२०८२ चैत १५ आइतवार , ०४:३८:०३ बजे

Sajhamanch
'

अध्यक्ष ओलीको रिहाइका लागि जिल्ला जिल्लामा जुलुससहित एमालेले ज्ञापन पत्र बुझाउँदै

आइतवार, चैत १५, २०८२

काठमाडौं । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाइरहेको छ ।

काठमाडौंको माइतीघरबाट बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यलयसम्म जुलुससहित पार्टीका नेता कार्यकर्ता सहभागी भएर प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

झापामा सदरमुकाम चन्द्रगढी चोकबाट जुलुससहित नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराज गेलालमार्फत् प्रधानमन्त्री कार्यालयमा बुझाउने गरी जिल्ला अध्यक्ष प्रेम गिरीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।

यता मोरङमा र्यालीसहित प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । पार्टीका का. वा. अध्यक्ष सागर थापाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारले पहिलो पाइलामा नै लोकतान्त्रिक शक्तिहरुप्रति प्रहार सुरु गरेको उल्लेख छ । ज्ञापन पत्रमा अध्यक्ष ओली लगायत पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरिएको छ ।

यसैगरी पाल्पामा पनि जुलुससहितको जिल्ला प्रशासन गएको टोलीले ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरले अध्यक्ष ओलीको गिरफ्तारी कानुनी रुपबाट पुष्टि हुन नसक्ने भएकोले विनाशर्त रिहाइ हुनुपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा मुख्य पाँचवटा विषयहरु समेटिएको छ ।

एमाले पाल्पाका अध्यक्ष मगरका अनुसार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति सर्वोच्च अदालतले पनि प्रश्न उठाएको र यो न्यायिक सिद्धान्तको विपरित रहेको उल्लेख छ । यस्तै पूर्वाग्रही आयोगको प्रतिवेदन खारेज गर्न पनि माग गरिएको छ । प्रतिवेदन नै सार्वजनिक नगरी प्रतिशोधपूर्ण ढंगले धरपकड गरिएको उल्लेख छ ।

ज्ञापन पत्रमा बजारमा खाना पकाउने ग्यास, इन्धनको अभाव भएकोले त्यसको तत्काल सम्बोधन हुनुपर्ने र लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले संवैधानिक र प्रशनसनिक रुपबाट नेपालको भन्ने स्थापित गरिसकेको स्मरण गराइएको छ । उक्त भूमीमा हाल चीन र भारतले भौतिक संरचना निर्माण गरेको खबर आउँदासमेत सरकारले वेवास्ता गरेकोमा एमालेले पाल्पाले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।


यसैगरी मधेस प्रदेशको बारामा पनि एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा पार्टी कार्यालयबाट निस्किएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेको थियो। जुलुसमा सहभागी नेता–कार्यकर्ताहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै नाराबाजी समेत गरेका थिए।

जिल्ला प्रशासन कार्यालयमा पुगेपछि प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा ओलीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गरिएको छ।

एमाले बाराले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न, निष्पक्ष छानबिन गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप काम गर्न सरकारसँग माग गरेको छ। साथै, पार्टीले आफ्नो नेतृत्वमाथि भएको अन्यायविरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी समेत दिएको छ।

यस्तै सुर्खेतमा पनि विभिन्न प्ले कार्डसहितको र्याली निकालिएको छ । र्यालीसहितको जुलुसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष ओलीलाई रिहाइ गर्न माग गरेको छ ।

यस्तै बर्दीयामा पार्टी अध्यक्ष शालिकराम अधिकारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा अध्यक्ष ओलीलाई विना कानुनी आधार पक्राउ गर्नुु सिंगो कम्यूनिष्ट आन्दोलनप्रति प्रहार भएको उल्लेख गरेका छन् ।

चितवनमा पनि र्यालीसहित गएको एमाले नेता कार्यकर्ताको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष कमलराज पाठक सहितका नेताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सरकारले कार्की आयोगको प्रतिवेदन अध्ययन नै नगरी धरपकडतिर लाग्नु आपत्तीजनक रहेको उल्लेख गरेका छन् ।

सबैजसो जिल्लामा ज्ञापन पत्र बुझाउने क्रम जारी रहेको जिल्ला नेताहरुले बताएका छन् ।

सम्बन्धित खबर