
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा आजदेखि बिर्तामोडमा दुई दिवसीय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम कार्यशाला सञ्चालन गरिएको छ ।
नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग (SDC)-को दुईपक्षीय सम्झौता बमोजिम (ENSSURE)-इन्स्योर परियोजनासँगको वित्तीय साझेदारीमा उक्त तालिम सञ्चालन गरिएको हो ।
काठमाडौंको हिमालयन सेफ्टी नामक संस्थाको प्राविधिक सहयोगमा प्रबन्ध निर्देशक दिपक लामिछानेले सहजीकरण गरिरहनु भएको उक्त तालिममा झापाका विभिन्न रोजगारदाता संस्थाबाट सञ्चालक वा ब्यवस्थापन प्रमुखहरु गरी २० जना प्रशिक्षार्थीहरुको सहभागिता छ ।
दुई दिवसीय तालिम तथा कार्यशालामा आफ्नो ब्यवसायमा काम गर्ने सबै मानवीय जनशक्तिको सुरक्षित कार्यस्थल निर्माण गर्ने, सुरक्षा जोखिमको लेखाजोखा गर्ने तथा कार्यस्थलमा स्वास्थ्य वातावरण निर्माण गर्ने, व्यवसायस्थल सुरक्षित एवम् मर्यादित बनाउन के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ आदि विषयमा सहजीकरण एवम् अन्तरक्रिया भइरहेको जनाइएको छ ।

बिर्तामोडको प्रथम आईटी सिस्टम प्रालिको हलमा सञ्चालन गरिएको कार्यशालाको उद्घाटन कार्यक्रममा इन्स्योर परियोजना कोशी प्रदेश सहयोग इकाईका प्रबन्धक विकाश पन्थी, प्राविधिक संयोजक रेखा उप्रेती, क्यान कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे, क्यान झापाका पूर्वअध्यक्ष राजु श्रेष्ठ, क्यान झापाका सचिव खगेन्द्र मिश्र, सहजकर्ता दिपक लामिछाने, क्यानका पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनाली लगायतको सहभागिता थियो ।


