
काठमाडौं । चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग ((आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
चेन्नईमा हिजो पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो ।
चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक बनाए । उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित ११५ रन जोडे । त्यस्तै आयुष म्हात्रेले ५९ रन जोडे । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए ।
२१३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए । चेन्नईका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै अंशुल काम्बोजले ३ विकेट लिए ।
हिजै भएको पहिलो खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । चण्डीगढमा हैदराबादले दिएको २२० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर २२३ रन बनाउँदै पूरा गर्यो ।
पञ्जाबका कप्तान श्रेयस अयरले ३३ बलमा समान ५ छक्का र चौकासहित अविजित ६९ रन बनाउँदै टोलीलाई जित दिलाए । यसअघि ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले अर्धशतक बनाए ।
पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ८ छक्का र ५ चौकासहित ७४ रनको आक्रामक पारी खेले ।
पञ्जाबका लागि शशांक सिंहले बलिङमा महत्त्वपूर्ण भूमिका खेल्दै ३ ओभरमा २० रन दिएर २ विकेट लिए ।


