२०८२ चैत १५ आइतवार , ०९:२४:१५ बजे

Sajhamanch
'

‘पूर्वाग्रहप्रेरित तथा प्रतिशोधपूर्ण गिरफ्तारी’ : एमाले झापाका जनसंगठनहरु

आइतवार, चैत १५, २०८२

झापा । बालेन्द्र साहा नेतृत्वको नवगठित सरकारले सत्तारोहण गरेको २४ घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको निवास भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको घटनाले पार्टीका २३ वटा जनसंगठनका जिल्ला अध्यक्षहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष ओली प्रधानमन्त्री रहनुभएको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रण लिएको घटना पूर्वाग्रहप्रेरित तथा प्रतिशोधपूर्ण रहेको शनिबार साँझ प्रकाशन गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना अध्यक्षको गिरफ्तारी पछि दिउँसो सडकमा विरोध प्रदर्शन गरेर तथा साँझ प्रेस विज्ञप्ति प्रकाशन गरेर नेकपा एमालेका २३ वटा जनसंगठनका जिल्ला अध्यक्षहरुले विरोध जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘मन्त्रिपरिषद्को पहिलो बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि भएका जनधनको क्षतिका सम्बन्धमा जाँचबुझका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा गरेको निर्णय र पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीको आज एकाबिहानैको गिरफ्तारीले नयाँ सरकार पहिलो कदममा नै मुठभेडतर्फ उद्यत रहेको देखिन्छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफू आयोगको अध्यक्षमा नियुक्त हुनुभन्दा पहिले नै आफ्नो नामको सामाजिक सञ्जालमा जे लेख्नुभएको थियो, त्यही दिनदेखि उहाँको कदम निष्पक्ष हुँदैन भनी नेकपा एमालेले असहमति जनाउँदै आएकोमा जाँचबुझ आयोगको प्रतिवेदनले त्यही कुरालाई पुष्टि गर्ने प्रयास मात्रै गर्नु र त्यस्तो पूर्वाग्रही प्रतिवेदन कार्यान्वयन गर्ने नाममा जुन कामकारवाही सुरु गरियो, त्यसले राज्य मुठभेडको मनस्थितिमा गयो भन्ने प्रष्ट देखिन्छ ।

कार्की आयोगले तथ्यभन्दा बाहिर गएर अध्यक्ष कार्कीलाई इच्छा लागे बमोजिमको मनोगत कुरा लेखिएको प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको पक्राउको कुनै कानुनी आधार छैन र प्रथम दृष्टिमै यो गलत छ भन्नेमा हामी दृढ छौं । मुलुकका प्रमुख राजनीतिक दलहरुको विरुद्धमा लामो षडयन्त्र शुरु भइरहेको प्रतिप्रेक्ष्यमा भदौ २३–२४ को विध्वंशात्मक घटना, सो पछि गठित निर्वाचन सरकार, निर्वाचनको परिणाम तथा नयाँ सरकारको कदम सबैकुराहरु त्यसैको कडी भएको हुनाले अध्यक्ष ओली र कांग्रेस नेता लेखककलाई प्रहरीले नियन्त्रणमा लिएका घटनालाई भूराजनीतिको प्रभावमा अघि बढेको गैरकानूनी गिरफ्तारीका रुपमा हामीले प्रतिशोधपूर्ण कारवाही हो मानेका छौं ।’

सम्बन्धित खबर