२०८२ चैत २० शुक्रवार , ०८:०५:०६ बजे

Sajhamanch
'

धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँ

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पूँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

धिताेपत्र बजार पूँजीकरण भनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै कम्पनीहरूको शेयरको कुल मूल्य हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ । २०८१ फागुन मसान्तमा २ हजार ७३६.४९ अङ्कमा रहेको नेप्से २०८२ फागुन मसान्तमा बढेर २ हजार ८२०.४५ पुगेको छ ।

यद्यपि बजार पूँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात भने केही घटेको छ । २०८१ फागुनमा बजार पूँजीकरण जीडीपीको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ ।

यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या पनि बढेको छ । २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन् जबकि २०८१ फागुनमा यस्तो सङ्ख्या २६८ थियो ।

सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।

बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् कम्पनीको १५.९, लगानी कम्पनीको ७.४, उत्पादन तथा प्रशोधन उद्योगको ७.२, व्यापारिक संस्थाको ४.४, होटल क्षेत्रको ३.१ र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा धितोपत्र बजारमा थप ७० अर्ब ४६ करोड रुपैयाँ बराबरका धितोपत्र सूचीकृत भएका छन् ।

सम्बन्धित खबर