२०८१ असोज ३, बिहिवार , ०७:४०:५२ बजे

Sajhamanch
'

दिगो विकास लक्ष्य प्राप्तीका लागि एनएमसीमा अभिमुखीकरण

बुधवार, माघ १५, २०७६

झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

संस्था अन्तरगत युवा सरोकार समितिको आयोजनामा संस्थाका सञ्चालकहरु, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु एवम् कार्यालयगत समितिका संयोजकहरुको उपस्थितिमा बिर्तामोडमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अमेरिकामा बसोबास गर्ने भारतीय नागरिक, इन्टरनेशनल डेभलपमेन्ट एक्पर्ट डा. नेहाल मयुरले सहजीकरण गरेको सो कार्यक्रममा उनले सहकारीको माध्यमबाट कसरी दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भनी प्रकाश पारेका थिए । नेपालको सहकारी अभियानलाई संविधानले नै अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरेको सन्दर्भमा दिगो विकास लक्ष्य प्राप्तीमा यसको योगदान रहनुपर्ने उनको भनाई छ ।

दिगो विकास लक्ष्य प्राप्तीका लागि संयुक्त राष्ट्र संघका १९५ वटा सदस्य राष्ट्रहरुमध्ये १९३ वटा देशले हस्ताक्षर गरेको र ती हस्ताक्षरकर्ता राष्ट्रहरुको सूचिमा नेपाल पनि रहेको उनले प्रष्ट्याएका छन् । विश्व विकासको साझा प्रतिवद्धता स्वरुप विकासको दीगोपनाको निम्ति सन् २०१६ देखि २०३० सम्मका लागि निर्धारण गरिएका लक्ष्यहरु नै दीगो विकास लक्ष्य भएको उनले अर्थ लगाए ।

सन् २००० देखि २०१५ सम्मका लागि सहश्राव्दी विकास लक्ष्यका लागि ७ वटा कार्यक्रम राखिएकोमा सन् २०१२ मा ब्राजिलको रियोमा सम्पन्न रियो २० सम्मेलनमा विश्वव्यापी विकास एजेण्डाको खोज स्वरुप दीगो विकासको अवधारणाको जन्म भएको डा. मयुरले बताए ।

सन् २०१३ मा संयूक्त राष्ट्र संघद्वारा गठित ३० सदस्यीय कार्य समूहले १५ वर्षे दीगो विकास लक्ष्यको प्रस्ताव तयार पारेको अभिमुखीकरण कार्यक्रममा उनको भनाई थियो । १९३ वटा राष्ट्र सहभागी संयूक्त राष्ट्र संघको ७०औँ महासभाले २५ सेप्टेम्बर २०१५ मा दीगो विकास लक्ष्यहरु स्वीकृत गरेको उनको भनाई थियो ।

सन् २०१६ देखि कार्यान्वयनमा आएको दीगो विकास लक्ष्यमा १७ वटा लक्ष्य, १६९ वटा गन्तब्य र २३९ वटा सूचकहरु रहेको डा. मयुरको भनाई छ । ‘दीगो विकासको आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर तयार पारिएको दीगो विकास लक्ष्य विश्वव्यापी विकासको समय र लक्ष्य सहितको साझा मार्गचित्र हो’ डा. नेहाल मयुरले प्रष्ट पारेका छन्।

आफ्नो सहजीकरणमा डा. मयुरले दिगो विकास लक्ष्य प्राप्तीका लागि पृथ्वी, मानिस, समृद्धी, शान्ति र साझेदारी गरी ५ वटा रणनीति अगाडि सारिएको जानकारी दिए । सहकारीका माध्यमबाट नेपालले यस कार्यमा यथेष्ट सहयोग गरिरहेको र थप गर्नसक्ने उनको सुझाव छ ।

नेपालका कार्यान्वयनमा रहेका थुप्रै कार्यक्रमहरु दिगो विकास लक्ष्य प्राप्तीका लागि लक्षित रहेको सुनाउँदै डा. मयुरले समृद्ध नेपाल सुखी नेपाली, बेटी बचाओ बेटी पढाओ जस्ता कार्यक्रमहरु यसैको शिलशिला रहेको अर्थ लगाए । उनले दिगो विकास लक्ष्य प्राप्तीका लागि शुद्ध पिउने पानीको महत्वपूर्ण योगदान रहने भएको भन्दै उनले सो कार्यक्रममा पिउनका लागि वितरण गरिएको लाइफकेयर नामक प्रशोधित पानीको पिएच परीक्षण गरी देखाएका थिए ।

सो अभिमुखीकरण कार्यक्रममा विशेष मन्तब्य राख्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले दिगो विकास लक्ष्य प्राप्तीका लागि निर्धारित कार्यक्रमहरु सहकारीको माध्यमबाट पनि पूरा गर्न सहयोग पुग्ने भएकाले यस्तो कार्यक्रम राखिएको बताए । हामीले भनेर वा नभनेर पनि धेरै कार्यक्रमहरु दिगो विकास लक्ष्य प्राप्तीका लागि गरिनै रहेका छौं तर बुझेरै कर्म गरियो भने लक्ष्यमा पुग्न ठोस अर्थ राख्ने उनको भनाई छ ।

युवा सरोकार समितिका संयोजक एकेन्द्र उप्रेतीको अध्यक्षतामा, सदस्य राजकुमार कट्टेलले मन्तब्यबाट सहभागीहरुलाई स्वागत गरेको अभिमुखीकरण कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।

के हुन् त दिगो विकास लक्ष्यहरुः

१. सबै ठाउँमा सबै प्रकारका गरिबीको अन्त्य गर्ने,
२. भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा, पोषण स्तरमा सुधार र दिगो कृषी विकासको प्रवर्धन गर्ने,
३. सबैका लागि स्वस्थ जीवनको सुनिश्चितता,
४. सबैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता एवं जीवन पर्यन्त सिकाईको अवसर,
५. लैंगिक समानता र महिला तथा बालिकाको सशत्तिmकरण,
६. सबैका लागि खानेपानी तथा सरसफाईको दिगो उपलब्धताको सुनिश्चितता,
७. सबैका लागि भरपर्दो र धानिनसक्ने आधुनिक उर्जाको पहुँचको सुनिश्चितता,
८. भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि एवं सबैका लागि उत्पादनशील रोजगारी,
९. प्रतिरोधी पूर्वाधार निर्माण, दिगो र समावेशी औद्योगिकीकरणको प्रवर्धन र नवप्रवर्तन,
१०. देश भित्र र देशहरु बीचको असमानताको न्यूनीकरण,
११. सहर तथा मानव बस्तीलाई समावेशी, सुरक्षित, प्रतिरोधी र दिगो तुल्याउने,
१२. दिगो उत्पादन र उपभोगको सुनिश्चितता,
१३. जलवायू परिवर्तन र यसका असरहरुको न्यूनीकरणका लागि तत्काल पहल गर्ने,
१४. दिगो विकासका लागि समुद्र, समुद्री किनार र समुद्री स्रोतको संरक्षण र दिगो उपयोग,
१५. दिगो वन व्यवस्थापन र जैविक विविधताको संरक्षण,
१६. शान्त र समावेशी समाजको प्रवर्धन, न्यायमा सबैको पहुँच र सबै तहमा समावेशी संस्थाको निर्माण,
१७. दिगो विकासको कार्यान्वयन संयन्त्रको सबलीकरण र विश्व साझेदारी निर्माण ।

सम्बन्धित खबर