२०८२ चैत २३ सोमवार , ०६:४६:१८ बजे

Sajhamanch
'

सतासीधाम सामुदायिक वन समूहका समितिबीच आरोप प्रत्यारोपको अन्तर्य यस्तो पो …..

सोमवार, चैत २३, २०८२

शिवसताक्षी । इलामको माई नगरपालिका वडा नं. ८ र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ को सीमाक्षेत्रमा फैलिएको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहले संस्था माथि लागेको लाञ्छना निराधार भएको दावी गरेको छ ।

अघिल्लो समितिले विभिन्न सामाजिक सञ्जाल मार्फत वर्तमान वन समितिलाई बिना कुनै आधार प्रमाण लाञ्छना लगाएको प्रति कुनै सत्यता नभएको र यसप्रति समितिको ध्यानाकर्षण भएको जनाएको हो ।

आज सामुदायिक वन उपभोक्ता समूहको कार्यालय झिलझिलेमा पत्रकार सम्मेलन गरी उक्त लाञ्छनाप्रति आपत्ती जनाइएको हो ।

गत चैत १४ गते वन समूहको कार्यकक्षमा सम्पन्न २७औं साधारण सभामा समूहका निवर्तमान कार्यसमितिमा रहेर काम गरेका पदाधिकारी र वडा सदस्यहरुले ठाडो आरोप लगाएका थिए ।

वर्तमान कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु, लेखा समिति, सल्लाहकार समितिलाई मुछ्दै सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय इलाम समेतको मिलेमतोमा आर्थिक अनियमितता गरेको लाञ्छना लगाइएकोमा त्यसमा कुनै सत्यता नभएको समूहका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले दावी गर्नुभयो ।

उहाँले निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगायतले उत्तेजनापूर्वक व्यक्तिगत लाञ्छना लगाउनुका साथै तथ्यहीन र भ्रमपूर्ण कुराहरु सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्नुको कुनै अर्थ नभएको जिकिर गर्नु भयो ।

लेखा परीक्षण प्रतिवेदनअनुसार अघिल्लो समितिमा ११ लाख ७४ हजार रुपैयाँभन्दा बढी बेरुजु पारेकोले उक्त रकम बुझाउन नपरोस् भन्ने उद्देश्यबाट प्रेरित भई यस्तो हर्कत गरिएको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।

समितिका सल्लाहकार संयोजक ज्ञानेन्द्रबहादुर न्यौपानेले पनि पूर्ववर्ती सिंगो कार्यसमितिले आफूहरुले गरेको गल्तीलाई ढाकछोप गर्न वर्तमान समितिलाई आक्षेप लगाएको सुनाउनु भयो ।

“यो सरासर गलत छ, वर्तमान समितिले प्रचलित वन ऐन र वन उपभोक्ता समूहको प्रचलित विधान र कार्ययोजनाको परिधिभित्र रहेर काम गरिरहेको छ । यदि कुनै सदस्य वा निकायले हिसाब हेर्ने इच्छा राखेमा कार्यलयमा आएर हेर्न सकिने गरी पारदर्शी तरिकाले राखिएको भेट्नु हुनेछ” संयोजक न्यौपानेले प्रष्ट पार्नुभयो ।

पूर्ववर्ती र वर्तमान समितिबीचको आरोप प्रत्यारोपबारे राखिएको जिज्ञासामा लेखा समितिका संयोजक रविनचन्द्र राईले भन्नुभयो, “अघिल्लो समिमिले पदमा रहँदा आर्थिक अनियमिता बढ्दै गएपछि वन ऐन अनुसार नै उहाँहरुलाई हटाएर नयाँ समिति गठन गरिएको र यसले दुवै समितिबीच विवाद सिर्जना भएको हो ।”

अघिल्लो समितिले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न विभिन्न गतिविधि गर्ने क्रममा सामाजिक सञ्जालको पनि दुरुपयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“आफ्ना गल्ती ढाकछोप गर्न डिभिजन वन कार्यालय इलाममा मुद्धा दर्ता गरिएको भए तापनि इलाम जिल्ला अदालतबाट निवर्तमान समितिका अध्यक्ष र उपाध्यक्षलाई दोषी ठहर गर्दै फैसाला भएको लेखा समितिका संयोजक राईले बताउनु भयो ।

सम्बन्धित खबर