२०८२ चैत २३ सोमवार , ११:४७:२८ बजे

Sajhamanch
'

पेट्रोलियम गाडीलाई विद्युतीय बनाउन सरकारले कानुनी व्यवस्था मिलाउने

सोमवार, चैत २३, २०८२

काठमाडौं । सरकारले डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउन आवश्यक कानुनी व्यवस्था मिलाउने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने निर्णय गरेको थियो । तर मापदण्ड नहुँदा कार्यान्वयमा समस्या देखिएको थियो । विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा गाडीधनीले समस्या भोग्दै आएका थिए ।

सरकारको नयाँ निर्णयसँगै अब पुराना गाडीलाई पनि कम खर्चमा वातावरणमैत्री बनाउन सकिने भएको छ । विद्युतीय गाडीको प्रयोग बढाउँदा इन्धनको परनिर्भरता घटाउने छ भने नेपालको नवीकरणीय ऊर्जाको खपत बढाउन मद्दत गर्ने छ ।

सरकारले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउने विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीति लिँदै आएको छ । पछिल्ला वर्षमा विद्युतीय गाडीको आयात पनि बढिरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ६ हजारभन्दा धेरै विद्युतीय गाडी आयात भएका छन् ।