२०८२ चैत २० शुक्रवार , ०९:५८:३१ बजे

Sajhamanch
'

बिर्तामोडमा नगरस्तरीय अङ्ग्रेजी भाषा अन्तरक्रियात्मक मेलाको आयोजना गरिँदै 

शुक्रवार, चैत २०, २०८२

बिर्तामोड । सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापनरत अङ्ग्रेजी विषयका शिक्षकहरूको बिर्तामोड नगरस्तरीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

अंग्रेजी भाषा विषय समिति बिर्तामोडको आयोजनामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा बिर्तामोड क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका करिब ४० जना विषयगत समिति संयोजकहरूको सहभागिता थियो।

अंग्रेजी विषय समितिले आगामी वैशाख वा जेठ महिनाको पहिलो हप्ताभित्रमा बृहत अन्तरक्रियात्मक अङ्ग्रेजी भाषा मेलाको आयोजना गर्दैछ। कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउने उक्त मेलामा अंग्रेजी भाषा शिक्षण सम्बन्धी विभिन्न सामग्रीहरूको प्रदर्शनी गर्ने तय भइसकेको छ।

नगरपालिका स्तरीय रूपमा आयोजना हुने उक्त अंग्रेजी भाषा मेलामा प्रस्तुत गरिने सामग्रीहरूको तयारीबारे प्रशिक्षण गर्न अंग्रेजी भाषा शिक्षक समितिले उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। अभिमुखीकरणमा अंग्रेजी भाषा शिक्षक नगरस्तरीय संजालका सदस्य धर्मेन्द्र भट्टराईले प्रशिक्षण दिनुभएको थियो।

यसैगरी अंग्रेजी भाषा विषय समितिका संयोजक केशव उप्रेतीले कार्यक्रमको प्रकृति र तयारीबारे जानकारी गराउनु भएको थियो।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बिर्तामोड नगर शिक्षा शाखाले नगर क्षेत्रमा पाँचवटा विषयगत समितिहरू गठन गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। विद्यार्थीको शैक्षिक अभिवृद्धिका लागि नगर शिक्षा शाखाले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको उपसचिव भण्डारीको भनाई छ ।

अभिमुखीकरण कार्यक्रम पश्चात् हरेक विद्यालयले बढीमा दुईवटा क्षेत्रमा आफ्ना प्रस्तुतिहरू राख्न सक्ने र प्रदर्शनीमा बढीमा आठ जनासम्म सहभागी गराउन सक्ने निचोड निकालेका छन्।