२०८१ असोज ३, बिहिवार , ०५:३६:४० बजे

Sajhamanch
'

नेकपा केन्द्रीय कमिटी बैठकमा पहिलो दिनबाटै लफडा सुरु !

बुधवार, माघ १५, २०७६

काठमाडौं । आजदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठक कक्षमा टाँगिएको ब्यानरमा जिउँदा नेताहरुको फोटो राखेकोमा केही केन्द्रीय सदस्यहरुले कटाक्ष गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको मञ्चमा राखिएको ब्यानरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले बोलिसकेपछि महासचिव बिष्णु पौडेलले बैठकको कार्यसूचि राख्नै लाग्दा केन्द्रीय सदस्यहरुले ब्यानर र दुई अध्यक्षको फोटो राखिएकोमा आपत्ति जनाएका हुन् । उनीहरुले ब्यानरकोमात्र बिरोध गरेनन्, सचिवालयका सदस्यहरुका माझमा दुई अध्यक्षका लागि राखिएको अलग्गै सोफाको पनि कुरा उठाएका छन् ।

बैठकको शुरुमै केन्द्रीय सदस्य राजेन्द्र राईले जिउँदा नेताहरुको फोटो ब्यानरमा राखेर राजतन्त्रको पुनरावृत्ति भएको जिकिर गरे । ‘जिउँदा नेताहरुको फोटो ब्यानरमा राख्ने कुराले राजतन्त्रको पुनरावृत्ति भएको दर्शाएको छ, सामन्तवाद नयाँरुपमा जन्मिएको भान भएको छ, यस्तो कार्य तत्काल हटाउन मेरो आग्रह छ’, केन्द्रीय सदस्य राईले बैठकमा भनेका थिए ।

उनले कम्युनिष्ट पार्टीको कुनै पनि कमिटीमा छलफल नगरी जिउँदा दुई अध्यक्षका फोटो ब्यानरमा राखिएको, सचिवालयका नेताहरुका लागि अलग्गै मञ्च व्यवस्थापन गरिएको, अध्यक्षहरुका लागि फरक खालको कुर्सी राखिएको भन्दै आपत्ति जनाएका थिए ।

यसरी नै अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा राजतन्त्रको झल्को देखिएको जिकिर गरेका थिए ।

बैठकमा माधव नेपाल समूहका नेताहरुले एमसीसी, कालापानी, लिपुलेक लगायतका सवालमा पार्टी केन्द्रीय कमिटी बैठकमा छुट्टै र वृहत छलफलको मागसमेत गरे ।

पार्टी नेतृ अष्टलक्ष्मी शाक्य, भिम रावल लगायतले स्वाधिनतासँग जोडिएको विषयलाई अध्यक्षहरुको राजनीतिक प्रतिवेदनले हल्का रुपमा लिएको भन्दै थप आपत्ति जनाएका थिए ।

सम्बन्धित खबर