभावकको तर्फबाट मन्तब्य राख्दै ज्ञानु प्रसाईंले अंग्रेजी भाषामा जोड दिएर शिक्षण सिकाई गरिरहँदा नेपाली भाषा ओझेलमा पर्दै गएको आभाष व्यक्त गरे । वर्तमान शैक्षिक प्रणालीले शिक्षित बेरोजगारहरुको उत्पादन गरिरहेकाले सबै किसिमका विद्यालयमा प्राविधिक धारको शिक्षा दिने व्यवस्था गर्नु वाञ्छनीय हुने सुझाव दिए ।

यस्तै बिर्तामोड नगरपालिका वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङवाले आफ्नो वडाको नमूना विद्यालयलाई स्थायित्व दिन र प्रवद्र्धन गर्न साथ र सहयोग रहने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखाका अधिकृत दिनेश आचार्यलगायतको आतिथ्य रहेको थियो ।

अधिकांश वक्ताहरुले विद्यालयका संस्थापक हरिकुमार प्रसाईंले ४० वर्षदेखि विद्यालय सञ्चालनको अनुभव संगालेर खोलेको एभरेष्ट स्मार्टबाट गुणस्तरीय शिक्षा प्राप्त गरी विद्यार्थीहरु उत्पादन हुने अपेक्षा सुनाए । यद्यपी संस्थापक प्रसाईं असाध्य रोगबाट पिडित भई उपचारार्थ अमेरिकामा बस्नु परेको विषय कोट्याउँदै उनको स्वास्थ्य लाभको कामना पनि गरे ।

सम्बन्धित खबर