
काठमाडौं । प्रतिनिधिसभामा सञ्चालन नियमावलीको नयाँ मस्यौदा तयार गर्ने काम भइरहेको छ । नयाँ पुस्ताको राजनीतिक उदय र बदलिँदो जनअपेक्षाबीच संसद्लाई थप प्रभावकारी बनाउने उद्देश्यले एक विशेष समितिले यो काम अघि बढाइरहेको छ ।
वरिष्ठ पत्रकार जगत नेपालकाअनुसार संसद्को वास्तविक शक्ति सङ्ख्यामा नभई बहसको गुणस्तर र प्रतिपक्षलाई दिइने सम्मानमा निहित हुन्छ । २०४८ सालका सभामुख दमन ढुङ्गानाले स्थापित गरेको ’सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको’ भन्ने मान्यता आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ छ । एउटै पार्टीको विशाल बहुमत हुँदा प्रतिपक्ष कुनामा खुम्चिने र जनअपेक्षा सम्बोधन हुन नसकेमा विद्रोहको भावना जाग्ने नेपालले बताउनुभयो ।
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाकाअनुसार नेपालको संसद् अझै पञ्चायती प्रशासनिक ढर्राबाट मुक्त हुन सकेको छैन । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था नियमावलीमा रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उहाँको गुनासो छ । मन्त्रीहरूले जवाफ नदिई सदन छाड्ने प्रवृत्तिलाई उहाँले लज्जास्पद बताउँदै संसद् सचिवालयलाई ‘थिङ्क ट्याङ्क’ का रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापाले बहुमत प्राप्त सरकारहरू प्रतिपक्षले नभई आफ्नै अहङ्कार र आन्तरिक कलहले ढलेको ऐतिहासिक यथार्थ स्मरण गराउनुहुन्छ । संसद्मा प्रश्नको सङ्ख्या ५ हजारबाट ५०० मा झर्नु सांसदहरूले सरकारलाई निगरानी गर्न छाडेको सङ्केत भएको उहाँको विश्लेषण छ । सभामुखले निष्पक्ष भूमिका नखेलेमा संसद्को गरिमामात्र नभई व्यवस्थामाथि नै प्रश्न उठ्ने उहाँको ठहर छ ।
सङ्ख्याको बलले नभई विधिको शासन र जवाफदेही संस्कृतिले मात्र लोकतन्त्रको संसद् सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ ।


