२०८२ चैत २० शुक्रवार , ०९:५८:३१ बजे

Sajhamanch
'

“अमिशामाथि साइबर हिंसा गर्नेलाई कठघरामा उभ्याएको हेर्न आतुर छौं”

शुक्रवार, चैत २०, २०८२

मेचीनगर । काठमाडौँमा केही दिनअघि आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई आफ्ना विचार र धारणा सार्वजनिक गरेकै आधारमा किशोरी अमिशा पराजुलीमाथि भइरहेको श्रृंखलावद्ध ‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति मेचीनगर पुरुष सञ्जालले आपत्ति जनाएको छ ।

सञ्जालका संयोजक मोहन काजीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ‘यसअघि सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा बिकको घटनामा समेत सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका असंवेदनशील र आपत्तिजनक टिप्पणीहरूले हाम्रो समाजको एउटा तप्का अझै पनि लैंगिक संवेदनशीलता प्रति कति उदासीन छ भन्ने प्रष्ट पारेको’ उल्लेख छ ।

यी प्रतिनिधि घटनाहरूले नेपाली समाजमा महिला र किशोरीहरूले भोग्नु परिरहेको अनलाइन हिंसाको डरलाग्दो स्वरूपलाई उजागर गरेको र आफ्ना कुरा निर्धक्क राख्न खोज्ने महिलाहरूलाई चरित्र हत्या र मानसिक यातनामार्फत निरुत्साहित गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको विज्ञप्तिमा जनाइएको छ ।

पुरुष सञ्जालले सामाजिक सञ्जालमार्फत अमिशाको जीउज्यान र अस्मितामाथि लक्षित गरिएका आपराधिक धम्की र हमला सभ्य समाजका लागि असह्य र अस्वीकार्य भएको उल्लेख गर्दै कानूनी राज्यमा यस्ता घटना प्रथम दृष्टिमै दण्डनीय भएको जनाएको छ ।

नेपालको संविधानले लिंगका आधारमा विभेद नगरी प्रत्येक नागरिकलाई ‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता’को प्रत्याभूति गरेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ– “अमिशा पराजुलीमाथि भएको हमला व्यक्तिको नैसर्गिक मानव अधिकार र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकमाथिको ठाडो प्रहार हो भन्ने ठहर छ ।

भौतिक हिंसासँगै बढ्दो इन्टरनेट र सामाजिक सञ्जालमार्फत हुने हिंसाले महिला र किशोरीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । डिजिटल माध्यमलाई सुरक्षित र मर्यादित बनाउन राज्यले विशेष पहल गर्नुपर्ने देखिन्छ । महिलालाई सधैँ नियन्त्रणमा राख्नुपर्छ भन्ने संकुचित र पितृसत्तात्मक सोच (जुन पुरुष वा महिला जो कोहीमा पनि हुन सक्छ) नै यस्ता हिंसाको मुख्य जड हो । यस्तो सोच र व्यवहारको हामी घोर निन्दा र भत्सर्ना गर्दछौँ ।”

सञ्जालले अमिशा पराजुलीमाथि साइबर हिंसा गर्ने र इनिशा बिकको विषयमा अमानवीय टिप्पणी गर्ने दोषीलाई तत्काल पहिचान गरी सरकारले कानूनी कार्वाहीको कठघरामा उभ्याएको र दोषीलाई दण्डित गरेको हेर्न आतुर रहेको उल्लेख गर्दै भोलिका दिनमा कसैले पनि महिला तथा किशोरीहरु माथि हिंसा गर्ने कुरा सोच्न समेत नसकोस् भन्नका लागि अमिशा र इनिशामाथि न्याय दिलाउने अहिलेको अभियानमा दृढतापूर्वक उभिन आम जनसमुदायलाई आह्वान गरेको छ ।

“हामीलाई के विश्वास छ भने कुनै पनि व्यक्तिले लिंगका आधारमा डर, त्रास वा हिंसाको सामना नगरी आफ्ना विचार राख्न पाउने वातावरण नै सभ्य समाजको पहिचान हो” विज्ञप्तिमा भनिएको छ– “हाम्रा छोरी, दिदीबहिनी र सम्पूर्ण महिलाहरूको सम्मानजनक अस्तित्व र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारका लागि मेचीनगर पुरुष सञ्जाल सदैव प्रतिबद्ध रहने प्रण गर्दछौं ।”