२०८१ असोज ३, बिहिवार , १०:०८:४५ बजे

Sajhamanch
'

सुरुङ्गामा एनएमसीको सदस्य शिक्षा तालिम

शुक्रवार, माघ १०, २०७६

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सुरुङ्गा कार्यालय अन्तरगत इकाई नं. ९ मा आज स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य जीवन तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङ्गा कार्यालयको व्यवस्थापनमा कनकाई नगरपालिका वडा नं. ३ स्थित जनचेतना आधारभूत विद्यालयमा सहकारी शिक्षा तालिम सम्पन्न गरिएको हो । एनएमसी बिर्तामोड कार्यालयगत समितिका सदस्य तथा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सदस्य शिक्षा कार्यक्रमको सहजीकरण गरेका थिए ।

संस्थाको जानकारी झल्कने वृत्तचित्र हेराउँदै सहभागीहरुलाई सहकारीको परिचय, नेपालमा यसको अवस्था तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका बारेमा सहजकर्ता काफ्लेले अवगत गराएका थिए । यसरी नै मानिसका लागि स्वास्थ्य खानपिनको आवश्यकता लगायत कस्ता खानेकुराले मानव जीवनमा सकारात्मक प्रभाव पार्छन् र कस्ताले असर गर्छन् भन्ने बारे अवगत गराइएको थियो ।

एनएमसी सुरुङ्गा कार्यालयका गंगाराम तिम्सिनाले तालिमको सञ्चालन गरेका थिए । सो कार्यक्रममा तिम्सिनाले संस्थाको हालको वित्तीय अवस्थाका बारेमा सहभागीहरुलाई प्रकाश पारेका थिए । तालिममा ७१ जनाको सहभागिता रहेको जनाइएको छ । सदस्य शिक्षा तालिममा सहभागीहरुलाई इकाई ९ का संयोजक मानबहादुर पौडेलले मन्तब्यबाट स्वागत गर्दै तालिम आयोजना गर्नुको औचित्य प्रष्ट पारेका थिए ।

तालिम लिइसकेपछि सहभागीमध्येबाट सोही विद्यालयका प्रधानाध्यापक होमकुमारी कुमाल (शुष्मा) र धनपति प्रसाईले तालिमबाट आफूहरुले संस्थाका बारेमा गहिरो जानकारी पाउनुका साथै मानव जीवनमा खानपिनको सकारात्मक नकारात्मक असरबारे थाहा पाएको बताए ।

सम्बन्धित खबर